२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार सम्पन्न प्रदेशसभा बैठकमा उनको पक्षमा बहुमत सदस्यहरूले समर्थन जनाएका हुन् ।

बैठकमा उपस्थित १०० प्रदेशसभा सदस्यहरूमध्ये ६२ जनाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरे भने ३६ जनाले विपक्षमा मत दिएका थिए ।

सरकार विस्तारका क्रममा नेकपा एमालेलाई मधेस सरकारमा सहभागी गराइएपछि नेपाली कांग्रेससहित एमाले, नेपाल कम्युनिस्ट पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन् ।

यता जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको छ । आफ्ना मन्त्रीहरूलाई सरकारबाट हटाइएको तथा विश्वासको मतका लागि औपचारिक रूपमा आग्रह नगरिएको भन्दै जसपा नेपाल असन्तुष्ट बनेको हो ।

त्यसैगरी जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छैनन् ।

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक निष्कर्षविहीन बनेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक आज टुंगोमा पुग्न नसकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार बैठक अब भोलि बिहान ११ः३० बजे पुनः बस्नेछ । आजको बैठकमा कार्यविभाजनको विषयमा औपचारिक रूपमा प्रवेश नभएको उनले बताए ।

भट्टले बैठकमा पाँच जना नेताले लामो समय धारणा राखेको र अझै १२ जना सदस्य बोल्न बाँकी रहेको जानकारी दिए । बैठकमा आएका सुझावका आधारमा कार्यविभाजनका लागि प्रस्ताव गरिएका नामहरूमा समेत संशोधन हुन सक्ने संकेत उनले गरेका छन् ।

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सरकारको मागलाई शुक्रबार स्वीकृति दिएको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासे को इजलासले दिएको आदेशअनुसार यी दुई अभियोग तत्कालका लागि अभियोगपत्रबाट हटाइने भएका हुन् । यसअघि तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बराल ले उक्त मुद्दा संशोधनमार्फत फिर्ता लिने निर्णय गरेकी थिइन् ।

अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग कायम नरहने भए पनि सहकारी ठगी मुद्दा भने यथावत् रहनेछ । अदालतले सरकारी वकिलको निवेदन मनासिब देखिएको उल्लेख गर्दै अभियोगपत्रबाट दुई कसुर हटाउँदा न्यायको मूल मर्ममा असर नपर्ने निष्कर्ष निकालेको छ ।

आदेशमा पीडित बचतकर्ताले रकम छिटो र सहज रूपमा फिर्ता पाउने वातावरण बनाउन पनि यो निर्णय आवश्यक रहेको उल्लेख गरिएको छ । यदि दुईवटा अभियोग कायम राखिएको अवस्थामा पीडित र आरोपित पक्षबीच मिलापत्र प्रक्रिया जटिल बन्न सक्ने अदालतको ठहर छ ।

त्यस्तै, सरकारी वकिलले मुद्दा कायम नगर्न दिएको निवेदनमा कुनै दुराशय नदेखिएको अदालतले स्पष्ट पारेको छ । अब अदालतमा सहकारी ठगीसम्बन्धी अभियोगमा मात्रै सुनुवाइ अघि बढ्नेछ भने माथिल्लो अदालतमा जाने कानुनी बाटो भने खुला नै रहनेछ ।

काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शापू रोगप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । आँखासम्बन्धी यो गम्भीर रोगले समयमै उपचार नपाए दृष्टि नै गुम्न सक्ने भएकाले सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको हो ।

केन्द्रका अनुसार शापू रोग प्रायः वर्षायामपछि भदौदेखि मंसिरसम्म बढी देखिने गर्दछ । विशेषगरी नेपालको मध्यपहाडी क्षेत्रमा यो रोग कहिलेकाहीँ महामारीकै रूपमा फैलिने गरेको छ ।

यो रोग जुनसुकै उमेर समूहमा देखिन सक्ने भए पनि बालबालिकामा यसको जोखिम बढी हुने बताइएको छ । लक्षण देखिएपछि २४ देखि ४८ घण्टाभित्र उपचार हुन नसके आँखाको दृष्टि स्थायी रूपमा गुम्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

शापू रोग कसरी सर्छ ?

