२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । मन्त्रिपरिषद्ले २०६२/०६३ पछिको सम्पत्ति विवरण छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पाँच सदस्यीय छानबिन आयोग बनाएको हो ।

आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नियुक्त भएका छन् । सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायव महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् ।

सरकारले आयोगमार्फत निर्दिष्ट अवधिको सम्पत्ति विवरणको छानबिन गरी आवश्यक प्रतिवेदन पेश गर्ने अपेक्षा गरेको छ ।

काठमाडौं । सरकारले नागरिक एपलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय पञ्जीकरणसम्बन्धी सेवाहरू एकीकृत गर्ने प्रक्रिया अगाडि बढाएको छ । सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म, विवाह तथा सम्बन्धबिच्छेद दर्तालगायतका विवरणलाई एउटै प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु भइसकेको छ ।

उनले छिट्टै कार्यान्वयनमा ल्याउने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिँदै एकीकरण सम्पन्न भएपछि यी सेवासम्बन्धी प्रमाणपत्रहरू पनि नागरिक एपमार्फत प्राप्त गर्न सकिने बताए ।

डिजिटल सुशासनलाई सुदृढ बनाउने सरकारको योजनाअनुसार पछिल्लो समय विभिन्न सार्वजनिक सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने अभियान तीव्र बनाइएको छ । यसै क्रममा निजामती कर्मचारीका व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ पनि नागरिक एपबाटै उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा इन्जिनियरिङ पेशासम्बन्धी प्रमाणपत्रसमेत एपमार्फत उपलब्ध गराउने तयारी भइरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र थप सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा सुधारको कामलाई तीव्रता दिएको जनाएको छ ।

सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ मा समेत समेटिएको यस पहलले सार्वजनिक सेवामा पारदर्शिता र पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । हाल भने नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सेवा सञ्चालनमा आइसकेको छ ।

नयाँ सेवाहरू थपिँदै जाँदा नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य अझ मजबुत हुने विश्वास गरिएको छ । साथै, यसले सेवाग्राहीलाई समय र लागत बचतसँगै झन्झट कम गर्दै सेवा प्रवाहलाई थप आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले पवित्र रमजानको अवसर पारेर १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यस कदमप्रति नेपाल सरकारले धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा रमजानको शुभ अवसरमा नेपाली नागरिकहरूलाई माफी दिएकोमा यूएई सरकारप्रति हार्दिक आभार प्रकट गरिएको उल्लेख छ । साथै, यूएईले मानवीय आधारमा लिएको उक्त निर्णयलाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासमार्फत गरिएको पहल र अनुरोधपछि यूएई सरकारले १२८ नेपाली कैदीलाई आममाफी दिएको हो ।

प्युठानमा अवैध शिकार खेल्ने क्रममा चलाइएको गोली लागेर एक किशोरको ज्यान गएको छ भने एक किशोरी घाइते भएकी छन् । प्रहरीका अनुसार शिकारीहरूले उनीहरूलाई जंगली जनावर ठानेर गोली चलाएका थिए ।

घटना गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति भएको हो । जंगलमा लागेको गोलीबाट नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल लगिएको भए पनि चैत ३० गते उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी पनि घाइते भएकी छन् । उनको अवस्था भने अहिले खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीका अनुसार सो राति गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न जंगल पुगेका थिए । राति करिब १०ः४५ बजे झाडी हल्लिएको र प्लास्टिक बजेको आवाज आएपछि जंगली जनावर भएको आशंकामा केसीले भरुवा बन्दुकबाट गोली चलाएका थिए । पछि घटनास्थलमा पुग्दा उनीहरूले किशोर र किशोरीलाई घाइते अवस्थामा फेला पारेका थिए ।

प्रारम्भिक अनुसन्धानले मृतक परियार आफ्ना साथी सन्जु परियारसँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त जंगल पुगेको र उनले फोनमार्फत किशोरीलाई भेट्न बोलाएको खुलेको छ । दुवै जना सँगै रहेका बेला गोली लागेको थियो ।

घटनामा संलग्न मुख्य आरोपी वीरेन्द्र केसीलाई प्रहरीले चैत ३० गते पक्राउ गरेको छ । उनीसँगै रहेका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि नियन्त्रणमा लिइएको छ। घटनामा प्रयोग भएका दुई थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ ।

मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यानसम्बन्धी तथा हातहतियारसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गस्थित एक व्यवसायीलाई कारबाही गरेको छ । वडा नं. १ अन्तर्गत पर्ने उक्त क्षेत्रमा रहेको पसलबाट म्याट हल्लाएर पेटीमा धुलो झारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महानगर सक्रिय भएको हो ।

उक्त घटनासँग सम्बन्धित पसलका सञ्चालक पङ्कज कुमारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ । महानगरका अनुसार सरसफाइ सम्बन्धी मापदण्ड उल्लंघन गरेको ठहर गर्दै प्रशासनिक दण्डअन्तर्गत कारबाही गरिएको हो ।

काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित कुँवरले बुधबार (वैशाख २) सभामुखलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

उनले दिएको पत्रमा वैशाख २ गतेदेखि नै लागू हुने गरी पद त्याग गरेको उल्लेख गरे । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित भएका कुँवरले आफूले सोही मितिदेखि सदस्य पद त्यागेको स्पष्ट पारेका छन् ।

कुँवर मन्त्री बन्ने अपेक्षामा रहे पनि मन्त्रिपरिषद् विस्तारमा समावेश नभएपछि उनले सांसद पदबाटै बाहिरिने निर्णय गरेको बुझिएको छ ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका गरी आठ जना मन्त्री थपिएका छन् ।

ata-1776237907.jpg

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति सेवा सुचारु गरेको छ ।

वैदेशिक रोजगार विभागले बुधबार (वैशाख २) जारी गरेको विज्ञप्तिअनुसार गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयपछि उक्त चार देशका लागि पुनः श्रम स्वीकृति प्रक्रिया पुनः सञ्चालन गरिएको हो ।

यसअघि अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किएपछि सरकारले २०८२ फागुन १७ गते मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो ।

त्यसपछि क्रमशः साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने निर्णय सरकारले गरिसकेको छ ।

अब अन्तिम चरणमा बाँकी रहेका इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि सेवा सुचारु गरिएको विभागले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।