
काठमाडौं । लगातार घट्दो क्रममा रहेको सुन–चाँदीको मूल्य आज अचानक बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार जेठ २९ गते सुनको भाउमा ठूलो वृद्धि आएको हो ।
आज सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी प्रतितोला १९० रुपैयाँले बढेर ४८ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
विशेषज्ञहरूले सुन–चाँदीको मूल्यमा आएको वृद्धिलाई बजारको माग–आपूर्ति र अन्तर्राष्ट्रिय बजारका कारकहरूसँग जोडेर हेर्न सुझाव दिएका छन् ।
काठमाडौं । फिफा विश्वकप अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेकियामाथि २-१ को पुनरागमन जित निकालेको छ ।
२० वर्षपछि विश्वकपमा फर्किएको चेकियाले खेलमा पहिलो गोल गर्दै अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए । तर दक्षिण कोरियाले त्यसको जवाफ ६७औँ मिनेटमा दियो । ह्वाङ इबोनले गोल गर्दै खेल १-१ को बराबरीमा पु¥याए ।
त्यसपछि ८०औँ मिनेटमा ओ हेन्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २-१ को जित दिलाए ।
यस जितसँगै दक्षिण कोरियाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक हासिल गरेको छ भने चेकियाले हारबाट अभियान सुरु गरेको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् । उनका अनुसार इरानमाथि गरिने भनिएको थप सैन्य कारबाही पनि हालका लागि रोकिएको हो ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने अमेरिकी अडान यथावत् रहेको बताए । उनले सम्झौतासम्बन्धी कागजातहरू लगभग तयार भइसकेको र निकट भविष्यमै औपचारिक रूपमा हस्ताक्षर हुन सक्ने संकेत दिए ।
ट्रम्पले सम्भावित सम्झौतापछि विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यद्यपि, इरानले भने अमेरिकी पक्षको दाबीलाई तत्काल स्वीकार गरेको छैन । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले हालसम्म कुनै अन्तिम सहमति नभएको स्पष्ट पार्दै वार्ताका क्रममा अमेरिकाले थप नयाँ र कठोर मागहरू अघि सारेको आरोप लगाए ।
ट्रम्पको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कच्चा तेलको मूल्य करिब ४.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८९ अमेरिकी डलरमा पुगेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई युद्धविरामको पूर्ण पालना गर्न तथा परिस्थितिलाई थप जटिल नबनाउन आग्रह गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत निर्धारित समयसीमाभित्र उल्लेख्य संख्यामा सदस्यहरूलाई प्रक्रियामा समेट्न सफल भएको जनाएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसीआईडी प्राप्त गरेका छन् भने १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम भरेर प्रक्रिया अघि बढाएका छन् ।
कांग्रेसले सदस्यता अद्यावधिकका लागि गएराति १२ बजेसम्मको समयसीमा निर्धारण गरेको थियो । अद्यावधिकका लागि योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ६ लाख ८७ हजार ९३१ जना सदस्य प्रत्यक्ष रूपमा अद्यावधिक प्रक्रिया वा त्यससँग सम्बन्धित कार्यमा सहभागी भएका छन् ।
पार्टीले इन्टरनेट पहुँच सीमित रहेका उच्च हिमाली तथा दुर्गम पहाडी जिल्लाका केही क्षेत्र, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अद्यावधिक प्रक्रिया पूरा गर्न नसकेका सदस्यहरूको विवरणलाई थप व्यवस्थित गरी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
यसैबीच, नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्म निरन्तर खुला रहने कांग्रेसले जनाएको छ ।
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा आयोजक राष्ट्र मेक्सिकोले विजयी सुरुआत गरेको छ । मेक्सिको सिटीस्थित रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अङ्क जोडेको हो ।
मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । खेलको नवौँ मिनेटमै इरिक लिराको पासमा क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सोही अग्रता कायम राखेको मेक्सिकोले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्यो ।
दक्षिण अफ्रिकाले भने खेलका क्रममा अनुशासनहीनताको मूल्य चुकाउनुपर्यो । खेलको ४९औँ मिनेटमा सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । संख्यात्मक लाभ उठाएको मेक्सिकोका लागि ६७औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा झरेको थियो । यता, इन्जुरी समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएर मैदान छाडे ।
यसरी उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउँदा खेल थप चर्चित बनेको छ । जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले तीन अङ्कसहित शीर्ष स्थानमा आफ्नो यात्रा सुरु गरेको छ ।
समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७ः४५ बजे हुने तालिका छ ।





