
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार गठन गर्ने लक्ष्यसहित पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। उनले “अगली बार गगन सरकार” भन्ने नारासहित कांग्रेसलाई देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाउने अभियानमा लाग्नुपर्ने बताएका हुन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशद्वारा आयोजित ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै बरालले पार्टीलाई केवल सञ्चालन गर्ने मात्र नभई तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले आगामी निर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई पराजित गर्न कांग्रेसको सम्पूर्ण शक्ति र संगठनलाई एकीकृत गर्नुपर्ने बताए।
बरालले कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ३३३ भन्दा बढी स्थानीय सरकारमा विजय हासिल गर्ने, सातै प्रदेशमा स्पष्ट बहुमत प्राप्त गर्ने र प्रदेश सरकारको कार्यसम्पादनका आधारमा संघीय संसदमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य राखेको उल्लेख गरे।
उनले विगतमा उठाइएको “अबकी बार नेपाली कांग्रेस सरकार” र “अबकी बार गगन सरकार” को नारालाई स्मरण गर्दै अब त्यसलाई थप सशक्त रूपमा “अगली बार कांग्रेस सरकार” अभियानका रूपमा अघि बढाइएको बताए।
महामन्त्री बरालले पार्टीको दीर्घकालीन लक्ष्य पूरा गर्न नेता–कार्यकर्ता सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कांग्रेसलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा स्थापित गर्न एकताबद्ध प्रयास आवश्यक रहेको धारणा राखे।
रुपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत र लज्जास्पद टिप्पणीको संज्ञा दिएका छन् ।
कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत सोमबार रुपन्देहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसले मुलुकको सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको बताए ।
उनले प्रधानमन्त्रीको भनाइले आम नागरिक र उनलाई नेतृत्वमा पु¥याउने मतदातासमेत अपमानित भएको उल्लेख गर्दै संसदको रोष्ट्रमबाट सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरे । प्रधानमन्त्रीले आफ्नो भनाइ गल्तीवश आएको स्वीकार गरी माफी मागे कांग्रेसले त्यसमा कुनै अवरोध नगर्ने उनको भनाइ थियो ।
थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर दुई सम्भावना औंल्याए । प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ ।
संविधान, कानुन र राष्ट्रिय हितभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै थापाले जिम्मेवार पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा विशेष सावधानी अपनाउनुपर्ने बताए ।
कार्यक्रममा उनले आइतबार सत्तापक्षले संसदको नियमावली बहुमतका आधारमा पारित गरेको घटनाको पनि आलोचना गरे । संसद सञ्चालनसम्बन्धी महत्वपूर्ण विषयमा सहमति र संवादको सट्टा बलपूर्वक निर्णय गरिएको भन्दै उनले त्यस दिनलाई संसदीय अभ्यासका लागि “कालो दिन” को रूपमा चित्रण गरे ।
सभापति थापाले नेपाली कांग्रेस विगतको शैलीबाट अघि बढेर नयाँ सोच र मार्गमा अघि बढिरहेको दाबी गरे । उनले पार्टीप्रति विश्वास गुमाएका लाखौं मतदाताको भरोसा पुनः जित्न संगठनभित्र देखिएका कमजोरी र विकृतिहरू हटाउनुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर दुई हजार ७५५ दशमलव ३७ बिन्दुमा कायम भएको हो ।
आजको कारोबारमा १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम उल्लेख्य रहे पनि बजारमा लगानीकर्ताको बिक्री दबाब बढी देखिएको छ ।
कारोबार भएका ३४९ धितोपत्रमध्ये ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।
क्षेत्रगत रूपमा हेर्दा अधिकांश उपसूचक राताम्मे देखिएका छन् । आज १३ समूहको उपसूचकमध्ये २ को बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।
यसदिन अन्य ३ दशमलव २६ र निर्जीवन बीमा समूहको उपसूचक १ दशमलव ३७ प्रतिशतले बढेको छ ।
यसैगरि व्यापार समूहको उपसूचक सर्वाधिक ६ दशमलव १४ प्रतिशतले ह्रास आएको छ । यस्तै हाइड्रोपावर १ दशमलव ९७, उत्पादन तथा प्रशोधन १ दशमलव ४२, लगानी १ दशमलव २२, होटेल तथा पर्यटन १ दशमलव ४, बैंकिङ शून्य दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९१, विकास बैंक शून्य दशमलव ८१, जीवन बीमा शून्य दशमलव ७९, माइक्रोफाइनान्स शून्य दशमलव ९ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल रिइन्सुरेन्स र कालिञ्चोक हाइड्रोपावर रहेका छन् ।
यसदिन बुंगल हाइड्रो १३ दशमलव २, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ६ दशमलव ९५, बिहाल बजार ६ दशमलव ६४, एनआईबीएल ग्रोथ फण्ड ५ दशमलव ६४ र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । नेपाली बजारमा आज (जेठ १८ गते) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १० हजार ९ सय रुपैयाँमा कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने उकालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन् । सुनमा सामान्य गिरावट आए पनि चाँदीको मूल्य भने बढ्दो क्रममा देखिएको छ ।
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने स्वीकृति प्राप्त गरेको थियो । यसअन्तर्गत पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकिएको छ ।
त्यसैगरी, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी वितरण गरिसकेको छ ।
अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा निष्काशन गरिएको उक्त आईपीओको कुल मूल्य ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २१ गतेसम्म रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिन सक्नेछ ।
कम्पनीको वित्तीय तथा दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।