हालसम्म सेतो पुतली (मोथ) लाई शापू रोगको मुख्य कारक मानिएको छ । तर, सेतो पुतलीसँग प्रत्यक्ष सम्पर्कमा नआएका व्यक्तिहरूमा समेत यो रोग देखिएको पाइएको छ । केही अवस्थामा अन्य जीवाणु तथा विषाणुका कारण पनि शापू देखिन सक्ने बताइएको छ ।

यस्ता छन् शापूका प्रमुख लक्षण

– अचानक एउटा आँखा मात्र रातो हुने
– आँखामा चिप्रा नलाग्ने
– उज्यालोमा हेर्न गाह्रो हुने
– आँखा दुख्ने
– उपचार ढिलो भए कालो नानीमा सेतो दाग देखिने
– आँखाको दृष्टि अचानक कमजोर हुने

कसरी बच्ने ?

स्वास्थ्य केन्द्रले शापूबाट जोगिन केही सावधानी अपनाउन आग्रह गरेको छ । सेतो पुतलीको संसर्गबाट टाढा रहने, अत्यधिक उज्यालो सेतो बत्ती प्रयोग नगर्ने तथा साँझ–राति झ्यालढोका बन्द राख्ने सुझाव दिइएको छ ।

यस्तै, सम्भव भएसम्म झ्यालढोकामा जाली लगाउने, सुत्ने बेला मधुरो बत्ती बाल्ने वा बत्ती निभाएर झुल प्रयोग गर्ने उपाय पनि अपनाउन आग्रह गरिएको छ ।

समयमै उपचार गरिए शापू रोग निको हुन सक्ने भए पनि ढिला गर्दा दृष्टि गुम्ने वा आँखा नै सुक्ने जोखिम रहने केन्द्रले जनाएको छ । आँखामा शापूको लक्षण देखिए तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र पुग्न र आफूखुसी औषधि वा जडीबुटी प्रयोग नगर्न पनि केन्द्रले आग्रह गरेको छ ।

काठमाडौं । बजेट नजिकिँदै गर्दा शेयर बजारमा देखिएको उतार–चढावले लगानीकर्तामा पुनः अनिश्चितता बढाएको छ । पछिल्ला दिनहरूमा निरन्तर घटबढको अवस्थाले बजारलाई दिशाहीन बनाएको देखिन्छ । हिजो गिरावटमा बन्द भएको बजार आज भने केही सुधारसहित फर्किए पनि समग्र बजार मनोबल अझै कमजोर नै रहेको छ ।

कारोबार रकममा हल्का सुधार देखिए पनि बजारको समग्र गतिविधि सुस्त छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार हाल घटेर करिब २ देखि ३ अर्बको सीमामा सीमित हुनु बजार सहभागिता कमजोर हुँदै गएको संकेतका रूपमा हेरिएको छ । यसले लगानीकर्ताको सक्रियता घट्दै गएको र बजारमा उत्साह हराउँदै गएको स्पष्ट देखाउँछ ।

सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको बताइरहे पनि त्यसको प्रभाव व्यवहारमा स्पष्ट रूपमा देखिन सकेको छैन । नीतिगत स्थायित्व र सुधारको अपेक्षा भए पनि ठोस परिवर्तन नआउँदा लगानीकर्तामा सुरुमा देखिएको विश्वास क्रमशः कमजोर बन्दै गएको छ । नयाँ खरिद चासो पनि सीमित हुँदा बजारमा माग पक्ष दबाबमा परेको विश्लेषण गरिएको छ ।

पछिल्ला दिनमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । यसले लगानीकर्तामा जोखिमको भावना बढाउँदै बिक्री चाप बढाएको देखिन्छ, जसको असर नेप्से सूचकमा प्रत्यक्ष रूपमा परेको छ । राजनीतिक तथा नियामक अन्योलले पनि बजारलाई थप संवेदनशील बनाएको छ ।

तर दीर्घकालीन आधार भने पूर्ण रूपमा कमजोर छैनन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले आगामी दिनमा बजारलाई केही समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैबीच, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ । आज ३३६ कम्पनीका १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा १२ समूहगत उपसूचकमा सुधार देखिएको छ भने व्यापार समूह मात्रै घटेको छ । २०३ कम्पनीको शेयर मूल्य बढेको छ, ५७ कम्पनीको घटेको छ र ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

काठमाडौं । बेंगलुरुबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान अवतरणको क्रममा इन्जिनमा आगलागीको संकेत पाएपछि बिहीबार राति पूर्ण आपतकालीन अवस्था घोषणा गरिएको छ ।

