२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, उद्यमशीलता, सामाजिक विकास र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले “डिजिटल लुम्बिनी”, “उद्यमशील लुम्बिनी” तथा “एक पालिका ः एक अर्गानिक रैथाने बाली” जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै सुशासन र आर्थिक समृद्धिको लक्ष्य अघि सारेको छ । प्रशासनिक खर्च कटौती तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आगामी साउन १ गतेदेखि हाल कायम १२ मन्त्रालयलाई घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालयमा सीमित गर्ने नीति लिइएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐन ल्याइने भएको छ । स्थानीय तहसँग सहकार्य गर्दै “एक पालिका ः एक अर्गानिक रैथाने बाली” कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत कृषि स्रोत केन्द्र स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ । जसअनुसार कपिलवस्तुमा वागवानी, अर्घाखाँचीमा बाख्रा, गुल्मीमा पहाडी फलफूल, प्युठानमा तरकारी बीउ तथा रुकुम पूर्वमा आलु बीउ स्रोत केन्द्र स्थापना गरिने भएको छ ।

कृषकलाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान कार्यक्रमलाई थप सहज बनाइने नीति सरकारले लिएको छ । “आजको सहुलियत, भोलिको समृद्धि” नारासहित जिल्लास्थित कार्यालयमार्फत नै कृषि बाली तथा पशुपालन क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने जनाइएको छ । हुलाकी राजमार्ग आसपासका क्षेत्रमा मासु तथा दुग्ध उत्पादन बढाउन भैँसी प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि र उद्यम क्षेत्रमा आकर्षित गर्न स्टार्टअप तथा प्रविधिमा आधारित सहयोग कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । महिलाको आर्थिक सशक्तीकरणका लागि “लुम्बिनीका महिला : उद्यमशीलतामा पहिला” अभियान सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

पर्यटन प्रवद्र्धनतर्फ “भिजिट नेपाल २०८५” लाई लक्षित गर्दै एकीकृत डिजिटल प्लेटफर्ममार्फत लुम्बिनीको प्रचारप्रसार गरिने भएको छ । लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर “सिल्भर ट्राइङ्गल” अवधारणाअनुसार पर्यटन विकास गरिने योजना सरकारले अघि सारेको छ । रोल्पा र रुकुम पूर्वको पुथा हिमाल क्षेत्रमा बेसक्याम्प तथा पदमार्ग निर्माण गरिनेछ भने कोइलाबासदेखि स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पदमार्ग विकास गरिने भएको छ । लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथ विस्तार गर्ने योजना पनि नीति कार्यक्रममा समेटिएको छ ।

खानेपानी तथा पूर्वाधार विकासअन्तर्गत “एक घर : एक धारा” अभियानलाई निरन्तरता दिइने भएको छ । “एक वडा ः एक पोखरी” कार्यक्रम सञ्चालन गरिने तथा पहाडी जिल्लामा छरिएका बस्तीलाई व्यवस्थित गर्न घनाबस्ती विकास कार्यक्रम विस्तार गरिने नीति सरकारले लिएको छ । प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना बस्ती विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा दलित, जनजाति, अपाङ्गता भएका तथा विपन्न समुदायको शिक्षामा पहुँच बढाउन “मेरो विद्यालय, मेरो दायित्व” अभियान विस्तार गरिने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षा केन्द्रका रूपमा विकास गरिने नीति पनि सरकारले अघि सारेको छ ।

स्वास्थ्य सेवातर्फ सुरक्षित मातृत्व कार्यक्रमलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गरिने भएको छ । ग्रामीण क्षेत्रमा अल्ट्रासाउन्ड सेवा विस्तार तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।

प्रशासनिक सुधारतर्फ कर्मचारी सरुवा–बढुवा प्रणालीलाई पारदर्शी बनाउने, प्रदेश किताबखाना स्थापना गर्ने तथा डिजिटल अभिलेखीकरणलाई विस्तार गर्ने नीति लिइएको छ । आयोजना बैंकमार्फत योजना छनोट र बजेट व्यवस्थापनलाई व्यवस्थित बनाइने तथा प्रदेश लोक सेवा आयोगलाई थप सुदृढ बनाइने सरकारको योजना छ ।

 

 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बजारमा अधिकांश समूहमा खरीदचाप बढेसँगै नेप्से २७ दशमलव ८५ अंकले उक्लिँदै दुई हजार ७८६ दशमलव ३५ बिन्दुमा पुगेको हो ।

सोमबार १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड (शून्य दशमलव २ प्रतिशत) समूह बाहेक अधिकांश उपसूचक हरियालीमा देखिएका छन् । यसदिन उत्पादन तथा प्रशोधन सर्वाधिक १ दशमलव ३५ प्रतिशतले बढेको छ ।

यसदिन अन्य १ दशमलव २३, हाइड्रोपावर १ दशमलव ५, होटेल तथा पर्यटन १ दशमलव ०२, माइक्रोफाइनान्स शून्य दशमलव ९९, निर्जीवन बीमा शून्य दशमलव ९६, बैंकिङ शून्य दशमलव ८६, लगानी शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ६४, फाइनान्स शून्य दशमलव ५७ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८, शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव ६४समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज थ्री स्टार हाइड्रोपावर ९ दशमलव ०१, सुपर खुदी हाइड्रोपावर ८ दशमलव ३२, अपर हेवाखोला हाइड्रोपावर ५ दशमलव ३८, माया खोला हाइड्रोपावर ५ दशमलव ३४ र रिज लाइन इनर्जीको शेयर मूल्य ५ दशमलव १९ प्रतिशतले बढेको छ ।

