
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकहरूमा राखिएको छ वा छैन भन्ने विषयमा अनुसन्धानका लागि सहयोग गर्न स्विट्जरल्यान्डसँग आग्रह गरेका छन् ।
नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको हो । सो भेटलाई नेपालस्थित स्वीस दूतावासले पनि पुष्टि गरेको छ ।
दूतावासका अनुसार राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल–स्विट्जरल्यान्ड कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने विषय मुख्य रूपमा उठाइएको थियो ।
त्यसैगरी, विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा समेत दुवै पक्षबीच छलफल भएको दूतावासले जानकारी दिएको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत खोजी प्रक्रिया अघि बढाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान गर्दै अदालतबाट पक्राउ पुर्जी लिएपछि यो प्रक्रिया सुरु गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलसँग समन्वय गरी देउवा दम्पतीको खोजीका लागि आवश्यक पहल थालिएको विभागले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरू हाल हङकङमा रहेको जानकारी अध्यागमन विभागबाट प्राप्त भएको छ । आरजु राणा देउवा फागुन १० मा भारत गएकी थिइन् भने शेरबहादुर देउवा फागुन १३ मा सिंगापुर गएका थिए ।
इन्टरपोलले विभिन्न प्रकारका नोटिस—जस्तै रेड, ब्लू, डिफ्युजन लगायत—जारी गर्ने व्यवस्था छ । प्रारम्भिक चरणमा आरोपीको अवस्थिति पत्ता लगाउन ‘डिफ्युजन नोटिस’ जारी गरिन्छ, तर यसका आधारमा तत्काल पक्राउ हुँदैन । यदि आरोपीको ठेगाना पुष्टि भएमा भने ‘रेड नोटिस’ जारी गरी अन्तर्राष्ट्रिय स्तरमै पक्राउ प्रक्रिया अघि बढाइन्छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सबै प्रक्रिया कानुनी दायराभित्र रहेर अगाडि बढाइँदैछ र प्रहरीसँग समन्वय जारी छ ।
यदि देउवा दम्पती नेपाल फर्किएनन् भने पहिलो चरणमा उनीहरूको पासपोर्ट रोक्का गरिनेछ, जसले उनीहरूको विदेश यात्रा अवैध बनाउनेछ । त्यसपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिनेछ ।
डिफ्युजन नोटिसपछि इन्टरपोलका सदस्य राष्ट्रहरूले सम्बन्धित व्यक्तिको अवस्थिति पत्ता लगाउन सहयोग गर्ने वा आवश्यक जानकारी उपलब्ध गराउनेछन् । हाल इन्टरपोलमा १९६ सदस्य राष्ट्र छन्, र यस्ता प्रक्रियामा कूटनीतिक पहल पनि महत्वपूर्ण हुन्छ ।
यदि यसपछि पनि उनीहरू स्वदेश फर्किएनन् भने ‘रेड नोटिस’ जारी गरिनेछ, जुन सबैभन्दा कडा प्रकृतिको अन्तर्राष्ट्रिय नोटिस हो । रेड नोटिस जारी भएपछि सदस्य राष्ट्रका सुरक्षाकर्मीले सम्बन्धित व्यक्तिलाई पक्राउ गरी नेपाल पठाउन सक्ने व्यवस्था छ ।
काठमाडौं । साताको कारोबारको मध्यदिन बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४५ दशमलव १२ अंकले बढेर २ हजार ८०२ दशमलव ५२ बिन्दुमा पुगेको छ ।
आज १ करोड ८८ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा उच्च हो, जहाँ मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
कारोबारमा आएका ३४६ धितोपत्रमध्ये २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको देखिएको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
समूहगत रूपमा हेर्दा बुधबार सबै उपसूचक हरियालीमा देखिएका छन् । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।
यस्तै हाइड्रोपावर २ दशमलव ६१, होटेल तथा पर्यटन २ दशमलव ५६, विकास बैंक १ दशमलव ९८, फाइनान्स १ दशमलव ४५, लगानी १ दशमलव ३५, जीवन बीमा १ दशमलव ३१, माइक्रोफाइनान्स १ दशमलव २८, बैंकिङ १ दशमलव १५, निर्जीवन बीमा १ दशमलव ०१, म्युचुअल फण्ड शून्इ दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
आज ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर सोलु हाइड्रोपावर, एग्रिटेक इन्डस्ट्रीज, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन ४ शदमलव ३५, माइ खोला हाइड्रोपावर ३ दशमलव २३ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य २ दशमलव २८ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । सरकारले सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक स्वीकृति पाएपछि नयाँ भाडादर लागू गर्न तयारी सुरु गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अनुसार सार्वजनिक यातायातको भाडा करिब १६.७१ प्रतिशतले बढाइएको छ । मालवाहक सवारी साधनको भाडा पनि बढेको छ । पहाडी क्षेत्रका सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रका सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार केही दिनभित्रै नयाँ भाडाको विवरण आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरिनेछ ।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य प्राविधिक कारण देखाउँदै लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए । भाडा वृद्धिको असर सर्वसाधारणको दैनिक यात्रा खर्च र उपभोग्य वस्तुको मूल्यमा पनि पर्न सक्ने देखिन्छ ।
