
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजात र बयान लिइसकेपछि उनलाई खोजेको बेला उपस्थित हुने सर्तमा छाडिएको हो। रिजाललाई उनका भतिजको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ।
उनी मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले रिजालविरुद्ध कारबाही सिफारिस गरेको थियो।
आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सुझाएको थियो। उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।
यसअघि मन्त्रिपरिषद्को बैठकले सुरक्षा निकाय बाहेक अन्य व्यक्तिमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।
घटनाक्रमकै बीच मंगलबार रिजाललाई पक्राउ गरिएको भए पनि केही समयपछि नै उनलाई जिम्मा जमानीमा छाडिएको हो। प्रहरीले मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित विषयमा थप बुझेर आगामी प्रक्रिया अघि बढाइने जनाएको छ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण प्रणालीमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अब श्रमिकहरूले स्वास्थ्य परीक्षणका लागि निजी क्षेत्रका सीमित संस्थामा मात्र निर्भर रहनुपर्ने अवस्था हट्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब वैदेशिक रोजगारीमा जाने व्यक्तिले सरकारी स्वामित्व वा नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । यसले सेवा पहुँचलाई थप सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
यसअघि भने केही निजी संस्थाहरूले मात्र यस्तो सेवा उपलब्ध गराउँदै आएका थिए, जसका कारण लामो समयदेखि ‘सिन्डिकेट’ कायम रहेको भन्दै आलोचना हुँदै आएको थियो । सरोकारवालाहरूले यस्तो व्यवस्थाको अन्त्य गर्न माग गर्दै आएका थिए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली, २०६४ अनुसार विदेश जानुअघि श्रमिकले स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान रहेको उल्लेख गरिएको छ ।
यस्तै, स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सूचीकरण प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।

काठमाडौं । मंगलबार शेयर बजारमा सकारात्मक संकेत देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ७० अंकले बढेर २ हजार ८५१ दशमलव ०९ विन्दुमा पुगेको छो ।
यद्यपि बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । आज २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आजको कारोबारमा ३३९ धितोपत्र सहभागी हुँदा १९५ कम्पनीको शेयर मूल्य बढेको छ । ६३ कम्पनीको घट्दा ९ को मूल्य स्थिर रहेको देखिएको छ ।
उपसूचकतर्फ १३ मध्ये ११ समूहमा वृद्धि भएको छ भने २ समूहमा गिरावट आएको छ ।
आज उत्पादन तथा प्रशोधन समूह १ दशमलव ९४, फाइनान्स १ दशमलव १२, होटेल तथा पर्यटन १, बैंकिङ र निर्जीवन बीमाको समान शून्य दशमलव ७६, हाइड्रोपावर शून्य दशमलव ७५, व्यापार शून्य दशमलव ७४, लगानी शून्य दशमलव ५६, जीवन बीमा शून्य दशमलव ५२, माइक्रोफाइनान्स शून्य दशमलव ५१ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
यस्तै अन्य शून्य दशमलव ५५ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंक ८ दशमलव ९६, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव ७१, एनआईबीएल ग्रोथ फण्ड ४, रिदी पावर ३ दशमलव २१ र धौलागिरी लघुवित्तको शेयर मूल्य २ दशमलव ८ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनतथा चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय पुगेको छ । अघिल्लो दिन सोमबार सुन २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
