
काठमाडौं । लामो समयदेखि जारी रूस–युक्रेन युद्धका बीच दुवै पक्षले आ–आफ्नो तर्फबाट एकपक्षीय युद्धविरामको घोषणा गरेका छन् । रूसले आगामी मे ८ र ९ तारिखमा युद्धविराम लागू गर्ने घोषणा गरेको छ। यो निर्णय दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि प्राप्त विजयको सम्झनामा मनाइने ‘विजय दिवस’ को अवसर पारेर गरिएको हो ।
रुसी रक्षा मन्त्रालयका अनुसार मस्कोको रेड स्क्वायरमा आयोजना हुने सैन्य परेडको सुरक्षा सुनिश्चित गर्न युद्धविरामको घोषणा गरिएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशअनुसार गरिएको यस घोषणाप्रति युक्रेनले पनि सहमति जनाउने अपेक्षा रूसले गरेको छ ।
तर, युक्रेनले रूसको घोषणाबारे कुनै आधिकारिक जानकारी नआएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मे ५ र ६ तारिखदेखि लागू हुने छुट्टै युद्धविराम घोषणा गरेका छन्, जुन मंगलबार मध्यरातबाट सुरु हुने बताइएको छ ।
जेलेन्स्कीले मानव जीवन कुनै पनि उत्सवभन्दा ठूलो भएको भन्दै रूसलाई युद्ध अन्त्यका लागि वास्तविक कदम चाल्न आग्रह गरेका छन् । यसअघि पनि उनले अन्तर्राष्ट्रिय नेताहरूसँगको छलफलमा कूटनीतिक समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
रूसले भने युद्धविराम अवधिमा कुनै पनि प्रकारको आक्रमण नगर्न युक्रेनलाई कडा चेतावनी दिएको छ । रुसी पक्षले यदि युद्धविरामको उल्लंघन गरी आक्रमण भएमा किभमा ‘ठूलो र प्रतिशोधात्मक मिसाइल आक्रमण’ गर्ने चेतावनीसमेत दिएको छ । साथै, किभमा रहेका सर्वसाधारण र कूटनीतिक कर्मचारीहरूलाई सहर छोड्न सुझाव दिइएको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसको सैन्य तयारी र गतिविधिलाई कमजोर देखाउन खोज्दै, उनीहरू प्रतिरक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनले आगामी गर्मीयामलाई युद्धको दिशा तय गर्ने निर्णायक समयका रूपमा उल्लेख गरेका छन् ।
फेब्रुअरी २०२२ मा सुरु भएको यो युद्ध युरोपमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो रक्तपातपूर्ण द्वन्द्वका रूपमा रहेको छ । यसबीच लाखौँ मानिस विस्थापित भएका छन् भने हजारौँले ज्यान गुमाएका छन् । विगतमा गरिएको छोटो युद्धविरामहरू बारम्बार उल्लंघन भएको इतिहास रहेकाले पछिल्लो घोषणाप्रति पनि शंका र आशा दुवै कायम छन् ।
जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीभित्र पुनः राजनीतिक विवाद चुलिएको छ । यसैबीच, जनमत पार्टीका नौ जना सांसदले सरकारलाई दिइएको समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार थप संकटमा परेको हो ।
जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहका अनुसार नौ सांसदको हस्ताक्षरसहित समर्थन फिर्ता गरिएको पत्र सोमबार राति प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । अहिले उक्त सरकारमा जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव र खेलकुद मन्त्री बसन्त कुशवाहा रहेका छन् भने बबिता राउत उपसभामुखको भूमिकामा छन् ।
यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आफ्ना सांसदहरूको हस्ताक्षरसहित समर्थन फिर्ता गर्ने तयारी पूरा गरेको जनाएको छ । जसपाले मंगलबार (आज) प्रदेश प्रमुखलाई औपचारिक रूपमा पत्र बुझाउने तयारी गरेको छ ।
जनमत र जसपाले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।
राजनीतिक स्रोतका अनुसार अब एमालेको समर्थनमा जसपा नेपाल र जनमत पार्टीसहित नयाँ सरकार गठन गर्ने तयारी तीव्र बनेको छ ।
