काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले थापाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारीस्वरूप पेश गरेको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ ।’
निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका थिए। तर, पार्टीको केन्द्रीय कार्यालय सानेपामा दुई दिनसम्म बसेको बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको चालिसेले बताए ।
यस निर्णयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका थिए । शनिबार नै बैठकले राजीनामा अस्वीकार गरेको भए पनि औपचारिक रुपमा निर्णय बाहिर आउन केही समय लागेको जनाइएको छ ।










