
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्भावना हालका लागि नरहेको स्पष्ट गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेशन (आईओसी)ले निर्धारण गरेको मूल्यकै आधारमा इन्धन खरिद गर्नुपर्ने भएकाले मूल्य घटाउने अवस्था नबनेको बताएका हुन् ।
मंगलवार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकारले बाध्यतावश मूल्य समायोजन गर्नुपरेको उल्लेख गरे । उपभोक्ताबाट मूल्य नियन्त्रणका लागि दबाब बढिरहे पनि अहिले पनि खाना पकाउने ग्यास र पेट्रोल जस्ता इन्धनमा सरकारले घाटा व्यहोर्दै आएको उनको दाबी छ ।
उनका अनुसार यदि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिएमा हालको भन्दा अझ महँगो दरमा इन्धन बिक्री गर्नुपर्ने अवस्था आउनेछ । उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले यस्तो प्रणाली पूर्ण रूपमा लागू नगरेको उनको भनाइ छ ।
सचिव राउतले विगतमा महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्दा सञ्चित नाफासमेत समाप्त भएको भन्दै हालको मूल्यवृद्धि बाध्यकारी कदम भएको बताए । ‘कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । त्यसो भएर सरकारले यो बाध्य भएर यो मूल्यवृद्धिको कदम चाल्नुपरेको छ,’ उनले भने, पछिल्लो समय सरकार गठन भएपछि नियमित रूपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ ।’
यसैबीच सरकारले नेपाल आयल निगमका कर्मचारीले बोनस लिएको भन्ने विषयलाई पनि अस्वीकार गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले ‘भाषा दिवस’ को अवसर पारेर उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
यस सम्बन्धमा गत चैत २३ गते जारी गरिएको सूचनाअनुसार, बिहीबार पर्ने वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाइने भएकाले प्रदेशभरका सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
उक्त दिन प्रदेशअन्तर्गतका सबै सार्वजनिक संस्था तथा शैक्षिक संस्थाहरू पनि बन्द रहने जनाइएको छ । बागमती प्रदेश सरकारले २०८० साल वैशाख २४ गतेदेखि सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदै सोही दिनलाई ‘भाषा दिवस’ का रूपमा मनाउँदै आएको छ ।
मणिराम डङ्गोल
काठमाडौं । विश्वमा समाजवाद, साम्यवाद, पूँजीवाद, धर्मवाद, जातिवाद, द्वन्द्ववाद अनेकन वादका सिद्धान्त प्रतिपादन भएका छन् । ती वादहरूले वास्तविक अर्थमा आमजनताको भलाइलाई भन्दा केही सीमित व्यक्ति वा समूलाई बढी फाइदा पुग्नेगरी काम गरेको देखिन्छ । समाजका सबै वर्ग समुदायको साझा हित र मुलुकको समग्र भलाइका लागि विकास भएको कर्मवादको बारेमा भने खासै धेरैलाई जानकारी नहुन सक्छ । विश्वका अधिकांश सम्पन्न देशलाई हेर्ने हो भने उनीहरूले श्रमको उच्च सम्मान गर्दै कर्मवादलाई अभ्यासमा ल्याएका छन् । नेपालको राजनीतिमा भने लामो समयदेखि नितान्त व्यक्तिवादी चिन्तन हाबी हुँदा ‘सर्बजन हिताय, सर्बजन सुखाय’ नभएर निजी लाभ र स्वार्थको अस्त्र बनेको छ । यसले गर्दा देशको आर्थिक अवस्थामा तात्विक सुधार हुन सकेन, युवा जनशक्ति विदेश पलायन भएका छन् र विदेशी निर्भरता बढेर गएको छ ।
कुनै पनि देशलाई मार्गनिर्देश गर्ने वा स्वावलम्बी राष्ट्र निर्माणमा राजनीतिक नेतृत्वको ठूलो भूमिका रहेको हुन्छ । स्पष्ट सोच, असल विचार, दीर्घकालीन योजना, निःस्वार्थ भावना भएको राजनीतिज्ञले मात्र देशको काँचुली फेर्न सक्छ । यसका लागि राजनीतक नेतृत्वले मानिससँग रहेको प्रतिभाको पहिचान गरेर प्रयोगमा ल्याउन, आत्मविश्वासको विकास गर्न, आत्मसन्तुष्टिको मापन तयार पार्न सक्यो भने सबै नागरिकले शासन प्रणालीप्रति अपनत्व महसुस गर्न सक्छन् । यसबाट एकातिर समाजको आमूल परिवर्तन हुन्छ भने अर्कोतिर समृद्ध राष्ट्रको आधार तयार गर्न सकिन्छ ।
