काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न क्षेत्रमा मौसम प्रतिकूल रहने चेतावनी दिँदै सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको आगामी तीन दिनको पूर्वानुमानले विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा शुक्रबार दिउँसो केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना देखाएको हो ।
यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत दाङ, नेपालगन्ज लगायत तराई आसपासका जिल्लामा शुक्रबारदेखि नै तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ । साथै शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपास पनि झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको समय भएकाले यस्ता हावाहुरीले रुख ढल्ने, कमजोर घर तथा संरचनामा क्षति पुग्ने, छाना उड्ने र विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुने जोखिम उच्च रहेको बताइएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएको तथ्यले सतर्कता अझ आवश्यक देखाएको छ ।
प्राधिकरणले नागरिकलाई हावाहुरी चल्दा घरभित्रै सुरक्षित रहन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू नियन्त्रणमा राख्न र सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन सुझाव दिएको छ। भीडभाडमा परेमा आत्तिनु नपर्ने र शान्त रूपमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरिएको छ ।
यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको तार नछुन र यस्ता अवस्थामा विद्युतीय उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले सबैलाई सचेत गराएको छ ।











