
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन गर्न अझै करिब १० दिन लाग्ने जनाएको छ । पार्टी सचिवालयको पछिल्लो बैठकमा यो जानकारी सार्वजनिक गरिएको हो ।
यसअघि, केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालयको बैठक बसिरहेको छ । आज सचिवालयको भर्चुअल बैठकमा समानुपातिक सांसदहरूको सूची चयन गर्ने कार्य समेत सञ्चालन हुँदैछ ।
काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहानैदेखि पश्चिमी क्षेत्रमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा वर्षा भइरहेको छ र अब यो प्रणाली पूर्वतर्फ सर्दै चितवनसम्म आइपुगेको हो।
पछिल्लो जानकारीअनुसार गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भइसकेको छ। विभागले मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको, कोसी र गण्डकी प्रदेशमा आंशिक बादल रहेको जनाएको छ। तराई र उपत्यकाका केही स्थानमा हल्का हुस्सु पनि परेको छ।
हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही उच्च भुभागमा हल्का हिमपात हुन सक्छ। विभागका अनुसार आगामी केही दिनमा मौसम बदली रहिरहनेछ।
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीय बासिन्दालाई वितरण गरिने शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ । बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिने कम्पनीले जनाएको छ ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गतेसम्म र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत ११ गतेसम्म र ढिलोमा चैत २२ गतेसम्म खुला रहने जनाइएको छ ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
काठमाडौं । उत्तर कोरियाले शनिबार पूर्वी समुद्री क्षेत्रतर्फ करिब १० वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ। दक्षिण कोरियाले यसलाई एसिया क्षेत्रमा बढ्दो तनावबीच गरिएको ठूलो सैन्य शक्ति प्रदर्शनका रूपमा व्याख्या गरिएको हो।
दक्षिण कोरियाली सेनाका अनुसार ती मिसाइल राजधानी प्योङयाङनजिकैको सुनान क्षेत्रबाट प्रक्षेपण गरिएका थिए। मिसाइलहरूले करिब ३४० देखि ३५० किलोमिटर दूरी तय गरेपछि समुद्रमा खसेका थिए। तिनको दिशा जापानतर्फको समुद्री क्षेत्र भएको जनाइएको छ।
अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा संलग्न रहेको समयमा उत्तर कोरियाले गरेको यो मिसाइल प्रहारलाई क्षेत्रीय सुरक्षा दृष्टिले गम्भीर रूपमा हेरिएको छ। वासिङ्टन र सोलले उक्त अभ्यासलाई रक्षात्मक बताउँदै आएका छन् भने उत्तर कोरियाले यसलाई आक्रमणको तयारीका रूपमा आरोप लगाउने गरेको छ। विज्ञहरूका अनुसार यस्ता अभ्यासको प्रतिक्रियास्वरूप उत्तर कोरियाले प्रायः मिसाइल परीक्षण वा प्रक्षेपण गर्ने गरेको छ।
मिसाइल प्रक्षेपणपछि दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले क्षेत्रमा निगरानी र सतर्कता बढाइएको जनाएको छ। जापानले पनि ती मिसाइल आफ्नो विशेष आर्थिक क्षेत्रबाहिर खसेको र कुनै क्षति नभएको पुष्टि गरेको छ।
यस घटनाले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको विश्लेषण गरिएको छ। पछिल्ला दिनमा अमेरिकी रक्षा स्रोतको सम्भावित पुनःतैनाथी र विश्वव्यापी तनावका कारण क्षेत्रीय शक्ति सन्तुलनबारे पनि बहस तीव्र बनेको छ।
यसबीच अमेरिका र उत्तर कोरियाबीच सम्भावित कूटनीतिक संवादबारे चर्चा चलिरहे पनि प्योङयाङले त्यसबारे स्पष्ट संकेत दिएको छैन। केही रिपोर्टहरूमा उत्तर कोरियाले राम्रो सम्बन्धका लागि आफ्नो आणविक हैसियतलाई मान्यता दिनुपर्ने मागतर्फ संकेत गरेको उल्लेख गरिएको छ।
