काठमाडौं । देशका विभिन्न क्षेत्रमा आजदेखि तीव्र हावाहुरीको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार आज अपराह्नदेखि भोलि बिहानसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।
विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा बागमतीका नवलपुर र चितवन, मधेसका बारा, पर्सा र धनुषा तथा कोशीका झापा र मोरङ जिल्लामा बढी प्रभाव पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जारी बुलेटिनअनुसार हावाहुरी बुधबार अपराह्न ४ बजेदेखि सुरु भई बिहीबार बिहान ६ः४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गएको छ । यस प्रणालीको प्रभाव देशका धेरै स्थानमा देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।











