२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ९ महिनामा १७ खर्ब बढिको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गत साउन देखि चैत मसान्तसम्ममा १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १४ दशमलव ४० प्रतिशत बढी हो । २०८२ को ९ महिनामा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको व्यापार भएको थियो ।

गत चैतसम्ममा निर्यात १८ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको भएको छ ।

यसैगरी आवको ९ महिनमा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ८२ प्रतिशत धेरै हो । सो आवको चैतसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको भित्रिएको थियो ।

यद्यपि निर्यात बढे पनि आयातको चापका कारण व्यापार घाटा भने अझै ठूलो छ । चालू आवको साउनमा नेपाललाई १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री पदमा उकास्ने तयारी गरेको छ ।

पार्टी स्रोतका अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको हो ।

भूपदेव शाह प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का निकट सहयोगी मानिन्छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने उनी अछाम–२ बाट पराजित भएका थिए ।

यसअघि बालेन र रास्वपाबीच सहकार्य भएपछि भूपदेव शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । “आज बस्ने बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी छ, बैठक केहीबेरमै सुरु हुने क्रममा छ,” पार्टी स्रोतले जानकारी दिएको छ ।

यसैबीच, भूपदेव शाह रास्वपाको केन्द्रीय कार्यालय चःमती पुगिसकेका छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको एक महिना नबित्दै मन्त्रिपरिषद्का सदस्यहरू विवादमा तानिन थालेका छन् । पत्नीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाएको विषयमा आलोचना खेपेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साह पदमुक्त भइसकेका छन् भने अहिले गृहमन्त्री सुधन गुरुङमाथि नयाँ विवाद उब्जिएको हो ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट झन्डै दुईतिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन चैत १३ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले सरकार गठनसँगै गृहमन्त्रीमा गुरुङ, श्रममन्त्रीमा साह र स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई जिम्मेवारी दिएका थिए ।

रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा मन्त्री बनेका साहलाई पद सम्हालेको १४ दिनमै हटाइएको थियो । साह प्रकरणमा स्वास्थ्यमन्त्री मेहताको भूमिकामाथि पनि प्रश्न उठेपछि प्रधानमन्त्रीले उनलाई सचेत गराएका थिए ।

यसैबीच, गृहमन्त्री गुरुङको नाम विवादित व्यवसायी दीपक भट्टसँग जोडिएपछि आलोचना चुलिएको छ । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको २५ लाख रुपैयाँ बराबरको लगानी रहेको विवरण सार्वजनिक भएपछि विवाद बढेको हो ।

हाल भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा छन् । गृहमन्त्री गुरुङले भने सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरिसकेका छन् ।

उता, गृहमन्त्रीमाथिको आरोपबारे रास्वपाले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । आइतबार (वैशाख ६) बसेको सचिवालय बैठकपछि गुरुङ पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विवादबारे जानकारी गराएका थिए । पार्टी स्रोतका अनुसार हालसम्म यस विषयमा कुनै ठोस निर्णय लिइएको छैन ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव १७ अंकले घटेर २ हजार ८२५ दशमलव २३ विन्दुमा झरेको हो ।

आज बजारमा १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६५ धितोपत्रको शेयर मूल्य बढ्दा १९७ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार उपसूचकतर्फ अधिकांश क्षेत्रमा दबाब देखिएको छ । १३ समूहको उपसूचकमध्ये २ को बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।

यसदिन होटेल तथा पर्यटन १ दशमलव ०१ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।

यसैगरी बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन समूहको समान शून्य दशमलव ८४, जीवन बीमा शून्य दशमलव ६२, माइक्रोफाइनान्स शून्य दशमलव ४९, हाइड्रोपावर शून्य दशमलव २३, विकास बैंक शून्य दशमलव १६, निर्जीवन बीमा शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव ०८, फाइनान्स शून्य दशमलव ७ र अन्य समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलवमेन्ट र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् । यस्तै झापा इनर्जीको शेयर मूल्य ११ दशमलव ८८ प्रतिशतले बढेको छ ।

