बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रसहित ढोरपाटनमा शुक्रबारदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन यतिबेला बाक्लो हिउँले ढाकिएको छ, जसले सम्पूर्ण क्षेत्र सेताम्य बनेको हो ।

स्थानीयका अनुसार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । ढोरपाटन नगरपालिका–९ का धनबहादुर विकले हिमपातका कारण दैनिक कामकाजमा समस्या उत्पन्न भएको बताए । विशेषगरी पशुचौपायालाई घाँस–दानाको व्यवस्था गर्न कठिन भएको उनको भनाइ छ ।
केही दिनदेखि भइरहेको सामान्य वर्षापछि अचानक हिमपात हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेका छन् । हिँडडुल गर्नसमेत असहज बनेको छ भने खेतबारीको काम पनि प्रभावित भएको छ । आलु रोप्ने सिजनका लागि बोबाङ र अधिकारीचौरबाट ढोरपाटन पुगेका किसानहरू हिमपातका कारण काम रोक्न बाध्य भएका छन् ।
स्थानीयले चैत महिनामा यस्तो प्रकारको हिमपात असामान्य भएको बताए ।











