
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल भदौमा गरेको निर्णय वर्तमान सरकारले उल्टाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको हो ।
यसअघि २०७५ भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने तयारी गरिएको थियो ।
तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानो निर्णय खारेज गर्दै उक्त जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै उपयोगमा रहने निर्णय गरेको जनाएको छ । निर्णयमा महाराजगञ्जस्थित सम्पूर्ण जग्गा अब पुनः प्रहरी प्रशिक्षण प्रयोजनमै प्रयोग गरिने उल्लेख गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एशिएन डेभलपमेन्ट विकासबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता टुंग्याउन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर दुई हजार ७८७ दशमलव १५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।
कारोबारमा आएका ३४८ धितोपत्रमध्ये ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
उपसूचकतर्फ १३ समूह मध्ये १० समूह घट्दा ३ समूहमा मात्र हरियाली देखिएको छ ।
आज व्यापार शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६ र म्युचुअल फण्डको शून्य दशमलव १३ र लगानी समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन १ दशमलव ४२, निर्जीवन बीमा १ दशमलव १९, फाइनान्स १ दशमलव ०६, हाइड्रोपावर १ दशमलव ०५, अन्य शून्य दशमलव ८६, विकास बैंक शून्य दशमलव ७७, माइक्रोफाइनान्स शून्य दशमलव ५३, लगानी शून्य दशमलव ५३, जीवन बीमा शून्य दशमलव ४३, विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट रहेका छन् । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव २४, मुक्तिनाथ म्युचुअल फण्ड ५ दशमलव २४ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
यसदिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ११ दशमलव ७९, खुदी हाइड्रोपावर ७ दशमलव १७, गणपति लघुवित्त ६ दशमलव ३८ र रिज लाइन इनर्जीको शेयर मूल्य ५ दशमलव ७७ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबारको तुलनामा आज प्रतितोला ११० रुपैयाँ घटेर चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण फेरि बढ्दै गएको छ । वातावरण विभागका अनुसार बिहीबार बिहान साढे ९ बजेको मापनमा काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ । हाल काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ ।
अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था IQAir का अनुसार अहिले प्रदूषणको सूचीमा पाकिस्तानको Lahore पहिलो स्थानमा रहेको छ, जहाँ एक्यूआई २६१ मापन गरिएको छ । विश्व स्वास्थ्य संगठन World Health Organization (डब्ल्यूएचओ) को मापदण्डअनुसार यी दुवै सहरको वायु गुणस्तर ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छ ।
डब्ल्यूएचओका अनुसार १०१ देखि १५० एक्यूआईसम्मको वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर मानिन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका लागि हानिकारक हुन्छ भने २०१ देखि ३०० सम्म पुगेको वायु ‘अति अस्वस्थकर’ मानिन्छ । त्योभन्दा माथिको स्तरलाई अझ खतरनाक अवस्था मानिन्छ ।
वातावरण विभागका अनुसार दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क र शंखपार्क, साथै सुर्खेतलगायत क्षेत्रको वायु गुणस्तर पनि कमजोर अवस्थामा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणले मुटु, फोक्सो, रक्तनली, आँखा, मिर्गौला तथा क्यान्सरजस्ता रोगको जोखिम बढाउन सक्ने जनाएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, खोकी वा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका व्यक्तिलाई यसको असर बढी पर्ने बताइएको छ ।
प्रदूषण बढेका बेला बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन, अत्यावश्यक अवस्थामा मास्क प्रयोग गर्न र स्वास्थ्य सुरक्षामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।