गत मंसिर १९ गते कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर, करिब ६ महिनामै सरकार फेरबदलको संकेत देखिन थालेपछि मधेस प्रदेशको राजनीतिक अवस्था फेरि अस्थिर बनेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेको संसदीय दलको कार्यालयले जनाएको हो ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने बताइएको छ । साथै सरकारले संघीय संसदको अधिवेशन स्थगित गरी अध्यादेश ल्याएको विषय, तथा सुकुमबासी व्यवस्थापन नगरी डोजर चलाइएको घटनाबारे पनि छलफल हुने कार्यक्रम रहेको छ ।
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
घरेलु दर्शकलाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्यमा कटौती गरेको छ । यसअघि ४०० रुपैयाँ तोकिएको टिकट आजका लागि २०० रुपैयाँमा उपलब्ध गराइएको छ ।
जारी सिरिजमा नेपालले यूएईलाई दुई पटक पराजित गरे पनि ओमानसँग भने एक खेलमा हार व्यहोरेको थियो । त्यसैले आजको खेल नेपालका लागि बदला लिने अवसरका रूपमा हेरिएको छ । अघिल्लो भेटमा नेपाल १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पछिल्लो खेलमा नेपालले नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई अवसर दिएको थियो । उक्त खेलमार्फत कुमालले सिनियर टोलीमा डेब्यु गरेका थिए भने भण्डारी लामो समयपछि टोलीमा फर्किएका थिए । भण्डारीले ७९ बलमा ५६ रन बनाउँदै राम्रो प्रदर्शन गरे पनि कुमाल भने २२ बलमा ११ रनमै सीमित भएका थिए ।
आजको खेलमा ओपनिङ जोडीमा फेरबदल हुने वा पुरानै संयोजन फर्किने भन्ने टसपछि मात्र स्पष्ट हुनेछ ।
अंकतालिकामा २७ खेलमा १४ जितसहित ३१ अंक जोडेको ओमान तेस्रो स्थानमा छ । नेपाल भने २३ खेलबाट ७ जितसहित १६ अंकमा सातौं स्थानमा छ । यूएई २४ खेलबाट १४ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
यसैबीच, मे १२ देखि नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचको अर्को सिरिज पनि यही त्रिवि मैदानमा सुरु हुने तालिका रहेको छ ।
काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशी क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण फसेका यात्रुहरूलाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
सोमबार साँझ करिब ६ बजे पूर्वी नेपालबाट काठमाडौँतर्फ आउँदै गरेका पाँच वटा इभी हाईस गाडी रोशी खोलामा आएको बाढीमा फसेका थिए । बा४ख ५२६१, बा४ख ६३५५, बा५ख ३१५८, बागमती प्रदेश ०१–००६ ख ७५९६ र बागमती प्रदेश ०८–००१ ख ००७७ नम्बरका सवारी साधन खोलामा अलपत्र परेका थिए ।
ती सवारीमा सवार ८९ जना यात्रु जोखिममा परेपछि तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीले उद्धार कार्य सञ्चालन गर्दै सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाली गन्तव्यतर्फ पठाएको जनाइएको छ ।
अचानक आएको बाढीका कारण केही समय सडक आवागमन प्रभावित भए पनि उद्धारपछि अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ । तस्बिरहरुः नेपाल प्रहरी







काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख तेल भण्डारण केन्द्रमा आगलागी भएको घटना सार्वजनिक भएको छ ।
बीबीसीका अनुसार यूएईको सबैभन्दा ठूलो तेल भण्डारण स्थल फुजैराहमा आगलागी भएको हो । उक्त घटनामा कम्तीमा तीन जना घाइते भएका छन् ।
यूएईले आगलागी इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणका कारण भएको आरोप लगाएको छ । घटनाअघि तीनवटा इरानी क्षेप्यास्त्रलाई निष्क्रिय पारिएको दाबी पनि यूएईले गरेको छ ।
यस घटनापछि यूएईले कडा प्रतिक्रिया जनाउँदै प्रतिकार गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै यूएईले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय बडापत्रअनुसार आफ्नो प्रतिरक्षाको अधिकार प्रयोग गर्ने जनाएको छ ।
यता, यूएईको आरोपबारे इरानले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । आगलागीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ, जसअनुसार तेलको मूल्य प्रति ब्यारेल ११५ डलर पुगेको बीबीसीले उल्लेख गरेको छ ।