कर्म भनेको श्रम हो, श्रमबिनाको मानव जीवनको कल्पना गर्न सकिँदैन । विश्वको आर्थिक, सामाजिक सांस्कृतिक, शैक्षिक, साङ्गठनिकजस्ता अनेक विषयको उठान श्रमशक्तिको उच्चतम् उपयोगबाट मात्र सम्भव हुन्छ । कर्मवाद केबल सामाजिक सिद्धान्तमात्र होइन, जीवन बाँच्ने तरिका पनि हो । संसारलाई रुपान्तरण गर्ने शक्ति विचार वा भाषणमा नभई कर्ममा निहित हुन्छ । कर्मवादले कर्मलाई दायित्वको रूपमा होइन, सिर्जनशील शक्तिको रूपमा हेर्छ । यसका लागि कार्य केबल श्रम होइन, सिर्जनशीलता हो, जसले शून्यलाई केहीमा रुपान्तरण गर्छ । जीवनमा प्रत्येक कार्यको फल हुन्छ भन्ने धारणा कर्मवादको मूल तत्व हो । त्यसैले अन्य राजनीतिक वादहरूभन्दा पूर्णतः भिन्न ढङ्गबाट कर्मवाद नितान्त सिर्जना, उत्पादन र नवप्रवर्तनमा अडिएको हुन्छ ।
कर्मवादको दृष्टिमा जीवनको वास्तविक मूल्य परिणाममा होइन, कार्यको निरन्तर प्रवाहमा छ किनकि कर्म नै चेतनाको जागरण हो । कर्मवादले समयको मूल्य बुझेको हुन्छ । समयको प्रत्येक क्षण एउटा बिज हो, जसलाई कार्यको पानीले सिञ्चित गर्दा अङ्कुर फुट्छ र त्यही अङ्कुरणमा नयाँ फल फल्दछ । त्यसैले समयलाई खेर नफाली कार्यको पूजा गर्न सिक्नु नै कर्मवादको बाटोमा हिँड्नु हो । कार्य गर्ने व्यक्तिलाई सम्मान गर्दै कर्मवादले सबैलाई आफ्नो श्रम, सीप र समय समाजको उन्नतिका लागि उपयोग गर्न प्रेरित गर्छ । कर्मवाद उत्पादनमुखी कार्यशैलीमा आधारित छ । कर्मवादले प्रकृयामुखी र औपचारिकतामा सीमित गतिविधिलाई अस्वीकार गर्दै उत्पादन र उपलब्धिलाई विकासको केन्द्रमा राख्दछ । वास्तविक विकास त्यतिबेलामात्र सम्भव हुन्छ, जब कामबाट प्रत्यक्ष परिणाम देखापर्छ र त्यो परिणामले समाजमा सकारात्मक प्रभाव पार्छ ।
कर्मवादलाई श्रम, रोजगारी र उत्पादनका साधन र स्रोतको युक्तिसङ्गत परिचालन र कठोर अनुशासनको रूपमा अथ्र्याउन सकिन्छ । हरेक मानिससँग केही न केही क्षमता हुन्छ, त्यसलाई उत्पादनसँग जोड्नु नै कर्मवाद हो । देश समृद्ध हुँदैमा सबै जनता सुखी हुँदैनन्, सुखी हुन त प्रत्येक वयस्क व्यक्ति उत्पादनसँग जोडिनुपर्छ । युवालाई उत्पादनसँग नजोड्ने हो भने उनीहरू देशमा टिक्न सक्दैनन् । त्यस अवस्थामा हरेक कुरामा परनिर्भर बन्नुपर्ने हुन्छ । परनिर्भरताले राष्ट्रिय सुरक्षामा समेत जेखिम निम्त्याउँछ । आधुनिकता र आत्मकेन्द्रित व्यक्तिवादी सोचले आज कसैले पनि अरुका लागि सकारात्मक सोच्नै नसक्ने अवस्था बनेको छ ।
समृद्धिको आधार उत्पादनमात्र भएकाले श्रमको महत्व स्थापित गरी उत्पादनमा संलग्न व्यक्ति, वर्ग, समुदाय तथा उद्यमीहरूलाई उचित सम्मानको वैधानिक परिपाटी कायम गर्ने हो भने नेपालका सयौँ जातजाति र भाषाभाषीहरू राज्यको मूलप्रवाहमा जोडिनेछन् र आ–आफ्ना कला कौशल, संस्कृति र विशिष्टता जोगाउँदै परिश्रममा गर्न थाल्नेछन् । राज्यले बजारको सुनिश्चित गरिदिँदामात्र पनि समाजमा व्यावसायिक र औद्योगिक उत्पादनले अभूतपूर्व गति र उचाइ लिनेछ । यसबाट जनताको क्रयशक्ति र उपभोगमात्र बढ्ने छैन, यसले मुलुकको आयातमा आधारित अर्थतन्त्र निर्यातमुखी बन्न थाल्नेछ र गरिबी निवारणसहित सबल स्वाधिन अर्थतन्त्रले मुलुकको कायाकल्प हुनेछ । जनताका आधारभूत आवश्यकता पूर्तिसँगै जीवनस्तरमा सुधार, स्वास्थ्य अवस्था र औसत आयुमा समेत उल्लेख्य सुधार हुनेछ ।