लगातार मिसाइल परीक्षण र प्रक्षेपणका कारण उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धको सामना गरिरहेको छ। तर पनि उसले आफ्नो हतियार कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ। विश्लेषकहरूले पछिल्लो प्रक्षेपणलाई पनि सैन्य क्षमता प्रदर्शन गर्दै सम्भावित सन्देश दिने रणनीतिका रूपमा लिएका छन्।
दक्षिण कोरियाबाट अमेरिकी रक्षा सामग्री स्थानान्तरणको चर्चा
यसैबीच, इरानसँगको तनावका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ केही रक्षा सामग्री अन्य क्षेत्रमा सारिरहेको हुन सक्ने चर्चा पनि बढेको छ। स्थानीय सञ्चारमाध्यमहरूले सुरक्षा क्यामेराका फुटेज र तस्बिरलाई उद्धृत गर्दै अमेरिकाले इरानविरुद्धको अभियानलाई सहयोग गर्न दक्षिण कोरियाबाट केही मिसाइल रक्षा उपकरण स्थानान्तरण गरिरहेको अनुमान गरेका छन्।
रिपोर्टका अनुसार दक्षिण कोरियाको सियोङ्जुस्थित अमेरिकी टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणालीबाट ‘इन्टरसेप्टर’ मिसाइलहरू पश्चिम एसियातर्फ सारिएको हुनसक्ने बताइएको छ।
यद्यपि राष्ट्रपति ली जे म्युङको कार्यालयले अमेरिकी सैन्य अभियानसम्बन्धी विवरण पुष्टि गर्न नसकिने जनाएको छ। साथै सम्भावित स्थानान्तरणले आणविक हतियार सम्पन्न उत्तर कोरियाविरुद्धको रक्षा तयारीमा कुनै असर नपर्ने पनि स्पष्ट पारेको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी ब्याटर सलमान अली आगामाथि अनुशासन उल्लङ्घन गरेको भन्दै जरिवाना तथा डिमेरिट अङ्क दिएको छ।
मिरपुरमा भएको बङ्गलादेशविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा उनले मैदानमा असन्तुष्टि जनाउँदै आफ्नो पञ्जा र हेल्मेट फ्याँकेपछि आईसीसीले कारबाही गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि खेलिरहेका आगा ३९औँ ओभरमा अनौठो तरिकाले रनआउट भएका थिए। ६२ बलमा ६४ रन बनाएका उनी नन–स्ट्राइकर एन्डमा क्रिज बाहिर रहेका बेला मोहम्मद रिजवानले खेलेको बल उनको खुट्टानजिक पुगेको थियो। आगाले बल उठाएर बलरलाई दिन खोज्दा बङ्गलादेशका मेहदी हसन मिराजले स्टम्पतिर बल प्रहार गर्दै उनलाई रनआउट गरेका थिए। त्यसपछि आगा आक्रोशित बनेका थिए।
उक्त खेलमा पाकिस्तानले बङ्गलादेशलाई डकवर्थ–लुइस नियमका आधारमा १२८ रनले पराजित गरेको थियो। पहिलो खेल भने बङ्गलादेशले ८ विकेटले जितेको थियो। शृङ्खलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदैछ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७० कायम भएको महासंघले जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अपेक्षाभन्दा कमजोर आएको निष्कर्ष निकाल्दै पराजयका कारणबारे विस्तृत समीक्षा प्रतिवेदन पठाउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयले प्रदेश तथा जिल्ला कार्यसमितिका साथै प्रतिनिधिसभाका उम्मेदवारहरूलाई परिपत्र जारी गर्दै हारका कारण खोजी गरी प्रतिवेदन केन्द्रमा बुझाउन भनेको हो। साथै, सम्बन्धित तहमा तत्काल अनुशासन समिति गठन गर्न पनि निर्देशन दिइएको छ।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा अपेक्षाअनुसार नआएको उल्लेख गर्दै त्यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन आग्रह गरिएको छ।
पार्टीको विधान–२०१७ को धारा ३४ अनुसार प्रदेश र जिल्ला तहमा अनुशासन समिति गठन नभएको भए तत्काल गठन गरी संयोजक र सदस्यहरूको नाम तथा सम्पर्क विवरणसहित केन्द्रमा पठाउन भनिएको छ।
त्यस्तै निर्वाचन परिणाम, पराजयका कारण, प्राप्त अनुभव, सुझाव र आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष समेटेर प्रदेश, जिल्ला तथा उम्मेदवारहरूले आ–आफ्नो विस्तृत प्रतिवेदन तयार गरी पठाउन पार्टीले आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण तथा निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र अनिवार्य रूपमा केन्द्रमा पठाइसक्न समयसीमा तोकेको जनाएको छ।





