
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरी दिने कृष्णप्रसाद जैसीलाई नयाँ सहकारी ठगी आरोपमा पक्राउ गरिएको छ। गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो ।
रजिस्ट्रारको रिपोर्ट अनुसार उनी धनुष बचत तथा ऋण सहकारीमा प्रमुख योजनाकार भएको आरोपमा छन्। धनुष सहकारीबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ। रजिस्ट्रारको पत्राचारपछि प्रहरीले जैसीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
सहकारी मर्ज भएर बनेको नयाँ व्यवस्थापन समितिमा, साविक साइनो र धनुष सहकारीका पदाधिकारीहरूले समेत करोडौँ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। जैसीले ऋण उपसमितिको पदाधिकारी भएर ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
यसअघि जैसीको जाहेरीका आधारमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा १ अर्ब ५१ करोड बिगो माग गरिएको थियो।
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सोमबार अदालतमा उपस्थित आचार्यसहितको इजलासमा न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाले थुनछेक बहस सुनियो । अदालतले निर्धारण गरेको धरौटी रकम आचार्यले बुझाएपछि उनी मुद्दाको पुर्पक्षका लागि तारेखमा बस्ने भएका हुन् ।
विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार आचार्यले धरौटी रकम बुझाइसकेपछि तारेखमा रहेका छन् ।
यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्व पर्यटनमन्त्रीलाई प्रतिवादी बनाएर विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेको थियो । प्रकरणमा ५ पूर्व मन्त्री र १० पूर्व सचिवसहित जम्मा ५५ जनाविरुद्ध ८ अर्ब रुपैयाँ बिगो माग गरिएको छ ।
अख्तियारको आरोपअनुसार आचार्यले चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङसँग विमानस्थल निर्माणका लागि २१ करोड ५९ लाख अमेरिकी डलरको सम्झौता २०७१ जेठ ८ गते अनुमोदन गरेका थिए । सम्झौता स्वीकृत भएपछि अर्थ मन्त्रालयमा सहुलियतपूर्ण ऋणका लागि पठाउने निर्णय समेत आचार्यले मन्त्रीको हैसियतमा गरेका थिए ।
अख्तियारले आरोप लगाएको छ कि आचार्यको निर्णयपछि लागत अनुमान अस्वाभाविक रूपमा बढेर १६ करोड ९६ लाख डलरबाट २४ करोड ४० लाख डलर पुगेको थियो, जसअनुसार खरिद सम्झौता भएको थियो ।
यस प्रकरणमा आचार्यसँगै पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य र रामकुमार श्रेष्ठलाई समेत प्रतिवादी बनाएर भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हानीनोक्सानीको बिगो असुली र सजायको माग गरिएको छ ।
साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, विमानस्थल निर्माण अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना र १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी कायम गरिएको छ ।
काठमाडौं । पश्चिम एसियामा चलिरहेको युद्धको बीचमा कूटनीतिक रूपमा ठूलो मोड आएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको वार्ता निकै सकारात्मक र उपलब्धिमूलक रहेको बताएका छन् ।
वार्तापछि इरानका ऊर्जा संरचनामाथि गर्ने भनिएको आक्रमण केही समयका लागि रोकिएको छ । विशेषगरी बुशहर आणविक विद्युत् केन्द्रलाई लक्षित गरेर योजना बनाइएको हमलालाई पाँच दिनका लागि स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाको समयसीमा दिएका थिए । उनले होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नल्याए इरानका ठूला ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिएका थिए । तर पछिल्लो समयमा भने उनले आफ्नो धारणा केही नरम बनाउँदै संवादमार्फत समस्या समाधानतर्फ अग्रसर भएको संकेत दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न ठोस र अर्थपूर्ण छलफल भइरहेको जानकारी दिएका छन् । यही संवादलाई आधार मानेर उनले पेन्टागनलाई सम्भावित सैन्य कारबाही केही दिनका लागि रोक्न निर्देशन दिएका हुन् ।
यद्यपि, यो वार्ता कसको पहलमा र कसरी अघि बढिरहेको छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । पछिल्ला दिनहरूमा भने दुवै देशबीच तनाव चर्किँदै गएको थियो ।
