
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७३ अंकले घटेर दुई हजार ७३८ दशमलव ७२ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ९८ धितोपत्रको शेयर मूल्य बढ्दा १६१ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
आज उत्पादन तथा प्रशोधन शून्य दशमलव ८४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
आज व्यापार शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ५२, विकास बैंक शून्य ४८, लगानी शून्य दशमलव ४२, माइक्रोफाइनान्स शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ४, होटेल तथा पर्यटन शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ०२ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
आज श्री एग्रिटेक इन्डीट्रिज १२ दशमलव ५७, शिखर पावर डेभलपमेन्ट बैंक ७ दशमलव ९१, एशियन हाइड्रोपावर ७ दशमलव ८८, रिभर फल्स पावर ४ दशमलव ९५ र एसवाई प्यानल नेपालको शेयर मूल्य ३ दशमलव ८१ प्रतिशतले बढेको छ ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक १० दशमलव ३८, माइ खोला हाइड्रोपावर ९ दशमलव ११, एनआईसी एशिया ग्रोथ फण्ड ४ दशमलव ८१ र सोलु हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १८ प्रतिशतले घटेको छ ।
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा गोला प्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो ।
कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
उक्त आईपीओमा अत्यधिक आवेदन परेको थियो । २७ लाख ३० हजार ९८७ जना आवेदकबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरका लागि माग गरिएको थियो ।
मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोला प्रथा विधिबाट गरिएको हो । जसअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ११५ रुपैयाँले ओरालो लागेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढ्दै सन् २०२२ यताकै उच्च विन्दुमा पुगेको हो । होर्मुज जलमार्गमार्फत हुने तेल आपूर्तिमा दीर्घकालीन अवरोध आउन सक्ने चिन्ताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ ।
अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यातमा असर पर्ने सम्भावना देखिएको छ । त्यसमाथि आणविक सम्झौतासम्बन्धी वार्ता रोकिँदा आपूर्ति प्रणालीमा अनिश्चितता बढेको र त्यसले तेल बजारमा मूल्य चर्किन थप भूमिका खेलेको बताइएको छ ।
ताजा रिपोर्टअनुसार विश्व बजारको प्रमुख मानक ब्रेन्ट क्रुडको मूल्य बढेर प्रतिब्यारेल १२० डलर पुगेको छ । यो पछिल्लो एक महिनाकै उच्च स्तर मानिएको छ । यस्तै अमेरिकी डब्लुटिआई क्रुड पनि बढेर प्रतिब्यारेल १०७.०९ डलर पुगेको छ । लगातार आठ दिनदेखि तेलको मूल्य बढ्दो क्रममा रहेको देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीलाई इरानमाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी गर्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उक्त समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप उकालो लागेको जनाइएको छ ।
विशेषगरी पश्चिम एसियाबाट हुने तेल आपूर्तिमा असर पर्ने आशंकाले बजारमा अस्थिरता बढेको छ । होर्मुज जलमार्ग खुला राख्ने विषयमा इरानले प्रस्ताव गरे पनि अमेरिकाले त्यसलाई स्वीकार नगरेको खबर सार्वजनिक भएपछि लगानीकर्तामा थप चिन्ता बढेको छ ।
अमेरिकी नीतिमा तत्काल परिवर्तन नआउने संकेतसँगै ऊर्जा बजारमा आपूर्ति संकट लम्बिन सक्ने अनुमान गरिएको छ । यसबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानप्रति कडा चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्, जसले भू–राजनीतिक तनाव अझ बढाउने संकेत देखिएको छ ।
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर निष्काशन गरेको हो ।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ८ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
स्थानीयतर्फ छुट्याइएको शेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का अति प्रभावित बासिन्दालाई वितरण गरिनेछ । बाँकी ५ लाख १६ हजार कित्ता भने सोही नगरपालिकाका वडा १ र २ बाहेक अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ । यसका लागि नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित स्थानीयका लागि आवेदन अवधि छिटोमा वैशाख ३१ गतेसम्म र आवश्यक परेमा जेठ १८ गतेसम्म लम्बिन सक्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म रहनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाएको छ ।