कर्मवादका प्रणेता भगवान् बुद्ध
समृद्धिका लागि बुद्धका धेरै उपदेशहरू नितान्त सान्दर्भिक रहेका छन् । धर्म आफैँमा मानव जातिको धारण गर्ने अनुशासन हो । माननवीय र कर्मशील मूल्य मान्यता हो, जीवनशैलीको मार्गदर्शन हो । भगवान् बुद्धले अनुशासनका नियमका रूपमा पञ्चशीलका उपदेशहरूले कर्मशील व्यक्तिका लागि सामाजिक सद्भाव, आचरण संस्कार र मूल्य मान्यताको संरक्षणसहितको सामाजिक सहअस्तित्वलाई प्रोत्साहन गरेको छ । बुद्धको समानता, शान्ति, दया, करुणा तथा कर्तव्यपरायणता जस्ता मान्यताहरू आजको कर्मशील समाजमा उत्तिकै सान्दर्भिक छन् । कर्मले नै मानिसलाई हीन वा महान् बनाउँछ अर्थात् लोभ वा पापबिनाको तृष्णा, लालसा र महत्वकाङ्क्षा तथा अन्यायपूर्ण, स्वार्थपूर्ण र भ्रष्ट आचरणसहितको कर्मले मानिसलाई कुकर्मतिर डोर्याउँछ ।
आफ्नो कर्मलाई इमान्दार भएर समुचित ढङ्गबाट सम्पादन गर्नु कुनै पनि पेसा कर्मको धर्म हो भन्ने बुद्धको सन्देश कहिल्यै पनि असान्दर्भिक हुन सक्दैन । यही कुरा गीतामा पनि कर्मयोगको रूपमा व्याख्या गरिएको छ । कुनै लोभ र आशक्तिबिनाको कर्मले नै चित्त शुद्ध गराउँछ र कर्मबाट च्यूत भएको मानिस सधैँ लोभ, मोह, शोक, डरजस्ता कहिल्यै नसकिने दोष र क्लेसरुपी बन्धनबाट कहिल्यै मुक्त हुन सक्दैन भन्ने गीताको सन्देश बुद्धको सामूहिक हितमा गरिने विष्काम कर्म, त्याग, करुणामैत्रीजस्ता सङ्गठनहरूको अवलम्बन गरी आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्म गरेमा मात्र समाजमा व्याप्त अराजकता, भ्रष्टाचार र अनैतिकताको हार हुनसक्छ । यस्ता भाव मानिसमा नहुँदा नै आज समाज अराजक, भ्रष्टीकरण उन्मुख र नैतिक रूपमा क्षयीकरण हुँदै गएको छ ।
बुद्धको अष्टाङ्ग मार्ग अनि पञ्चशीलमा आधारित कर्मवाद बुझी आफ्नो कर्म र आचरणलाई सफा गर्न आवश्यक छ । यसरीमात्र हामीले श्रम र उत्पादनद्वारा समाजलाई जोड्न सकिन्छ । प्रकृतिले दिएको स्रोत–साधनलाई चराचरका सबै जीव र वनस्पति जगत्को सहअस्तित्वलाई दृष्टिगतका साथ विवेकपूर्ण र समुचित उपयोग गरी श्रममा जुट्नु नै बुद्धको कर्मवाद हो । बुद्धले श्रमलाई नै समृद्धिको मार्ग बताएका छन् । बुद्धको कर्मवादले वैज्ञानिक, भौतिकवादी र प्रगतिशील जीवन पद्दतितर्फ अगाडि बढाउँछ । समृद्धि र सुखको बाटो यही हो ।
बुद्धको कर्मवादबाट हेर्दा समाजवादमात्र होइन, साम्यवाद पनि नजिकै देखिन्छ । बुद्धको समता मार्ग एउटा त्यस्तो बाटो हो, जसमा सबै सामाजिक भेदवाद र उँच–निच मेटिन्छन् र सबै जाति, भाषा, धर्म, लिङ्ग र आर्थिक अवस्थाका मानिसहरूमात्र होइन, सबै वर्ग समुदाय एउटै स्तरमा खडा हुन्छन् र समान हैसियतमा रहन्छन् । बुद्ध दर्शनको यस्तो कर्मवाद संसारको नैतिक व्यवस्थाको शाश्वत र सार्वसौम नियमको आधार बन्नसक्छ । बुद्धको कर्मवादले हामी सबैलाई सत्मार्गको बाटो देखाउँछ । यसले लोभ र स्वार्थबाट माथि उठेर सबैलाई पवित्र भावनाले मुलुक र मुलुकवासीको हितलाई मात्र ध्यानमा राखेर सबैलाई आफ्नो कार्यसम्पादन गर्न प्रेरणा दिन्छ ।
(लेखक कर्मवादका अभियन्ता हुनुहुन्छ)
काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ८ दशमलव ७८ अंकले उकालो लाग्दै २ हजार ७१२ दशमलव ८६ बिन्दुमा पुगेर बन्द भएको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज ७७ लाख ३४ हजार १२ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो । सोमबार भने ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो ।
