२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । नजिकिँदै गरेको चाडपर्वका बेला बैंकका काउन्टरमा हुने भीड कम गर्नुका साथै सर्वसाधारणलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोटसमेत उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। साना दरका नोट आवश्यक पर्ने ग्राहकले बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ ।

विशेषगरी दसैँलगायतका चाडपर्वमा साना दरका नोट सटही तथा झिक्न बैंकमा सर्वसाधारणको भीड बढ्ने गरेको छ । यही अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।

केही बैंकसँग प्राविधिक तयारीबारे छलफल गर्दा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सम्भव देखिएपछि राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ ।

काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । पशुपतिनाथको दर्शनका लागि भक्तजन रातिदेखि नै मन्दिर परिसरमा पुग्न थालेका थिए ।

भक्तजनको चापलाई व्यवस्थित गर्न पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश गराउने र दर्शनपछि छिटो बाहिर निकाल्ने गरी विभिन्न चारवटा दर्शन मार्ग सञ्चालनमा ल्याएको छ ।

कोषका अनुसार मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति हुँदै कैलाश बद्रीनरसिंह भवनको मार्गबाट आउने भक्तजनलाई वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गराई मन्दिरको उत्तरतर्फको र्‍याम्प हुँदै दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

May be an image of one or more people and temple

त्यस्तै, जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको आकाशे पुलबाट भुवनेश्वरी र नासलचोकतर्फको मार्ग प्रयोग गरिएको छ । शङ्कराचार्य मठअघिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट प्रवेश गर्ने भक्तजनलाई पशुपतिको पश्चिमतर्फको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ ।

तिलगङ्गातर्फबाट आउने भक्तजनका लागि भने पर्यटन काउन्टरसँगैको ढोका, राम मन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनालसम्म पुग्ने मार्ग तोकिएको छ । त्यहाँबाट पूर्व ढोकामा रहेको र्‍याम्प हुँदै पशुपतिनाथको पूर्वी मुहारको दर्शन गर्ने र सोही ढोकाबाट फर्किने व्यवस्था गरिएको छ ।

May be an image of one or more people and temple

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि पनि छुट्टै मार्ग बनाइएको छ । चार शिवालय, पञ्चदेवल वृद्धाश्रम हुँदै अस्थायी आकाशे पुलबाट प्रवेश गराई चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराउने र उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको बाटो हुँदै बाहिरिने प्रबन्ध मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामका अनुसार आजको व्यवस्थाअनुसार मन्दिर प्रवेश गरेपछि बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्थापन गरिएको छ ।

May be an image of fire and temple

भक्तजनको चापलाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको छ । सम्भावित चोरी तथा अन्य सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कोषले दर्शनका लागि आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउनसमेत आग्रह गरेको छ ।

दर्शनार्थीका सवारीसाधन व्यवस्थापनका लागि गुह्येश्वरी पारिको क्षेत्र, सिफलचौर, तिलगङ्गाका खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

May be an image of temple

सरकारी सवारीसाधनका लागि कोषको कार्यालय परिसर र सुरक्षा निकायका सवारीसाधनका लागि गौशालास्थित प्रहरी प्रभागको कार्यालयमा पार्किङको प्रबन्ध गरिएको कोषले जनाएको छ । तस्बिर: हरिराम भेटुवाल

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि भने थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त रकम भोटेकोशी बाढी प्रभावित परिवारले स्थायी आवास निर्माण नहुन्जेलसम्म घरभाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि प्रयोग गर्न सक्नेछन् ।

सरकारले नगद आवास भाडा सुविधा लिन नचाहने परिवारका लागि वैकल्पिक व्यवस्था पनि गरेको छ । त्यस्ता परिवारलाई स्थायी आवास निर्माण सम्पन्न नभएसम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गर्नेछ ।

मन्त्री तिमिल्सिनाका अनुसार प्रभावित परिवारको संख्या तथा आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको छ । प्राप्त विवरणका आधारमा राहत तथा आवास व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ ।

