
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । नेप्से आज १३ दशमलव ४६ अंकले घटेर २ हाजर ८३७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।
आज २ करोड १० लाख ८७ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बजारमा ५६ वटा धितोपत्रको मूल्य बढ्दा २०९ वटा घटेका छन् भने ३ वटाको मूल्य स्थिर रहेको छ । आज कुल ३३५ धितोपत्र कारोबारमा सहभागी भए ।
उपसूचकतर्फ १३ समूहमध्ये ११ समूह घटेका छन् भने २ समूह मात्रै बढेका छन् । आज उत्पादन तथा प्रशोधन १ दशमलव ५९ र हाइड्रोपाव समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।
यस्तै अन्य १ दशमलव ३९, लगानी १ दशमलव १२, व्यापार १ दशमलव ०६, बैंकिङ शून्य दशमलव ७४, माइक्रोफाइनान्स शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ६७, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव ४४ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।
आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्री, सिखर पावर डेभलपमेन्ट, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसैगरी एनआईसी एशिया ब्यालेन्स ४ दशमलव १७, एनआईबीएल ग्रोथ फण्ड ४ दशमलव १७, माइ खोला हाइड्रोपावर ४ दशमलव ०४, माउण्टेन हाइड्रो नेपाल २ दशमलव ९८ र माबुलिङ इनर्जीको शेयर मूल्य २ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा गौरी कुमारीलाई नियुक्त गरिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व रामजी यादवलाई दिइएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले शुक्रबार (चैत २७) उनीहरूको नियुक्ति भएको जानकारी दिएको हो ।
नियुक्त भएका दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
गौरी कुमारी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी यादव सप्तरी–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । त्यस्तै, बिहीबार (चैत २६) दीपककुमार साहलाई पदबाट हटाइएपछि श्रम मन्त्रालय मन्त्रीविहीन बनेको थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता संचित भएपछि नेपाल राष्ट्र बैंकले आज १२५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागिएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ ।
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी वैशाख २ गते गरिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकले निक्षेप सङ्कलनका लागि बहुब्याजदर प्रणालीमार्फत समेत बोलकबोल गर्न सकिने जनाएको छ ।
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (अप्रिल २०२६) अनुसार नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा सुस्त रहने प्रक्षेपण गरिएको छ ।
एडिबीका अनुसार वर्ष २०२६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडिपी) वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष २०२५ मा ४.६ प्रतिशत थियो ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले नागरिक अशान्ति, राजनीतिक अनिश्चितता तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण आर्थिक गतिविधि प्रभावित भई वृद्धि सुस्त रहने बताए । उनका अनुसार राजनीतिक स्थायित्व फर्किएमा अर्थतन्त्रमा सुधार आउने र लगानीकर्ताको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।
एडिबीले आगामी आर्थिक वर्ष २०२७ मा भने आर्थिक सुधार हुने संकेत गरेको छ । आन्तरिक मागमा वृद्धि, जलविद्युत् निर्यात र पर्यटन क्षेत्र सुदृढ हुने अपेक्षासँगै जीडिपी वृद्धिदर ५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
मुद्रास्फितितर्फ वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फिति दर ३.७ प्रतिशत रहने र आर्थिक गतिविधिमा सुधारसँगै २०२७ मा बढेर ४.५ प्रतिशत पुग्ने अनुमान छ ।
त्यसैगरी, मध्यपूर्वको द्वन्द्वले नेपालको बाह्य क्षेत्रलाई समेत प्रभावित पार्ने देखिएको छ । विप्रेषण आप्रवाह र निर्यात वृद्धिमा कमी आउन सक्ने भन्दै चालु आर्थिक वर्षमा चालु खाता बचत जीडिपीको ७.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ६.७ प्रतिशतभन्दा केही उच्च भए पनि दीर्घकालीन रूपमा दबाबमा पर्ने संकेत गरिएको छ । आगामी वर्ष २०२७ मा भने आयात खर्च बढ्ने, पर्यटन प्रभावित हुने तथा आप्रवासनमा अस्थायी अवरोधका कारण चालु खाता बचत घटेर ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्यमा बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन भने सुन २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको छ । हिजो चाँदी ४ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम दिउँसो ३ बजे उक्त संयुक्त बैठकलाई सम्बोधन गर्न लागिएको हो ।
सम्बोधन कार्यक्रमका लागि संसद्का दुवै सदनका सदस्यहरुलाई उपस्थित हुन आह्वान गरिएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः उल्लेख्य वृद्धि गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो ।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ थपिएको छ ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । सोही कारण नेपालमा पनि मूल्य समायोजन गर्न बाध्य भएको निगमको भनाइ छ
।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा कम नभएपछि मूल्य बढाउनु परेको निगमले स्पष्ट पारेको छ । निगमका अनुसार मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको आकस्मिक मूल्यवृद्धिका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन उपभोक्तालाई आग्रह गरेको छ ।