बजारमा आज ३३५ कम्पनीको कारोबार हुँदा १६२ को शेयर मूल्य बढ्यो भने ९० कम्पनीको घट्यो । यस्तै १६ कम्पनी स्थिर रह्यो ।
उपसमूहतर्फ केही समूहमा सुधार देखिए पनि अधिकांशमा गिरावट आएको छ । आज हाइड्रोपावर १ दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ४४, बैंकिङ शून्य दशमलव ४३, लगानी शून्य दशमलव १८, अन्य शून्य दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।
आज व्यापार शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ५२, विकास बैंक शून्य ४८, लगानी शून्य दशमलव ४२, माइक्रोफाइनान्स शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ४, होटेल तथा पर्यटन शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ०२ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावर ११ दशमलव १६, सोलु हाइड्रोपावर ७ दशमलव ५६, धौलागिरी लघुवित्त ७ दशमलव ०४, झापा इनर्जी ४ दशमलव ८ र एनआईसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य ४ दशमलव ६२ प्रतिशतले बढेको छ ।
यसदिन फर्वाड माइक्रोफाइनान्स लघुवित्त ९ दशमलव ३१, सुपर खुदी हाइड्रोपावर ३ दशमलव १३, रावा इनर्जी डेभलपमेन्ट ३, एनआईसी एशिया ग्रोथ फण्ड २ दशमलव ८२ र हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य २ दशमलव ७१ प्रतिशतले घटेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय गरिएको छ ।
सरकारले सिफारिस गरेका ८ वटा अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि प्रधानमन्त्री शाहले सो बैठक बोलाएका हुन् । यसअघि हिजो पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
आजको बैठकले आगामी संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ मध्ये ७ वटा अध्यादेश जारी गरिसकेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रारम्भमा पुनर्विचारका लागि फिर्ता गरेका थिए । पछि मन्त्रिपरिषद्को पुनः सिफारिसपछि सो अध्यादेश पनि आज जारी गरिएको हो ।
बालेन शाह नेतृत्वको सरकारले ल्याएका ८ वटा अध्यादेशमध्ये संवैधानिक परिषद् अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारी (पहिलो संशोधन) अध्यादेश रहेका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश औपचारिक रूपमा जारी गरेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार (वैशाख २२) सरकारको सिफारिसपछि उक्त अध्यादेश जारी गरिएको हो ।
यसअघि राष्ट्रपति पौडेलले सोही अध्यादेशमा पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए । तर सरकारले कुनै संशोधन नगरी पुरानै स्वरूपमा पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको बताइएको छ ।
पुनर्विचारका लागि अध्यादेश फर्काइएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपतिको कार्यालयमा लिखित जवाफसमेत पेश गरेका थिए । यसबीच राष्ट्रपतिले अध्यादेश जारी गर्ने निर्णयअघि कानुनविद्हरूसँग समेत परामर्श गरेको स्रोतले जनाएको छ ।
काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटार निवासी जोशीलाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएपछि नियन्त्रणमा लिइएको हो ।
स्मार्ट टेलिकम प्रालिले २०७० साल वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो । तर, कम्पनीले समयमै अनुमतिपत्र नवीकरण नगरेपछि २०८० साल वैशाख ३ गतेदेखि उक्त लाइसेन्स स्वतः खारेज भएको थियो ।
