काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय छलफल आह्वान गरेका छन् । यसका लागि बिहीबार अर्थ मन्त्रालयमा विशेष बैठक आयोजना गरिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बिहान ११ बजे सुरु हुने उक्त बैठक करिब एक घण्टा चल्ने तय गरिएको छ ।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन् । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि बैठकमा उपस्थित रहनेछन् । राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको समेत सहभागिता रहने बताइएको छ ।
बैठकमा विशेषगरी राजश्व छली तथा चोरी पैठारी नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने छ । साथै अर्थमन्त्री वाग्लेले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।