काठमाडौं । नेपालमा जोखिमपूर्ण अवस्थामा रहेका हिमतालबाट सम्भावित विपद् रोक्न सरकारले पानीको सतह घटाउने तयारी थालेको छ । अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा पास गर्ने विकल्पमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिरहेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार जोखिमयुक्त हिमतालमा आवश्यक परे ब्लास्टिङमार्फत पानीको निकास गराउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ । कुन–कुन हिमतालमा यस्तो काम गर्ने भन्ने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले जोखिमको मात्रा र सम्भावित क्षतिको अध्ययन गरेर पानीको सतह घटाउने निर्णय गरिने बताए । उनका अनुसार विज्ञहरूले विभिन्न हिमतालको नाम प्रस्ताव गरेका छन् र तीमध्ये प्राथमिकताका आधारमा थप अध्ययन भइरहेको छ ।

“जोखिममा रहेका हिमताल ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ,” मन्त्री श्रेष्ठले भने ।

सरकारले हिमतालबाट उत्पन्न हुन सक्ने सम्भावित बाढी तथा अन्य विपद्को जोखिम न्यूनीकरणलाई पूर्वतयारीकै चरणमा सम्बोधन गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसका लागि ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गर्ने सरकारको योजना छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने काम यही वर्ष अघि बढाइने मन्त्री श्रेष्ठले जानकारी दिए ।

हिमतालको पानीको सतह घटाउने काम संवेदनशील र प्राविधिक विषय भएकाले सरकारले विज्ञहरूको सुझावका आधारमा प्रक्रिया अघि बढाउने जनाएको छ । कुन तालमा कस्तो विधि अपनाउने भन्ने निर्णय भने विस्तृत अध्ययनपछि मात्रै गरिनेछ ।

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा छन् । तीमध्ये कोसी र गण्डकी जलाधार क्षेत्रमा चार वटा हिमताललाई अति उच्च जोखिमयुक्त मानिएको छ ।

हिमताल विस्फोट भएर अचानक ठूलो परिमाणमा पानी तल्लो तटीय क्षेत्रमा बग्दा जनधन तथा पूर्वाधारमा ठूलो क्षति पुग्न सक्ने भएकाले जोखिमयुक्त तालको पानीको सतह घटाउने उपायलाई सरकारले सम्भावित विपद् न्यूनीकरणको महत्वपूर्ण पूर्वतयारीका रूपमा अघि बढाउन लागेको हो ।

काठमाडौं । इन्डोनेसियामा २४० जना यात्रु सवार यात्रुवाहक पानीजहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ ।

इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीका अनुसार पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ जाँदै गरेको जहाज यात्राकै क्रममा सम्पर्कबाहिर पुगेको हो ।

जहाजसँग अन्तिमपटक बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा हुँदा सम्पर्क भएको थियो । त्यसपछि जहाजको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

जहाज हराएपछि इन्डोनेसियाली उद्धार निकायले खोजी अभियान सुरु गर्दै एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाएको छ । उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्था र त्यसमा सवार यात्रुको अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ ।

अधिकारीहरूका अनुसार सम्पर्क टुट्नुअघि जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गरेको थियो । मौसमकै कारण जहाजको सम्पर्क टुटेको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे भने तत्काल स्पष्ट भइसकेको छैन ।

इन्डोनेसियाली अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जहाज सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ । पार्टीको १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा बैठकमा छलफल हुने जनाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गरिने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेश सभापतिलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

काठमाडौं । देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम कायमै छ । वर्षाका कारण साना तथा ठूला नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार आज पाँचथर, संखुवासभा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । वर्षाको मात्रा बढेमा खोला तथा नदीमा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले नदी आसपास र तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।

महाशाखाले देशका केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरेको छ । वर्षाको अवस्था र नदीको बहाव निरन्तर निगरानीमा रहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं । विसं २०८२ चैत १३ गते गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्रीहरू विवादमा पर्ने र बाहिरिने क्रम देखिएको छ । सरकार गठन भएको करिब ६ महिनामै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै सरकारबाट बाहिरिने मन्त्रीको संख्या दुई पुगेको छ ।