लाइसेन्स खारेज भएपछि प्राधिकरणले लागू नियमअनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार तथा सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो । यसैक्रममा सरकारी सम्पत्तिमा हानि पु¥याउने तथा गैरकानुनी लाभ लिन खोजेको आशंकामा जोशीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा ३८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ । महासंकका अनुसार आज चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हाल जारी गरिएको अध्यादेशहरूको बचाउ गर्दै ती निर्णयहरू देशमा मौलाउँदै गएको विकृति अन्त्य गर्न अपरिहार्य भएको बताएका छन् । उनले अध्यादेशलाई कुनै दलविरुद्धको कदम नभई समग्र प्रणालीलाई जोगाउने र भविष्य सुरक्षित गर्ने प्रयासका रूपमा व्याख्या गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले देशलाई दलगत प्रभावबाट मुक्त गरी संस्थागत मार्गमा लैजाने उद्देश्यसहित यो कदम चालिएको उल्लेख गरेका छन् । उनका अनुसार शिक्षण संस्था र कर्मचारीतन्त्रमा देखिएको दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेश प्रभावकारी माध्यम बन्नेछ ।
उनले लामो समयदेखि विभिन्न क्षेत्रबाट उठ्दै आएको गुनासोलाई उद्धृत गर्दै विद्यार्थी र कर्मचारीतन्त्रमा पार्टीकरणले नकारात्मक असर पारेको बताए । ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगा¥यो,’ उनले लेखेका छन्, ‘वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’
प्रधानमन्त्री शाहले चाहेको खण्डमा नयाँ विद्यार्थी तथा कर्मचारी संगठन खडा गर्न सकिने भए पनि त्यसले समस्या समाधान नगर्ने स्पष्ट पारे । विगतका अनुभवले थप संगठन निर्माणले शिक्षाको गुणस्तर र कर्मचारीको सम्मान नजोगाउने उनको भनाइ छ ।
यसै सन्दर्भमा उनले अब शिक्षालयमा दलगत झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिनुपर्ने आवश्यकता औंल्याएका छन्। यस कदमले अधिकार कटौती नगरी बरु पेशागत स्वतन्त्रता मजबुत बनाउने उनको दाबी छ । साथै नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, योग्यता, क्षमता र विधिलाई आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री शाहले विद्यार्थीले अनुशासित र जिम्मेवार राजनीति सिक्नुपर्ने र कर्मचारीले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने धारणा पनि राखेका छन् । उनले यो कदमलाई प्रणाली सुधारतर्फको आवश्यक पहलका रूपमा चित्रित गरेका छन् ।
उनले सरकार जनताको अपेक्षाअनुसार नै अघि बढिरहेको उल्लेख गर्दै परिवर्तनका लागि सबैको साथ र विश्वास आवश्यक रहेको बताए ।
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आगामी जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी शेयर बिक्री खुला गर्न लागिएको हो ।
कम्पनीलाई जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो । सोमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको छ । साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको शेयरसमेत बाँडफाँट भइसकेको छ ।
अब बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओ छिटोमा जेठ १३ गते बन्द हुनेछ भने मागअनुसार ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ । कम्पनीको वित्तीय अवस्थालाई मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।





