काठमाडौं । देशका विभिन्न भागमा आगामी शनिबार (चैत ७)सम्म मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ । मेघगर्जन, चट्याङ र असिनापानीसहित हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि शनिबारसम्म मधेस प्रदेशका साथै कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने देखिएको छ । यस अवधिमा मौसम अचानक बिग्रिन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।
हावाहुरीका कारण कमजोर रुख ढल्ने, घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । यसले हवाई तथा सडक यातायातमा पनि अवरोध ल्याउन सक्ने जनाइएको छ ।
महाशाखाले हाल सक्रिय मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै अवस्थाअनुसार थप सूचना अद्यावधिक गरिने जनाएको छ । नागरिकलाई आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरिएको छ ।











