
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४६ बिन्दुमा कायम भएको हो ।
दिनभर भएको कारोबारमा १ करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज बजारमा ३० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ३५१ धितोपत्र कारोबारमा आएका थिए ।
उपसूचकतर्फ हेर्दा १३ समूहमध्ये १० समूह घटेका छन् भने ३ समूह मात्र वृद्धि भएका छन् ।
बढ्ने समूहहरूमा व्यापार १ दशमलव ०९, विकास बैंक शून्य दशमलव १४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
आज उत्पादन तथा प्रशोधन २ दशमलव २४, होटेल तथा पर्यटन १ दशमलव ६४, हाइड्रोपावर १ दशमलव ४५, निर्जीवन बीमा १ दशमलव ११, अन्य शून्य दशमलव ९२, जीवन बीमा शून्य दशमलव ८४, बैंकिङ शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६६, फाइनान्स शून्य दशमलव ६४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक १३ दशमलव ८१, नेपाल लाइफ समृद्धि लगानी योजना ३ र एनआईसी एशिया ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ९५ प्रतिशतले बढेको छ ।
यस्तै शिखर पावर डेभलपमेन्ट ९ दशमलव ९२, पाल्पा सिमेन्ट ७ दशमलव ७९, त्रिशूली जल विद्युत् ६ शदमलव ९८ र झापा इनर्जी शेयर मूल्य ५ दशमलव ८३ प्रतिशतले घटेको छ ।
काठमाडौं महानगरपालिका र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । यस कार्यक्रममार्फत स्वरोजगार प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतापत्रमा कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल र काठमाडौं महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले हस्ताक्षर गरेका हुन् । कार्यक्रम हस्ताक्षरका क्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र सामाजिक समितिका संयोजक रामकुमार के.सी. लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमअनुसार दुवै पक्षले २–२ करोड रुपैयाँको लगानीमा छुट्टै कोष स्थापना गरिनेछ । उक्त कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत काठमाडौंवासीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिनेछ । संकलित रकम पाँच वर्षपछि महानगरपालिकालाई फिर्ता गर्ने व्यवस्था रहेको छ ।
कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेलले काठमाडौंमा स्वरोजगार बन्न चाहनेहरूलाई पुँजी अभाव र महँगो ब्याजदर प्रमुख चुनौती बनेको बताए । उनले यो सहकार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्मानजनक उद्यम, स्वरोजगार र रोजगारी सिर्जनालाई लक्षित गर्दै सहुलियत ऋण कार्यक्रम अघि बढाइएको बताइन् । उनका अनुसार समयमै ऋण फिर्ता गर्ने असल ऋणीलाई ६० प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध हुनेछ । सुरुमा ८ प्रतिशत ब्याज लाग्ने भए पनि अन्त्यमा प्रभावकारी ब्याजदर ३.२ प्रतिशतसम्म झर्नेछ ।
सामाजिक समितिका संयोजक रामकुमार के.सी.का अनुसार उद्यम विकास तालिम लिएका व्यक्तिलाई स्वरोजगार क्षेत्रमा लगानी गर्न सहज बनाइनेछ।
कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई अधिकतम १ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थालाई अधिकतम ५ करोड रुपैयाँसम्म थोक कर्जा उपलब्ध गराइनेछ । स्वीकृत कर्जा २ हप्ताभित्र सम्बन्धित ऋणीसम्म पु¥याउनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, विदेशबाट फर्किएका तथा तालिम प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ । व्यक्तिगत रूपमा अधिकतम ५ लाख र समूहगत रूपमा १५ जनासम्मको समूहलाई ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ ।
कर्जा लगानीका क्षेत्रहरूमा कृषि तथा एग्रो व्यवसाय, पुष्प तथा नर्सरी, फोहोर व्यवस्थापन, हरित अर्थतन्त्र, सूचना प्रविधि, इलेक्ट्रिकल तथा प्लम्बिङ सेवा, साना तथा घरेलु उद्योग, स्वास्थ्य सेवा, मर्मत तथा प्राविधिक सीप, खुद्रा व्यापार, होमस्टे तथा परम्परागत सीपमा आधारित व्यवसाय लगायत समावेश छन् ।
महानगरपालिकाले यो कार्यक्रमले स्थानीय सीप, स्रोत र श्रममा आधारित उद्यम विकासलाई विस्तार गर्ने अपेक्षा गरेको छ ।
काठमाडौं । नेपाली बजारमा बुधबार (वैशाख १६) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आजदेखि तीव्र हावाहुरीको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाका अनुसार आज अपराह्नदेखि भोलि बिहानसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।
विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा बागमतीका नवलपुर र चितवन, मधेसका बारा, पर्सा र धनुषा तथा कोशीका झापा र मोरङ जिल्लामा बढी प्रभाव पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जारी बुलेटिनअनुसार हावाहुरी बुधबार अपराह्न ४ बजेदेखि सुरु भई बिहीबार बिहान ६ः४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ । यस प्रणालीको प्रभाव देशका धेरै स्थानमा देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको छ ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो ।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसअनुसार ७ लाख कित्ता स्थानीय प्रभावित क्षेत्रका बासिन्दाका लागि, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।
अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । आवेदन अवधि छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म रहनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।





