
काठमाडौं । प्रतिनिधिसभाका नव–निर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा २७४ जना सांसदले शपथ लिएका हुन् ।
संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराएका थिए । शपथ ग्रहणका क्रममा ४७ जना सांसदले १७ विभिन्न मातृभाषामा शपथ लिएका थिए भने सांसदहरू आ–आफ्नो परम्परागत भेषभूषामा उपस्थित भएका थिए ।
संसद् भवनको मुख्य हल निर्माण सम्पन्न नभएकाले कार्यक्रम बहुउद्देश्यीय हलमा आयोजना गरिएको संसद् सचिवालयले जनाएको छ ।
यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले शपथ लिनुपर्ने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।
शपथको अंश यस्तो छ–
म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्यनिष्ठापूर्व प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौसत्ता, राजकीय सत्ता, नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभा सदस्य पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराव भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदरितासाथ काम गर्नेछु ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । सो दिन नेप्से १४ दशमलव २१ अंकले उकालो लाग्दै २ हजार ९५० दशमलव १६ बिन्दुमा पुगेर बन्द भएको हो ।
कारोबारतर्फ भने अघिल्लो दिनको तुलनामा केही कमी आएको छ । आज ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबार १५ अर्ब ९ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो ।
आजको बजारमा १७८ कम्पनीका शेयर मूल्य बढेका छन् भने ८० कम्पनीको मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रहँदा कुल ३४३ धितोपत्र कारोबारमा सहभागी भएका छन् ।
समूहगत उपसूचकतर्फ अधिकांश हरियालीमा देखिएका छन् । हाइड्रोपावर १ दशमलव ५६, उत्पादन तथा प्रशोधन १ दशमलव ५, होटेल तथा पर्यटन शून्य दशमलव ८१, अन्य शून्य दशमलव ६५, लगानी शून्य दशमलव ५१, निर्जीवन बीमा शून्य दशमलव ४३, बैकिङ शून्य दशमलव ३७, फाइनान्स शून्य दशमलव १७ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।
यस्तै व्यापार २ दशमलव ८४, विकास बैंक शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । यसैगरी म्युचुअल फण्ड स्थिर रह्यो ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन, भुजुङ्ग हाइड्रोपावर र साल्पा विकास बैंक रहेका छन् । यस्तै होटल फरेष्ट इनको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।
यसैगरी पञ्चकन्या माइ हाइड्रोपावर ७ दशमलव ४८, सिन्धु विकास बैंक ३ दशमलव ५८, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव २४, विशाल बजार कम्पनी ३ दशमलव ०४ र एनआईबीएल ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ६ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको छ । आन्दोलनको घटनाबारे गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार यीमध्ये २४ जनाको मृत्यु आन्दोलनकारीकै क्रियाकलापबाट भएको थियो ।
प्रतिवेदनमा उल्लेख भएअनुसार आन्दोलनकारीको हिंसाबाट मारिएका २४ मध्ये एक विदेशी नागरिकसमेत छन् । काठमाडौको हायात होटलमा भारतीय नागरिकको मृत्यु भएको थियो । साथै, आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो । पाँच जनाको भने विभिन्न भवनमा आगलागीमा परेर ज्यान गएको थियो ।
निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी तीन जनाको पनि आन्दोलनकारीको आगलागीमा मृत्यु भएको छ । भाटभटेनी क्षेत्रमा जलेको अवस्थामा फेला परेका १२ जनाको भने अझै सनाखत हुन सकेको छैन । प्रतिवेदना अनुसार ३२ जनाको मृत्यु लुटपाटका क्रममा भएको हो ।
यस्तै प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो भने १० जना कैदीबन्दीको भाग्ने क्रममा गोली प्रहारबाट ज्यान गुमाएका थिए ।
यीमध्ये तीन प्रहरी र प्रहरीको गोली लागेर मृत्यु भएका ४२ जनालाई सरकारले सहिद घोषणा गरेको छ ।
उक्त दुई दिनका घटनामा ७६ जनाले ज्यान गुमाएका थिए । “यी घटनामा दुई हजार ५२२ जना (सुरक्षाकर्मीसहित) घाइते भएका थिए र साथै करिब ८५ अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । संघीय संसद् सचिवालयका अनुसार शपथ समारोहका सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई शपथ गराउने छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार केसीलाई नै पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ । सचिवालयका अनुसार ४७ जना सदस्यले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन् ।
संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यहरूले शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
सचिवालयले सबै सदस्यलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ । साथै, औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
कार्यक्रमस्थलमा आवश्यक सिट व्यवस्थापन, रोष्टम, सभामुखको आसन तथा सचिवालयका पदाधिकारीहरूका लागि छुट्टै स्थानको तयारी गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेकपा ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट हासिल गरेका छन् ।
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण भइसकेको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १६ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर (६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति छिटोमा चैत २५ गते र ढिलोमा २०८३ बैशाख ६ गतेसम्म तोकिएको छ ।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।




