२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । काठमाडौंको व्यस्त थापाथली चोकमा सवारी रोकेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्राफिक प्रहरीले सांसद तामाङ सवार गाडीलाई अन्य सवारीभन्दा केही अगाडि बढेर रोकिएको भन्दै सोधपुछ गरेको थियो । त्यसपछि उनी गाडीबाट बाहिर निस्केर ट्राफिक व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

जामको अवस्थाबीच आक्रोशित देखिएकी तामाङले त्यहाँ खटिएका अर्का ट्राफिक प्रहरीतर्फ संकेत गर्दै ड्युटीमा रहेका प्रहरीलाई नियमबारे बुझाउन आग्रह गरेकी थिइन् ।

‘उहाँलाई सम्झाउनुस्, ग्रीन सिग्नल (हरियो बत्ती) बल्दा पनि गाडी रोकेर राखिएको छ, यता सर्वसाधारण जाममा फसिरहेका छन्, यो तरिका भएन,’ तामाङले आक्रोशित हुँदै भनिन्।

सांसद र ट्राफिक प्रहरीबीच केही समय भनाभन हुँदा थापाथली क्षेत्रमा सवारी आवागमन थप प्रभावित बनेको थियो । व्यस्त समयमा भएको उक्त घटनाले सडक व्यवस्थापन र ट्राफिक समन्वयको विषय फेरि चर्चामा आएको छ ।

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेको छ । लगानीकर्ताको उत्साह बढेसँगै नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर २ हजार ७५४ दशमलव ४८ विन्दुमा पुगेको हो ।

आज १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि वृद्धि भएको हो । मंगलबार ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

बजारमा कारोबार भएका ३४६ धितोपत्रमध्ये २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

बुधबार सबै उपसमूह हरियो देखिएका छन् । होटेल तथा पर्यटन र हाइड्रोपावर समूह सर्वाधिक १ दशमलव ८९ प्रतिशतले बढेका छन् । व्यापार समूह १ दशमलव ५१ प्रतिशतले उकालो लाग्दा लगानी तथा उत्पादनमूलक समूह समान १ दशमलव १५ प्रतिशतले बढेका छन् ।

त्यस्तै अन्य १ दशमलव ०९, फाइनान्स १ दशमलव ४, जीवन बीमा शून्य दशमलव ९७,म्युचुअल फण्ड शून्य दशमलव ८२, बैंकिङ शून्य दशमलव ७३ माइक्रोफाइनान्स शून्य दशमलव ६२ र निर्जीवन बीमा तथा विकास बैंक समूहको उपसूचक शून्य दशमलव ४४ प्रतिशतले बढेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै माउण्टेन हाइड्रो नेपाल ११ दशमलव ८८, बुंगल हाइड्रो ७ दशमलव ५१, शिखर पावर डेभलपमेन्ट बैंक ६ दशमलव १२ र सिटी होटलको शेयर मूल्य ५ दशमलव ९ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक १३ दशमलव २६ र बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदाका लागि निवेदन दिएकी छन् । नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्तिपछि उनले आजदेखि लागू हुने गरी बिदा मागेको स्रोतले जनाएको हो ।

प्रधानन्यायाधीश बन्ने वरिष्ठताको दौडमा रहेकी प्रधान संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेपछि असन्तुष्ट देखिएकी थिइन् । तर, तत्काल राजीनामा दिने पक्षमा भने उनी नरहेको निकट स्रोतको दाबी छ ।

शर्माभन्दा वरिष्ठ रहेका न्यायाधीश कुमार रेग्मी र हरि फुँयालले पनि पदबाट अलग हुने सम्भावना नरहेको बताइएको छ । उनीहरू दुवैले नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दै पदभार ग्रहण कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, आजका लागि उनीहरूको इजलाससमेत तोकिएको छ ।

यता, हिजो आयोजित प्रधानन्यायाधीशको शपथग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी सपना मल्ल प्रधान अनुपस्थित रहिन् । संसदीय सुनुवाइ समितिबाट शर्माको नाम अनुमोदन भएलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएको स्रोतले जनाएको छ । राति आयोजित पदभार ग्रहण कार्यक्रममा पनि उनी सहभागी भइनन् ।

प्रधानले दिएको बिदा निवेदन अझै स्वीकृत भइसकेको छैन । उक्त निवेदनमाथि अब नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले निर्णय गर्नेछन् ।

काठमाडौं । ललितपुरबाट नक्कली ब्रान्डेड मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न चार जनालाई सशस्त्र प्रहरी बल नेपालले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा छापा मार्दै रेड लेबल, ब्ल्याक लेबललगायत विभिन्न नामका नक्कली मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा बिर्खबहादुर तामाङको घरमा छापा मारिएको जनाइएको छ । छापाका क्रममा मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, उपकरण, राजस्व स्टिकर तथा होलोग्रामसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–२ निवासी ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति परेको अविरल असिनापानीपछि आएको पहिरोले स्थानीय आधारभूत विद्यालय भवनमा क्षति पुगेको छ । पहिरोका कारण डाँफे क्षेत्रमा रहेको विद्यालय भवनसँगै खेतीयोग्य जमिन र केही गोठ पनि पुरिएका छन् ।

स्थानीयवासी छक्कबहादुर तामाङका अनुसार एक्कासि मौसम बिग्रिएपछि आएको पहिरोले गाउँमा व्यापक असर पारेको हो । पहिरोले चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठसमेत पुरेको बताइएको छ । गोठमा रहेका भेँडाबाख्रामा समेत क्षति पुगेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले पहिरोबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले तथ्यांक संकलनमा समय लागिरहेको छ ।

प्रहरीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै सुरक्षा टोली प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।

सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चङ्खेली गाउँपालिकाको नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित छ । गाउँपालिकाको केन्द्र पिप्लाङबाट त्यहाँ पुग्न करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने स्थानीयले बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।