काठमाडौं । मुस्लिम समुदायको महान् पर्व इद उल फित्र आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ । एक महिनासम्म रोजा (व्रत) पूरा गरेका मुस्लिम धर्मावलम्बीले बिहानै मस्जिद तथा इदगाहमा भेला भई विशेष नमाज अदा गरेका छन् ।

नमाजपछि एकअर्कासँग अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ भने घर–घरमा गई ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया दिने चलन पनि आजैबाट सुरु हुन्छ । आफन्त तथा पाहुनालाई सेवई, खजुर लगायत परिकार खुवाएर स्वागत गरिन्छ ।
यस पर्वको मुख्य विशेषता दान र सहयोग पनि हो । मुस्लिम धर्मअनुसार आर्थिक रूपमा सक्षम व्यक्तिले आफ्नो आम्दानीको निश्चित अंश दान गर्ने प्रचलन छ, जसलाई ‘जकात’ भनिन्छ । साथै, ‘सदकातुल फित्र’ का रूपमा प्रत्येक व्यक्तिले आफ्नो हैसियतअनुसार गहुँ वा नगद दान गर्ने चलन पनि छ, जसले गरिब तथा असहायलाई सहयोग पु¥याउँछ ।
इद उल फित्रको मिति चन्द्रमाको अवलोकनका आधारमा निर्धारण गरिन्छ। रमजान महिनाको अन्त्यसँगै चन्द्रमा देखिएपछि यो पर्व मनाउने गरिन्छ ।
काठमाडौँस्थित जामे मस्जिदसहित देशभरका मस्जिदहरूमा विशेष नमाजको आयोजना गरिएको छ । मुस्लिम समुदायका अगुवाहरूका अनुसार यो पर्व आपसी सद्भाव, क्षमा र सहयोगको सन्देश दिने महत्वपूर्ण अवसर हो ।
इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।











