
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय निर्माणका लागि उपलब्ध गराएको जग्गा फिर्ता गर्ने तयारी गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने कार्यसूची प्रस्तुत गरेका हुन् ।
व्यवसायी गुरूङले २०८१ असोजमा कलंकीस्थित १० रोपनी १४ आना जग्गा एमालेलाई उपलब्ध गराउँदै त्यहाँ पार्टी कार्यालय भवन निर्माण गरिदिने घोषणा गरेका थिए । सोही जग्गामा भवन निर्माणका लागि शिलान्याससमेत गरिएको थियो। तर, उक्त निर्णयलाई लिएर पार्टीभित्रै विवाद चर्किएको थियो ।
जग्गा लिने निर्णयको विरोध गरेपछि नेतृहरू डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।
यसबीच, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा भएको आगजनी घटनापछि गुरूङ स्वयं नै आफ्नो प्रस्तावबाट पछि हटेको नेताहरूले बताएका छन् । त्यसपछि एमालेले पनि उक्त जग्गा नलिने निष्कर्षमा पुगेको हो ।
अब पार्टीले बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी थालेको जनाएको छ । नयाँ भवन निर्माण सम्पन्न नभएसम्म भाडाको भवन खोज्ने प्रस्ताव पनि सचिवालय बैठकमा प्रस्तुत गरिएको छ ।
एमालेले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि बल्खुमा भवन निर्माणका कानुनी अवरोध हटेको निष्कर्षसमेत निकालेको छ ।
२०७२ सालको भूकम्पले एमालेको पुरानो मुख्यालय क्षतिग्रस्त बनेपछि पार्टी विभिन्न स्थानमा भाडामा बस्दै आएको छ । सुरुमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बसेको एमाले पछि विवादका कारण त्यहाँबाट सरेको थियो। त्यसपछि थापाथली हाइट हुँदै २०७९ सालदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ ।