‘एआई २८०२’ उडान नम्बरको एयरबस ए३२० विमान मे २१ को राति ९ः३० बजे स्थानीय समयअनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २९आरमा सुरक्षित रूपमा अवतरण गरेको हो ।

विमानमा रहेका १८० जना यात्रु तथा चालक दलका सबै सदस्यलाई सकुशल उद्धार गरिएको छ । घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले औपचारिक अनुसन्धान सुरु गरेको छ भने एयर इन्डियाले पनि नियामक निकायसँग समन्वय गर्दै आन्तरिक छानबिन अघि बढाएको जनाएको छ ।

ककपिट टोलीका अनुसार अवतरणको अन्तिम चरणमा विमानको एक इन्जिनबाट आगलागीको चेतावनी प्राप्त भएको थियो । उक्त संकेत सामान्य प्राविधिक त्रुटि नभई वास्तविक जोखिम हुनसक्ने देखिएपछि पाइलटहरूले एयर ट्राफिक कन्ट्रोलसँग समन्वय गर्दै आपतकालीन अवस्था घोषणा गरेका थिए ।

पाइलटहरूले इन्जिनमा समस्या देखिए पनि निर्धारित आपतकालीन प्रक्रिया अपनाउँदै सुरक्षित अवतरण पूरा गरेका थिए ।

अवतरणपछि आपतकालीन उद्धार टोलीलाई सहज पहुँच दिन विमानस्थलको सञ्चालन केही समयका लागि प्रभावित भएको थियो। पछि विमानलाई रनवेबाट हटाएर यात्रुहरूलाई ग्राउन्ड उपकरणमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

काठमाडौं । जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै बकर ईद (ईद–उल–अज्हा)का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा राजपत्रमा प्रकाशित व्यवस्था अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ । यस वर्ष उक्त पर्व जेठ १४ गते परेकाले सो दिन देशभर सार्वजनिक बिदा हुने जनाइएको छ ।

यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको छ । त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक निकाय बन्द रहनेछन् ।

काठमाडौं । नेपाली बजारमा आज (जेठ ८ गते) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

यता चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । सरकारले देशैभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारी चाप अत्यधिक भई ट्राफिक जामको समस्या गम्भीर बनेको कारण यो निर्णय गरिएको हो । साथै इन्धन मूल्यवृद्धिले यातायात क्षेत्र थप दबाबमा परेको उल्लेख गर्दै मौजुदा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक भएको विभागले जनाएको छ ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार प्राप्त अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरेको हो । उक्त कानुनी प्रावधानअनुसार वातावरणीय प्रभाव, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक हितलाई ध्यानमा राख्दै सवारी दर्ता रोक्न सकिने व्यवस्था छ ।

निर्णय सार्वजनिक तथा विद्युतीय (ईभी) सवारी साधन दुवै प्रकारका सार्वजनिक यातायातमा लागू हुने पनि विभागले जनाएको छ ।

कतार एयरवेजलाई उपभोक्ता अदालतले विमानभित्र तातो कफीका कारण घाइते भएकी एक नेपाली महिलालाई करोडौं रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

बिहीबार अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रिती थापाको पक्षमा फैसला गर्दै एयरवेजलाई क्षतिपूर्ति तिर्न निर्देशन दिएको हो।

अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार मोन्ट्रियल कन्भेन्सनअन्तर्गत २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति निर्धारण गरिएको छ।

प्रिती थापाले यसअघि २० लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। अदालतको पूर्णपाठ सार्वजनिक भएपछि कतार एयरवेजले क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने वा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रितीले सन् २०२३ मे २६ मा काठमाडौं–दोहा–बोस्टन तथा फर्किने यात्राका लागि टिकट खरिद गरेकी थिइन्। सोहीअनुसार उनी जुन १० मा बोस्टन पुगेकी थिइन्।

पछि जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा कतार एयरवेजको क्युआर–७४४ विमानमा चालक दलका सदस्यले दिएको अत्यधिक तातो कफी उनको शरीरमा पोखिएको थियो।

कफीले पेट, तिघ्रा र संवेदनशील अंगहरूमा गम्भीर जलन भएपछि उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनको चोट ‘सेकेन्ड डिग्री बर्न’ रहेको पुष्टि भएको अदालतले जनाएको छ।

घटनापछि प्रितीले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सनअन्तर्गत क्षतिपूर्तिको माग गर्दै अदालतमा निवेदन दिएकी थिइन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।