
काठमाडौं । आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित यो दिवस मनाउने परम्परा रहँदै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिवसका अवसरमा देशभर रोजगारदाता, श्रमिक तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । श्रमिकको हकअधिकार, न्यूनतम पारिश्रमिक, जीवनस्तर सुधार, तथा अनौपचारिक क्षेत्रलाई औपचारिक दायरामा ल्याउने विषयमा छलफल हुने बताइएको छ ।
अन्तरराष्ट्रिय रूपमा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको सम्मेलनको निर्णयअनुसार सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने विसं २००७ मा विराटनगर मजदुर आन्दोलनपछि यसको सुरुआत भएको इतिहास छ । विसं २०४६ पछि सरकारले यस दिन सार्वजनिक बिदा दिन थालेको हो ।
दिवसलाई श्रमिकहरूले आफ्ना अधिकार सुनिश्चित गर्न दबाब दिने अवसरका रूपमा लिने गरेका छन् । पछिल्ला दशकहरूमा सरकारले औपचारिक रूपमा कार्यक्रम आयोजना गर्दै श्रमिक हितका नीति र कार्यक्रमहरू अघि बढाउँदै आएको छ ।
सरकारका अनुसार नेपालमा श्रम कानुन कार्यान्वयन, सामाजिक सुरक्षा, वैदेशिक रोजगार व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणमा सुधार हुँदै आएको छ । श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ कार्यान्वयनमा रहेको र आवश्यक संशोधनका लागि तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० निर्धारण गरिएको छ भने प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गर्ने व्यवस्था छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन् ।
नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन्, जसले अर्थतन्त्रमा विप्रेषणमार्फत महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न दीर्घकालीन योजना अघि बढाएको जनाएको छ ।
प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा नयाँ चुनौतीहरू देखापरेका छन् । बढ्दो श्रमशक्तिलाई रोजगारी उपलब्ध गराउने विषय चुनौतीपूर्ण बन्दै गएकाले सरकार तथा सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
यसैबीच, सरकारले वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र पुँजीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको पनि जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ भने पेट्रोलियम पदार्थको केही मूल्य घटाएको जनाएको छ।
निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबारदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिशिलिन्डर १५० रुपैयाँ वृद्धि गरिएको हो। नयाँ मूल्यसूचीअनुसार १४.२ केजी ग्यासको मूल्य २१६० रुपैयाँ कायम भएको छ भने ७.१ केजी (आधा सिलिन्डर) ग्यास १०८० रुपैयाँ पर्नेछ।
यससँगै निगमले पेट्रोल र डिजेलको मूल्यमा भने कटौती गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले घटाइएको जानकारी दिइएको छ।
त्यसैगरी हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरिएको निगमले जनाएको छ।
नयाँ समायोजनपछि पेट्रोलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर २१४.५०, २१६ र २१७ रुपैयाँ कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि वर्गअनुसार क्रमशः २२२.५०, २२४ र २२५ रुपैयाँ पुगेको छ।