केन्याको रिफ्ट भ्याली क्षेत्रमा पर्ने गिलगिल गाउँ यतिबेला अनौठो तर गम्भीर अवैध गतिविधिका कारण चर्चामा छ। वर्षा मौसम सुरु भएसँगै यहाँका हजारौं कमिलाका गोलाबाट निस्किने झुण्डले प्राकृतिक दृश्य मात्र होइन, अवैध व्यापारको श्रृंखला पनि जन्माएको छ।
यस समयमा भाले र रानी कमिला प्रजननका लागि एकसाथ उड्ने गर्छन्। यही अवसरलाई उपयोग गर्दै स्थानीय मानिसहरूले विशेषगरी रानी कमिलालाई समातेर तस्करहरूलाई बेच्ने गरेका छन्। एक मात्र रानी कमिलाले पूरै नयाँ कोलोनी निर्माण गर्न सक्ने भएकाले यसको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ।
विश्वभर फैलिएको यो कालो बजारमा कमिलालाई काँचका बक्समा राखेर पालन गर्ने शौक बढ्दो छ। विशेषगरी ‘बृहत् अफ्रिकी हार्भेस्टर’ प्रजातिको रानी कमिलाको मूल्य अनलाइन बजारमा करिब २२० अमेरिकी डलरसम्म पुग्ने गरेको छ, जुन नेपाली रुपैयाँमा झन्डै ३३ हजार बराबर हुन्छ।
अवैध तस्करीलाई सजिलो बनाउने अर्को कारण यसको प्याकेजिङ हो। साना ट्युब र सिरिन्जमा राखेर पठाइने यी जीवहरूलाई हवाईअड्डाका स्क्यानरहरूले सजिलै पत्ता लगाउन सक्दैनन्। यसै कारण यो व्यापार गोप्य रूपमा तीव्र गतिमा फैलिएको छ।
बीबीसीसँग कुरा गर्दै एक पूर्व बिचौलियाले आफूहरूले बिहान सबेरै खेतमा गएर कमिला समात्ने र शहरमा बसेका विदेशी खरिदकर्तासम्म पुर्याउने गरेको खुलासा गरेका छन्। उनका अनुसार विदेशीहरू स्वयं कहिल्यै खेतसम्म पुग्दैनथे।
यो अवैध गतिविधि सार्वजनिक रूपमा तब आयो जब गत वर्ष नैवासा क्षेत्रमा एक गेस्टहाउसबाट करिब पाँच हजार रानी कमिला बरामद गरियो। यस घटनामा संलग्न व्यक्ति बेल्जियम, भियतनाम र केन्याका नागरिक थिए। उनीहरूले कमिलालाई दुई महिनासम्म जीवित राख्न सक्ने तरिकाले प्याक गरेका थिए।
विशेषज्ञहरूका अनुसार यो व्यापार केवल कानुनी समस्या मात्र होइन, वातावरणीय जोखिम पनि हो। पूर्वी अफ्रिकामा पाइने मेसेर सेफालोट्स प्रजातिका यी कमिलाहरू बीउ संकलन गरेर पारिस्थितिकी सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छन्। यदि यिनको अत्यधिक संकलन गरियो भने स्थानीय वातावरणमा गम्भीर असर पर्न सक्छ।
कीट विज्ञ Dino Martins भन्छन्, “यी कमिलाहरू पारिस्थितिक प्रणालीका आधार हुन्। यिनले घाँस र बिरुवाको पुनरुत्पादनमा ठूलो योगदान पुर्याउँछन्।”
चीनका अनुसन्धानकर्ता Zhengyang Wang का अनुसार यो व्यापार अझ खतरनाक हुन सक्छ। उनका अनुसार अन्य देशमा ल्याइएका यस्ता प्रजाति यदि वातावरणमा फैलियो भने कृषि र जैविक विविधतामा ठूलो क्षति पुग्न सक्छ।
शोधले देखाएको छ कि अनलाइन बजारमा हजारौं कोलोनी बिक्री भइरहेका छन्, जसमा धेरैजसो अवैध रूपमा अन्य देशबाट ल्याइएका हुन्छन्। यसले भविष्यमा नयाँ आक्रामक प्रजाति फैलिने जोखिम बढाएको छ।
केन्यामा पनि यसले पारिस्थितिक संकट निम्त्याउन सक्ने चिन्ता बढ्दै गएको छ। रानी कमिलाको अत्यधिक संकलनले पूरै कोलोनी समाप्त हुन सक्छ, जसले प्राकृतिक सन्तुलन बिगार्ने खतरा रहन्छ।
हाल केन्या सरकारले वन्यजन्तु व्यापारलाई व्यवस्थित गर्न नयाँ नीतिहरू ल्याएको छ, जसले कानुनी रूपमा अनुमति लिएर कमिला संकलन र व्यापार गर्न सकिने व्यवस्था गरेको छ। तर अहिलेसम्म कसैले औपचारिक अनुमति नलिएको बताइएको छ।
विशेषज्ञहरू अब अन्तर्राष्ट्रिय स्तरमै यस्तो व्यापारलाई नियन्त्रण गर्न पहल आवश्यक रहेको बताउँछन्। अन्यथा, सानो देखिने यो जीवको व्यापारले ठूलो वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
गिलगिलका किसानहरूका लागि भने यो अवसर र जोखिम दुवै बनेको छ। सही व्यवस्थापन भए आम्दानीको स्रोत बन्न सक्छ, तर अव्यवस्थित व्यापारले प्रकृति र भविष्य दुवैलाई संकटमा पार्न सक्छ।