यसदिन डोल्टी पावर कम्पनी ५ दशमलव ३५, एनआईसी एशिया ग्रोथ फण्ड (२) ५ दशमलव ०३, एशिया हाइड्रोपावर ४ दशमलव ५, नेशनल हाइड्रोपावर ३ दशमलव ९२ र रिलाइन्स स्पीनिङ मिल्सको शेयर मूल्य ३ दशमलव ६६ प्रतिशतले ह्रास आएको छ ।

भक्तपुर । भक्तपुरको सूर्यविनायक क्षेत्रबाट एक १६ वर्षीय किशोर हराएका छन्। हराउनेमा दोलखाको शैलुङ गाउँपालिका–८, ढाडे स्थायी घर भएका समीर बस्नेत रहेका हुन्।

परिवारका अनुसार वैशाख ४ गते सूर्यविनायकबाट उनी अचानक सम्पर्कविहीन भएका हुन्। उनका बुबा ज्ञानबहादुर बस्नेत र आमा उमा बस्नेतले छोराको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।

समीरको हालसम्म कुनै पत्ता नलागेकाले उनलाई देख्ने, भेट्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ९८४१६७४००४, ९८४९८२८७६२, ९८६०२९४८६४ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको कम्पनीमा प्रत्यक्ष लगानी रहेको खुलासा भएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजनीतिक दबाब तीव्र बनेको छ। सोही दबाबका बीच उनी आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।

भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएसँगै उनीमाथि नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्नुपर्ने आवाज सत्तारूढ दलभित्रै उठ्न थालेको हो। अनुसन्धानको दायरामा रहेको कम्पनीसँग मन्त्रीकै प्रत्यक्ष सम्बन्ध देखिएपछि छानबिन प्रभावित हुन सक्ने आशंका व्यक्त गरिएको छ।

दबाब बढ्दै जाँदा गुरुङ बेलुकी ८ बजेपछि लामिछाने निवास पुगेका थिए र करिब १० बजेतिर बाहिरिएको सुरक्षास्रोतले जनाएको छ। भेटका क्रममा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच टेलिफोन संवाद गराउँदै स्थिति सहज बनाउने प्रयास गरेको रास्वपा स्रोतले बताएको छ।

यद्यपि, सभापति लामिछानेले यस विषयमा सोमबार बस्ने पार्टी बैठकमै औपचारिक रूपमा छलफल गर्नुपर्ने धारणा राखेको जनाइएको छ।

काठमाडौँ । सरकारी कर्मचारीहरूको तलबभत्ता वितरण प्रणालीमा सरकारले परिवर्तन गरेको छ। अबदेखि कर्मचारीहरूले आफ्नो तलब अर्धमासिक रूपमा पाउने भएका छन्।

अर्थ मन्त्रालयले गत शुक्रबार महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो। यसअघि भने राष्ट्रसेवक कर्मचारीहरूलाई तलबभत्ता मासिक रूपमा, महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी हुँदै आएको थियो।

कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ। यस व्यवस्था अनुसार अब महिनामा दुई पटक तलब उपलब्ध गराइनेछ।

अर्थमन्त्रीस्तरीय निर्णयबाट लागू गरिएको उक्त व्यवस्थाबारे मन्त्रालयका सहसचिव डा. सुमन दाहालले पुष्टि गरेका छन्।

673909828_1616540009554841_3941374996166269985_n

 
 

काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेशनको आठौं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । वैशाख २ गते आयोजित विशेष समारोहमा सञ्चार तथा साहित्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

फाउन्डेशनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव दामोदर ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष सुशीला ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेशनका संरक्षक–सल्लाहकार चन्द्रा न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । यस अवसरमा सुसेली सम्राट बेदप्रसाद गौडेलले सुसेली भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डटकमका संस्थापक प्रधान सम्पादक, पत्रकारिता विषयका सहायक प्राध्यापक तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारीलाई ‘विनोद–सुधा सुसेली सम्मान’ द्वारा सम्मानित गरियो । बिडारीले सुसेली विधासम्बन्धी समाचार तथा गतिविधिहरूलाई निरन्तर आफ्नो माध्यममार्फत प्रकाशन गर्नुका साथै यसको व्याख्या, खोज तथा ऐतिहासिक पहिचानबारे परिचर्चा गर्दै लोकप्रियता वृद्धि गर्न योगदान पु¥याएको उल्लेख गरिएको छ ।