विश्लेषकहरूका अनुसार यो द्वन्द्वको पूर्ण समाधान निकाल्न सहज छैन । किनकि अमेरिका र इजरायलले इरानको वर्तमान शासन परिवर्तन हुनुपर्ने धारणा राख्दै आएका छन् । आयतुल्लाह अली खामेनेईजस्ता शीर्ष नेतामाथि आक्रमण हुँदा पनि इरानको सत्ता संरचना भने यथावत् रहेको छ ।
अर्कोतर्फ, विश्वभर तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग अहिले पनि प्रमुख चिन्ताको विषय बनेको छ । इरानले सो मार्गमा अवरोध सिर्जना गरेकाले यसको सञ्चालन पुनः सुचारु गर्नु अन्तर्राष्ट्रिय प्राथमिकतामा परेको छ ।
यसैबीच, इरानका इसफहान र नातान्जमा रहेका आणविक केन्द्रहरूमा उच्च स्तरको युरेनियम भण्डारण रहेको बताइन्छ, जसले थप संवेदनशीलता बढाएको छ । यस विषयको व्यवस्थापन र नियन्त्रण कसरी गर्ने भन्ने अझै स्पष्ट हुन सकेको छैन ।
समग्रमा, अमेरिका र इरानबीचको पछिल्लो संवादले तनाव कम गर्ने आशा जगाए पनि दीर्घकालीन समाधान भने अझै अनिश्चित देखिएको छ ।
नवलपरासी । नवलपरासी प्रहरीले अवैध रूपमा भन्सार छली गरी लुकाइएका मोबाइलसम्बन्धी सामग्री ठूलो परिमाणमा फेला पारेको छ । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले सुनवल नगरपालिका–११ भडेरीस्थित एक घरको भाडामा लिइएको सटर कोठाबाट ती सामग्री बरामद गरेको हो ।
प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको नेतृत्वमा गरिएको उक्त अपरेशनमा झन्डै १६ लाख रुपैयाँभन्दा बढी बजार मूल्य बराबरका सामान फेला परेका छन् । यद्यपि भन्सार मूल्याङ्कनअनुसार ती सामग्रीको मूल्य ८ लाख ४६ हजार कायम गरिएको छ। आवश्यक प्रक्रिया पूरा गर्न बरामद सामान महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तका अनुसार बरामद सामग्रीमध्ये २२ हजार ५ सय पिस मोबाइल ग्लासको मूल्य करिब ५ लाख ६१ हजार रुपैयाँ रहेको छ भने १ सय ९० पिस एयरफोनको मूल्य २ लाख ८५ हजार रुपैयाँ बराबर छ ।
प्रहरीका अनुसार उक्त सटर कोठा परासीका एक व्यक्तिले भाडामा लिएर सामग्री लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु) ले आफ्नै पार्टीभित्रका ५७ जना जिम्मेवार व्यक्तिले आफूलाई हराउन आर्थिक लेनदेन गरेको गम्भीर आरोप लगाएका छन्।
शाहका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आलेले आफूलाई कांग्रेसका केही नेताहरूले रकम लिएको सूची उपलब्ध गराएका थिए। उनले सो सूचीमा जिम्मेवार पदमा रहेका ५७ जनाको नाम समावेश भएको बताएका छन्।
‘एउटा लिस्ट नै दिनुभयो। तपाईँका यी मान्छेहरूले मसँग आर्थिक सहयोग लिएका हुन्, मैले तपाईँलाई यो दिएँ, आइन्दा यसप्रति सतर्क रहनुहोला भन्नुभयो,’ समर्पण मिडियासँगको अन्तर्वार्तामा शाहले भने, ‘५७ जना मान्छेहरू, जो जिम्मेवार पदमा छन्, ती सबैको त्यसमा संलग्नता छ। ’
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका थिए भने शाह दोस्रो स्थानमा रहेका थिए।
निर्वाचन सम्पन्न भएको झण्डै दुई सातापछि यस्तो आरोप सार्वजनिक भएपछि कैलालीस्थित कांग्रेस वृत्तमा राजनीतिक तरंग सिर्जना भएको छ।
यसैबीच, नेपाली कांग्रेस कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै आरोपबारे स्पष्ट पार्न शाहलाई आग्रह गरेको छ। जिल्ला सभापति नारायण दत्त भट्टद्वारा जारी विज्ञप्तिमा कांग्रेसका केही नेता तथा कार्यकर्ताले नेकपा उम्मेदवारसँग आर्थिक लेनदेन गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गरिएको छ।

काठमाडौं । नयाँ सरकार गठनसँगै चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार गर्ने पुरानो अभ्यास अन्त्य गर्ने तयारी भावी प्रधानमन्त्री बालेन्द्र साहले गरेका छन् । उनले शपथकै दिन पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य अघि बढाएका हुन् ।
करिब दुई तिहाइ समर्थनसहित सत्तामा पुग्न लागेका साहले सानो र छरितो मन्त्रिपरिषद् बनाउने लक्ष्य राखेका छन् । मन्त्रालय संख्या घटाएर हालका २२ बाट करिब १५ देखि १८ मा झार्ने तयारी भइरहेको छ, यद्यपि उनको चाहना १२ वटासम्म सीमित गर्ने थियो । यसबारे टीमभित्र छलफल जारी छ । जबकि संविधानले २५ जनासम्मको व्यवस्था गरेको छ ।
अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल लगभग निश्चित भइसकेका छन् भने अन्य नाममा अन्तिम टुंगो लाग्न बाँकी छ । मन्त्री छनोटमा क्षमता, दक्षता र नैतिकतालाई प्राथमिकता दिने नीति लिइएको छ ।