यसदिन बुंगल हाइड्रो १० दशमलव ३२, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ५ दशमलव ५५, एनआईबीएल ग्रोथ फण्ड ४ दशमलव ८४ र सिद्धार्थ इक्यूटीको शेयर मूल्य २ दशमलव ९८ प्रतिशतले ह्रास आएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति श्रद्धाभाव झल्किने गीत देखिएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।

‘बालेन’ नामक आधिकारिक युट्युब च्यानलमा २० फेब्रुअरी २०२६ मा अपलोड गरिएको ‘शिरमाथि नेपाल आमा’ शीर्षकको गीत हालै मात्र सार्वजनिक बहसमा आएको हो। यद्यपि, यो सामग्री करिब तीन महिनाअघि नै अपलोड भइसकेको देखिन्छ ।

गीतका शब्दहरूमा “काँधमाथि ज्ञानेन्द्र राजालाई” जस्ता पंक्तिहरू समेटिएका छन्, जसले राजसंस्थाप्रति सकारात्मक भाव प्रकट गरेको जस्तो देखिन्छ। यही कारणले च्यानलको सामग्रीलाई लिएर विभिन्न टिकाटिप्पणी र व्याख्या भइरहेका छन्। केही प्रयोगकर्ताले यसलाई लिएर बालेनको राजनीतिक दृष्टिकोणबारे समेत प्रश्न उठाएका छन् भने केहीले यसलाई सामान्य म्युजिक मेटाडेटा वा प्लेटफर्म-जनित सामग्रीको परिणामका रूपमा हेरेका छन् ।

तर, सम्बन्धित च्यानलमा देखिएको यो गीत बालेन स्वयंले प्रत्यक्ष रूपमा अपलोड गरेको हो भन्ने निष्कर्ष निकाल्न नसकिने प्राविधिक पक्ष पनि देखिन्छ। युट्युबको ‘Official Artist Channel’ प्रणालीमा डिजिटल म्युजिक वितरण सेवामार्फत प्रकाशित गीतहरू स्वतः ‘Releases’ खण्डमा देखिने व्यवस्था हुन्छ। यस्तो अवस्थामा वितरण कम्पनीमार्फत अपलोड भएका सामग्री, एआई-जेनरेटेड वा तेस्रो पक्षले गलत मेटाडेटा प्रयोग गरेर प्रकाशित गरेका गीतहरू समेत सम्बन्धित कलाकारको च्यानलमा देखिन सक्ने सम्भावना रहन्छ।

बालेन शाह, जो पेशाले र्‍यापर तथा संगीतकर्मी पनि हुन्, युट्युबमा ‘Official Artist Channel’ मान्यता प्राप्त छन्। उनका च्यानलमा हाल १३ लाखभन्दा बढी सब्सक्राइबर र दुई दर्जनभन्दा बढी भिडियोहरू रहेका छन्। प्रधानमन्त्री बन्नुअघि नै उनका केही संगीत सामग्रीहरू सार्वजनिक भइसकेका थिए।

प्राविधिक जानकारहरूका अनुसार यस्ता ‘Releases’ स्वतः प्रणालीले व्यवस्थापन गर्ने भएकाले कलाकारले प्रत्यक्ष रूपमा सबै सामग्री अपलोड गरेको भन्ने हुँदैन। आवश्यकता परेमा कलाकार वा व्यवस्थापकले युट्युब स्टुडियोमार्फत त्यस्ता असम्बन्धित सामग्री हटाउन वा रिपोर्ट गर्न सक्ने व्यवस्था पनि रहेको बताइन्छ।

हाल भने उक्त गीतलाई लिएर उठेका चर्चा र टिकाटिप्पणीले सामाजिक सञ्जालमा बहसलाई तातेको छ।

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बैठक बस्ने तय भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ । बैठकमा समसामयिक विषयमा छलफल गर्दै विभिन्न निर्णय गरिने बताइएको छ ।

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज उकालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन् ।

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आठौँ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम सभासमक्ष पेश गर्ने छन् ।

प्रदेश सरकारले आगामी वर्षका लागि विकास निर्माण, सुशासन प्रवद्र्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ ।

सरकारले आर्थिक गतिविधि चलायमान बनाउने, जनताको जीवनस्तर उकास्ने तथा प्रदेशको समग्र विकासलाई गति दिने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।

काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । प्रदेशसभा बैठक दिउँसो १ बजे बस्ने तय गरिएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आजको बैठकमा मुख्यमन्त्रीसहित विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषय तथा आगामी कार्यदिशाबारे धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

यस अधिवेशनमा मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफल केन्द्रित हुने जनाइएको छ ।

काठमाडौ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।

प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा जेठ ११ गतेदेखि बजेट अधिवेशन आह्वान गरेका हुन् । आगामी बजेट तथा नीति–कार्यक्रम केन्द्रित छलफलका लागि अधिवेशन महत्वपूर्ण मानिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।