यादवले बिहीबार, भदौ २५ गते पदबाट राजीनामा दिएकी हुन् । पछिल्लो समय एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न नसकेको विषयमा सरकारमाथि दबाब बढिरहेका बेला उनको राजीनामा आएको हो ।

ग्यास अभावबारे मन्त्री यादवले दिएको अभिव्यक्तिले समेत विवाद निम्त्याएको थियो । ग्यासको आपूर्ति सहज हुन नसक्नुमा उद्योगी तथा व्यवसायी जिम्मेवार रहेको संकेत गर्दै उनले ‘उद्योगी व्यवसायीको पाता नफर्काएसम्म ग्यासको आपूर्ति सहज नहुने’ अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिप्रति व्यवसायीहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका थिए ।

मन्त्री यादवको पछिल्लो विवाद भने ग्यास आपूर्ति व्यवस्थापनमा केन्द्रित थियो । विभागीय मन्त्रालयको नेतृत्वमा रहेर समस्या समाधान गर्न नसकेको भन्दै प्रधानमन्त्री शाह उनीसँग असन्तुष्ट रहेको स्रोतको दाबी छ । समस्या तत्काल सम्बोधन गर्न नसके यादवलाई ‘असक्षम’ भन्दै पदबाट हटाउने तयारीसमेत भएको र त्यसअघि नै उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।

यादव यसअघि पनि मन्त्रालयका निर्णय र गतिविधिका कारण प्रधानमन्त्रीको असन्तुष्टिमा परेकी थिइन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुअघि नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरूसँग मन्त्रालयमै भेट गरेको विषयमा समेत प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।

यही प्रकरणमा प्रधानमन्त्रीले प्रहरी नेतृत्वलाई मन्त्री यादवलाई पक्राउ गर्न निर्देशन दिएको र प्रहरी प्रमुखले बहालवाला मन्त्रीलाई सिधै पक्राउ गर्न नमिल्ने बताएपछि प्रक्रिया रोकिएको समाचारहरू सार्वजनिक भएका थिए । यद्यपि, उक्त घटनाबारे सरकारका तर्फबाट औपचारिक पुष्टि भएको छैन ।

१५३ दिनमै राजीनामा
चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएकी यादवले करिब १५३ दिन मन्त्रालय सम्हालिन् । राजीनामापछि उनी मन्त्रालयबाट भावुक हुँदै बाहिरिएकी थिइन् ।

यादवभन्दा अघि बालेन सरकारबाट बाहिरिने मन्त्री थिए-दीपक साह । चैत १३ गते सरकार गठन हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अतिरिक्त जिम्मेवारीसमेत सम्हालेका थिए ।

तर, आफ्नी श्रीमती जुनू श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गराउन प्रभाव पारेको आरोप लागेपछि शाहले साहलाई पदबाट हटाएका थिए । श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा लगातार अनुपस्थित भएर रिक्त भएको पदमा पुनः निरन्तरता दिन दबाब दिएको आरोप साहमाथि लागेको थियो ।

पछि स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई नयाँ सदस्यका रूपमा नियुक्त गरेपछि विवाद थप चर्किएको थियो । सामाजिक सञ्जालमा विरोध बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत प्रधानमन्त्री शाहलाई पत्र लेखेर साहलाई पदमुक्त गर्न आग्रह गरेका थिए ।

चैत १३ गते शपथ लिएका साह २६ चैतमै पदमुक्त भएका थिए । अर्थात्, उनको मन्त्री पदको कार्यकाल १३ दिनमै टुंगिएको थियो ।

साहलाई हटाएपछि श्रम मन्त्रालयको जिम्मेवारी रामजी यादव र उद्योग मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको थियो ।

विवादित गृहमन्त्रीलाई भने पुनः जिम्मेवारी
बालेन सरकारमा मन्त्री हटाउने घटनासँगै विवादित मन्त्रीलाई पुनः जिम्मेवारी दिने निर्णय पनि भएको छ ।

सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्तिसम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गरिएको थियो ।

छानबिन समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दा पनि सम्पत्ति विवरणसम्बन्धी प्रणालीगत समस्या देखाउँदै प्रतिवेदन बुझाएको दाबी गरिएको छ । त्यसपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरेका थिए ।

वैशाख ९ गते राजीनामा दिएका गुरुङ जेठ २६ गते पुनः गृहमन्त्री बने। तर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । प्रतिवेदन गोप्य राखिएपछि त्यसको निष्कर्ष र सरकारको निर्णयमाथि प्रश्नसमेत उठ्दै आएको छ ।

यसरी बालेन सरकारको सुरुवाती ६ महिनाको राजनीतिक अभ्यास हेर्दा एकातिर विवादित मन्त्रीलाई पदबाट हटाइएको छ भने अर्कोतिर छानबिनपछि उही मन्त्रीलाई पुनः जिम्मेवारी दिइएको छ । उद्योगमन्त्री यादवको पछिल्लो राजीनामाले भने सरकारभित्र मन्त्रीहरूको कार्यसम्पादन, निर्णय प्रक्रिया र प्रधानमन्त्रीसँगको सम्बन्धलाई फेरि बहसमा ल्याएको छ ।

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका हुन् ।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको ग्यास उद्योगीहरूले विरोध जनाउँदै प्रधानमन्त्री शाहसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

अभिव्यक्तिलाई लिएर विवाद बढ्दै गएपछि मन्त्री यादवले राजीनामा दिएकी हुन् ।

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवाको भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो । 

नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकामा दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकौँलगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भयो । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।

मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रमा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो । त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन् । त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजारभन्दा धेरैको उद्धार गरिएको छ । बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, डयुटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेको नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो ।

त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए । चारैतिर हिलोको साम्राज्यजस्तो भयो । दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो भयो । बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीचमा रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार  बन्न पुग्यो ।

बाढीको उग्ररुपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसो बगाएकाले वारि–पारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पना बाहिर थियो । यही विभिषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रनुभयो ।

त्यस दिनको घटनाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो । मौसम असाध्यै प्रतिकूल थियो । बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए । हावाको गति तीव्र थियो । यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो ।” 

त्यसबेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए । ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो । ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो । सैनिक पोशाकजस्तै कडा मिहिनेत झल्किने पोशाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उहाँ ओर्लिनुभएको थियो ।

हेलिकप्टरको इन्जिन बन्द नहुँदै उहाँ आफैँ हिलोमा कुद्दै अघि बढ्नुभयो । पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उहाँ आफैँ खटिनुभयो । पहिरोको हिलो र पीडितको आँसुका बीच उहाँले त्यो सक्रियता साच्चिकै  मानवीयताले  भरिएको देखिन्थ्यो ।

सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ । तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्य प्रायः भिजिबिलिटी (दृश्यता) का बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान भनुभयो । एकपटक उड्नु, घाइतेलाई काठमाण्डौ वा सुरक्षित अस्पताल पुर्‍याउनु अनि फेरि तुरुन्तै रसुवाको जोमखिमयुक्त आकाशमा फर्किनु यो कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, वीरलै देखिने साहस थियो । 

हरेक पटक हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा बस्नेहरूका आँखामा आशाको त्यान्द्रो पलाउँथ्यो भने उहाँ फर्किंदा कयौँको जीवन जोगिइसकेको हुन्थ्यो । हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उहाँले आफ्नो पसिना पुछ्दै भन्नुभयो, “जब म ककपिटमा बस्छु र कप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन । मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन् । उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पुर्‍याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो ।”

त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो । तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गर्नुभयो । दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेन अधिकारीको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ ।

मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ । बाढीपछि रसुवा पुगेपछि क्याप्टेन अधिकारीको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो ।

यसबीचमा उहाँले १०० भन्दा बढी उद्धार उडान गर्नुभयो । विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उहाँको हेलिकप्टर निरन्तर उडिनै रह्यो । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।