स्रोतका अनुसार भागबन्डाभन्दा योग्यताका आधारमा मन्त्री चयन गर्ने सहमति रास्वपा नेतृत्वसँग बनेको छ । प्रत्यक्ष निर्वाचितलाई प्राथमिकता दिने भए पनि समानुपातिकतर्फका सांसदलाई वञ्चित नगर्ने स्पष्ट पारिएको छ ।
मन्त्री बन्ने दौडधुप र लबिङलाई पार्टीले रोक लगाएको छ । नेतृत्वले ‘मिडिया ट्रायल’ नगर्न निर्देशन दिएपछि यस्तो गतिविधि घटेको बताइएको छ ।
प्रधानमन्त्री साहको शपथ १३ चैतमा तय भएको छ। सोही दिन मन्त्रीहरूले पनि शपथ लिएर सरकार पूर्ण रूपमा सक्रिय हुने तयारी छ । पहिलो दिनदेखि नै प्रभावकारी काम गर्ने दबाबलाई ध्यानमा राख्दै टोलीले प्राथमिक कामहरूको सूची तयार गरिरहेको छ ।
कमजोर प्रदर्शन वा अनियमिततामा संलग्न पाइएमा मन्त्रीलाई तत्काल पदमुक्त गर्ने कडा नीति पनि साहले लिने संकेत दिएका छन् ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । परिसूचक ५ दशमलव ०१ अंकले बढ्दै २ हजार ९३६ दशमलव ५६ बिन्दुमा पुगेर बन्द भएको हो ।
यद्यपि बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार भने २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कुल ३४२ कम्पनीका शेयर कारोबारमा सहभागी भएका छन् । तीमध्ये १०२ कम्पनीको शेयर मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सोमबार उत्पादन तथा प्रशोधन १ दशमलव ५३, हाइड्रोपावर शून्य दशमलव ९६, म्युचुअल फण्ड शून्य दशमलव ८८, लगानी शून्य दशमलव ७२, माइक्रोफाइनान्स शून्य दशमलव ४३, फाइनान्स शून्य दशमलव २ र अन्य समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बीमा शून्य दशमलव ४७, बैंकिङ शून्य दशमलव २७, विकास बैंक शून्य दशमलव ५ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।
यसदिन सनराइज फस्ट म्युचुअल फण्ड ३ दशमलव ७१, कुमारी धनवृद्धि योजना ३ दशमलव ५६, सुन्धु विकास बैंक ३ दशमलव २३, सिटिजन्स सम्मुनत योजना २ दशमलव ८६ र स्वस्तिक लघुवित्तको शेयर मूल्य २ दशमलव ७५ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एयर क्यानाडा एक्सप्रेसको एक यात्रुवाहक जहाज रनवेमा ठोक्किँदा उडानहरू प्रभावित भएका छन् । माउन्ट्रियलबाट आउँदै गरेको विमानले रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ ।
एएफपीका अनुसार घटनास्थलका केही दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर क्षतिग्रस्त देखिन्छ । उद्धार तथा आपत्कालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका छन् ।
संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ भने स्थानीय आपत्कालीन अधिकारीहरूले यात्रुहरूलाई रद्द वा ढिलाइ हुने सम्भावनाबारे सचेत गराएका छन् । घटनामा घाइतेको संख्या अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन । दुर्घटनाको अनुसन्धान जारी रहेको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अचारको माग बढ्दै जाँदा निर्यात पनि उच्च दरले विस्तार हुँदै गएको छ । अष्ट्रेलिया, अमेरिका र युरोपसम्म यसको पहुँच बढेको देखिन्छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ८ महिनामा ३ लाख ११ हजार ९६४ किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन १६ करोड ७ लाख मूल्य बराबरको हो ।
गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा साढे १ गुणा (१५० दशमलव २८ प्रतिशत)ले अचारको निर्यात बढेको छ । गत आवको फागुनसम्ममा १० करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार ६४५ केजी अचार बाहिरिएको थियो । यद्यपि मूल्य र परिमाण दुवैका आधारमा अचार निर्यात बढेको देखिन्छ ।
विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान, इटली लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत फागुनसम्ममा सबैभन्दा धेरै अष्ट्रेलियामा ३ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै क्यान्डामा ३ करोड २६ लाख, इटलीमा २ करोड ६६ लाख, बेलायतमा २ करोड १० लाख र जापानमा १ करोड ७३ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।
कुन देशमा कति अचार बाहिरियो ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।






