
काठमाडौं । सरकारले भन्सारसम्बन्धी नयाँ नियमावलीलाई स्वीकृति दिएको छ । सोमबार वैशाख १४ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भन्सार नियमावली, २०८३ पारित गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले उक्त नियमावली लागू गर्ने प्रक्रिया अघि बढाएको छ ।
बैठकले सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक गतिविधि सञ्चालन गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ । यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी पनि सरकारले दिएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले उकालो लागेको छ । आज नेप्से ७ दशमलव ७३ अंकले बढेर २ हजार ७९६ दशमलव ४३ बिन्दुमा पुगेर बन्द भएको हो ।
आजको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
कारोबार भएका ३५१ धितोपत्रमध्ये १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । यस्तै १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
सोमबार विभिन्न उपसूचक मिश्रित देखिएका छन् । यसदिन उत्पादन तथा प्रशोधन १ दशमलव ५२, विकास बैंक १ दशमलव १४, होटेल तथा पर्यटन शून्य दशमलव ९७, बैंकिङ शून्य दशमलव ६८, फाइनान्स शून्य दशमलव ४४, माइक्रोफाइनान्स शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव १५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।
यसैगरी व्यापार १ दशमलव ३९, अन्य शून्य दशमलव ४४, लगानी शून्य दशमलव २८, हाइड्रोपावर शून्य दशमलव १९ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पाल्पा सिमेन्ट, कर्पोरेट डेभलवमेन्ट बैंक, शिखर पावर डेभलवमेन्ट र सिटी होटल रहेका छन् । यस्तै झापा इनर्जीको शेयर मूल्य ९१ दशमलव ४४ प्रतिशतले बढेको छ ।
यसदिन माइ खोला हाइड्रोपावर १० दशमलव ०१, सुपर खुदी हाइड्रोपावर ४ दशमलव ८ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ३ दशमलव ९८ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय गरिएको छ ।
बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ । बैठकमा विभिन्न समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज उकालो लागेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि वैशाख २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
त्यसैगरी, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष तथा १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यस आईपीओको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म तोकिएको छ ।
कम्पनीको आईपीओका लागि गरिएको रेटिङमा ICRA Nepal ले स्नो रिभर्स लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।