कार्यक्रममा बिडारीसँगै सञ्चारकर्मी तथा नोवेल साकोस साहित्यिक संस्थाका संस्थापक अध्यक्ष राजन न्यौपाने, संगीतकार विष्णु गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी व्यङ्ग्य कवि बासुदेव गुरागाईं ‘पिँडालु पण्डित’, प्राज्ञ डा. कौशिला रिसाल, साहित्यकार सजय सोती, वरिष्ठ साहित्यकार गंगा कार्मचाय पौडेल, मदनराज थापा, डिल्लीप्रसाद मूलतीहुन, रामशरण न्यौपाने, तिलक भट्टराई ‘कल्पित’, माधव रिजाल, लक्ष्मीप्रसाद मिश्र, लव जोशी, ललिता दोषी, इन्जिनियर बेदप्रसाद गौडेल, दीर्घबहादुर चन्द, संगिता खरेल, पाल्पा स्थित परेवा पत्रिकाका सम्पादक भोजराज भट्टराई, बुद्धिमान दनुवार, संगिता केसी लगायत २२ जना सम्मानित भएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, संस्थाका सल्लाहकार सहप्राध्यापक डा. शैलेन्दु प्रकाश नेपाल, संस्थाका सल्लाहकार बमबहादुर थापा जिताली, साहित्यकार कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी, विष्णु पन्त, प्रा.डा. गोविन्दमान सिंह, थरेन्द्र बराल, कपन–वानेश्वर साहित्यिक पत्रिकाका निवन्ध आचार्य लगायतको सहभागिता रहेको थियो ।

यसैगरी संस्थाका कोषसंस्थापकहरू तेजप्रकाश बानियाँ, रामप्रसाद अधिकारी, सुचिता काफ्ले, डा. शेषरमण न्यौपाने, केशव ढकाल, विमला ढकाल, बमबहादुर रायमाझी, जानुका थापा रायमाझी, मुरलीप्रसाद ढकाल, सरस्वती ढकाल, कृष्ण केसी, गुनु केसी, पुनम घिमिरे, ध्रुवराज घिमिरे, सुवास आचार्य, शारदा आचार्य, बिनोद ढकाल, सुधा बास्कोटा ढकाल, बलराम ओझा, सरला ओझा लगायतको पनि सहभागिता थियो ।

कार्यक्रममा कवि, साहित्यकार तथा संगीतकार–गायकहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले सुसेली गायनका साथै नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए । कार्यक्रममा विशिष्ट अतिथि चन्द्रा न्यौपानेले संस्थालाई शुभकामना दिँदै सम्मानित व्यक्तित्वहरूको योगदानबारे चर्चा गर्नुभयो। यस्तै सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपालले फाउन्डेशनको कार्यको खुलेर प्रंशंसा गरिन् ।

सुसेली उपविधाका प्रवर्तक एवं संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’को सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्त्यमा उनले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे

कार्यक्रममा सम्मानित व्यक्तिहरूका तर्फबाट वरिष्ठ पत्रकार शन्तराम बिडारी र प्राज्ञ डा. कौशिला रिसालले मन्तव्य राख्दै फाउन्डेशनको आगामी यात्रा अझ सफल हुने विश्वास व्यक्त गरे । उनीहरूले नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनमा फाउन्डेशनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

संस्थाकी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार सुशीला ढकाल अधिकारीले मौलिक साहित्यको संरक्षणमा जोड दिँदै विदेशी संस्कृतिको प्रभावभन्दा आफ्नै परम्परागत साहित्यको जगेर्ना आवश्यक रहेको धारणा राखिन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।