काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अपेक्षाभन्दा कमजोर आएको निष्कर्ष निकाल्दै पराजयका कारणबारे विस्तृत समीक्षा प्रतिवेदन पठाउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ।

पार्टी केन्द्रीय कार्यालयले प्रदेश तथा जिल्ला कार्यसमितिका साथै प्रतिनिधिसभाका उम्मेदवारहरूलाई परिपत्र जारी गर्दै हारका कारण खोजी गरी प्रतिवेदन केन्द्रमा बुझाउन भनेको हो। साथै, सम्बन्धित तहमा तत्काल अनुशासन समिति गठन गर्न पनि निर्देशन दिइएको छ।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा अपेक्षाअनुसार नआएको उल्लेख गर्दै त्यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन आग्रह गरिएको छ।
पार्टीको विधान–२०१७ को धारा ३४ अनुसार प्रदेश र जिल्ला तहमा अनुशासन समिति गठन नभएको भए तत्काल गठन गरी संयोजक र सदस्यहरूको नाम तथा सम्पर्क विवरणसहित केन्द्रमा पठाउन भनिएको छ।
त्यस्तै निर्वाचन परिणाम, पराजयका कारण, प्राप्त अनुभव, सुझाव र आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष समेटेर प्रदेश, जिल्ला तथा उम्मेदवारहरूले आ–आफ्नो विस्तृत प्रतिवेदन तयार गरी पठाउन पार्टीले आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण तथा निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र अनिवार्य रूपमा केन्द्रमा पठाइसक्न समयसीमा तोकेको जनाएको छ।











