काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेटको तयारीस्वरूप गठन गरिएको उक्त समितिको संयोजकका रूपमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तर खत्रीलाई जिम्मेवारी दिइएको छो ।
समितिले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्ने, आयोजना तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारणमा सहजीकरण गर्ने तथा संसदमा प्रस्तुत गरिने विनियोजन विधेयकको तयारी गर्नेछ । साथै, सम्पूर्ण बजेट मस्यौदा तयार गरी पेश गर्ने दायित्व पनि यही समितिले वहन गर्नेछ ।
समितिमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न महाशाखाका प्रमुखहरू सदस्यका रूपमा सहभागी छन् । सदस्यहरूमा सहसचिवहरू सुमन दाहाल, धानिराम शर्मा, महेश भट्टाराई र शिवनन्द पोखरेल रहेका छन् ।
उता, राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरिसकेको छ, जसका आधारमा बजेट निर्माण प्रक्रिया अघि बढाइनेछ ।