- सार्वजनिक यातायात : १६.७१% वृद्धि
- पहाडी क्षेत्र (ढुवानी) : २१.६८% वृद्धि
- तराई क्षेत्र (ढुवानी) : १५.७५% वृद्धि
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानमा पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी कानून व्यवसायी परिचयपत्रका आधारमा वकिलहरुलाई सिंहदरवार प्रवेशमा कडाइ गरेको छ ।
नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई प्रवेशमा रोक लगाइएको भन्दै पहिलाको सहज पहुँच सुनिश्चित गर्ने पहललाई अवरुद्ध गरेको बताएका छन् ।
सिंहदरवारमा प्रशासकीय अदालत समेत रहेकाले वकिलहरुको प्रवेश अनिवार्य हुन्छ । तर नयाँ सरकारले वकिलहरुलाई ‘दोस्रो दर्जाको नागरिक’ जस्तो व्यवहार गर्दै प्रवेशमा कडाइ गरेको आरोप बारले लगाएको छ ।
तत्कालीन सभामुख सुवास नेम्वाङको पहलमा तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलासँग समन्वय गर्दै वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज बनाइएको थियो । तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार, यो व्यवस्था तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारीसम्बन्धी अभिव्यक्ति र बहसपछि रोकिएको वकिलहरुको दावी छ ।
यसैबीच, प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै वकिलहरुले नागरिक एपमार्फत प्राप्त सिंहदरवार गेट पास अनुसार प्रवेश गर्नुपर्ने बताए । साथै, मुद्दाका पक्ष र वारेसले तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताहरूले डेटा प्याकेज सकिएपछि अनावश्यक रूपमा मेन ब्यालेन्स कटिने समस्यालाई समाधान गर्न नयाँ सुविधा ल्याएको छ। अब ग्राहकहरूले आफैंले चाहेको अनुसार डेटा प्रयोग हुँदा ब्यालेन्स काटिने वा नकाटिने विकल्प सजिलै छनोट गर्न सक्ने भएका छन्।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्छ। त्यसपछि देखिने मेनुमा चौथो नम्बरको “Enable/Disable PAYG” विकल्प छान्न अङ्क 4 थिचेर Send गर्नुपर्ने हुन्छ। त्यसपछि PAYG (पे एज यु गो) सम्बन्धी विकल्पहरू खुल्छन्, जसमा प्रयोगकर्ताले आवश्यक अनुसार सेटिङ मिलाउन सक्छन्।
उक्त विकल्पहरूमा Disable (निष्क्रिय), Enable (सक्रिय) र Status (अवस्था जाँच) समावेश छन्। यदि डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्स नकाटियोस् भन्ने चाहना छ भने Disable विकल्प रोज्न सकिन्छ।
तर, कहिलेकाहीँ आकस्मिक रूपमा डेटा आवश्यक पर्ने अवस्थामा भने Enable विकल्प प्रयोग गरी मेन ब्यालेन्सबाटै डेटा चलाउन सकिन्छ। यसले विशेष गरी डिजिटल भुक्तानी जस्ता कामका लागि छोटो समयको इन्टरनेट प्रयोग गर्न सहज बनाउनेछ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने सुन २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ८२० रुपैयाँ रहेको थियो ।
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप सङ्कलन बोलकबोल उपकरण प्रयोग गर्दै अधिकतम २५ अर्ब रुपैयाँसम्मको प्रस्ताव आह्वान गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । यसमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
निक्षेप सङ्कलनका लागि ब्याजदर बोलकबोलकै आधारमा निर्धारण गरिनेछ भने संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २० गते गरिने बताइएको छ । राष्ट्र बैंकले बहुब्याजदर प्रणालीमार्फत समेत बोलकबोल गर्न सकिने स्पष्ट पारेको छ ।
काठमाडौं । आज (बुधबार) देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा तथा हिमपातको सम्भावना छ । यस कारण जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय छ, जसको असर भोलिदेखि अझ बढ्ने अनुमान गरिएको छ । उनका अनुसार केही स्थानमा भारी वर्षा वा हिमपात समेत हुन सक्ने भएकाले दैनिक कामकाज गर्दा सावधानी अपनाउन आवश्यक रहेको छ ।
विशेषगरी पश्चिमी क्षेत्रमा यसको प्रभाव बढी देखिने र बिहानैदेखि मौसममा परिवर्तन आउने उनले बताए । दिउँसोसम्म यो प्रणालीको असर काठमाडौं उपत्यकासहित मध्य भागसम्म फैलिने अनुमान गरिएको छ ।
विभागले जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ । साथै, मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने जनाइएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।
त्यसैगरी मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । विभागका अनुसार बिहीबार पनि देशभर मौसम बदली नै रहनेछ ।




