२०८३ बैशाख १५ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १५ मंगलवार

काठमाडौं । मंगलबार शेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव १६ अंकले ओरालो लाग्दै २ हजार ७७० दशमलव २६ विन्दुमा झरेको हो ।

आज १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका ३४९ धितोपत्रमध्ये ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत सूचकतर्फ अन्य समूहको उपसूचक शून्य दशमलव ७३ प्रतिशतले बढे पनि बाँकी १२ उपसूचक ओरालो लागेका छन् । यसदिन होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

आज उत्पादन तथा प्रशोधन २ दशमलव ४६, हाइड्रोपावर १ दशमलव ७४, विकास बैंक १ दशमलव २२, बैंकिङ शून्य दशमलव ८४, फाइनान्स शून्य दशमलव ६१, लगानी शून्य दशमलव ४७, माइक्रोफाइनान्स शून्य दशमलव ४४, व्यापार र निर्जीवन बीमा समूह समान शून्य दशमलव ३९, म्युचुअल फण्ड शून्य दशमलव ३१ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज आरबीबी म्युचुअल फण्डको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै रिज लाइन इनर्जी १० दशमलव २७, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९ दशमलव ९४, सिटी होटल ९ दशमलव २५ र भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

कार्यालयका अनुसार देशको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा यो आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो ।

यस वर्ष विभिन्न क्षेत्रहरूको आर्थिक वृद्धिदर फरक–फरक रहने देखिएको छ । सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशत हुने अनुमान छ ।

त्यसपछि वित्तीय तथा बिमा सेवा क्षेत्रमा ९.१६ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ८.२१ प्रतिशत, होटल तथा रेस्टुरेन्ट (आवास तथा भोजन सेवा) मा ७.१२ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रमा ५.७९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रमा ५.५३ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवामा ४.५२ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा ४.०४ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.५२ प्रतिशत वृद्धि हुने अनुमान छ ।

यस्तै, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ३.२७ प्रतिशत, उद्योग क्षेत्रमा २.८३ प्रतिशत, घरजग्गा कारोबारमा २.६९ प्रतिशत र अन्य सेवासम्बन्धी क्रियाकलापमा २.६५ प्रतिशत वृद्धि देखिएको छ ।

निर्माण क्षेत्रमा २.३१ प्रतिशत, पानी आपूर्ति तथा फोहोर व्यवस्थापनमा १.९९ प्रतिशत, शिक्षा क्षेत्रमा १.५० प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.२८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

सबैभन्दा कम वृद्धि सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा ०.२३ प्रतिशत रहने तथ्याङ्क कार्यालयको प्रक्षेपणमा उल्लेख छ ।

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । आजबाट देशभर नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिक सत्र प्रारम्भ गर्ने व्यवस्था लागू गरिएको हो ।

यसअघि वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आए पनि वार्षिक परीक्षा सम्पन्न नहुँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया अघि बढाउने प्रवृत्ति रोक्न नयाँ मिति निर्धारण गरिएको हो । इन्धन आपूर्तिमा हुने असहजतालाई समेत ध्यानमा राख्दै सरकारले वैशाख १५ देखि मात्रै विद्यालय भर्ना प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि केही स्थानीय तहको सहजीकरणमा तोकिएको समयअघि नै विद्यार्थी भर्ना गरिएको पाइएको छ ।

सरकारले चैत २२ गते निजी विद्यालयहरूले कानूनविपरीत असुल गरेका भर्ना तथा अन्य शुल्क फिर्ता गराउन निर्देशन जारी गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ विपरीत उठाइएका शुल्क कानूनी प्रक्रियामार्फत फिर्ता गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

यसैबीच, वार्षिक परीक्षाको नतिजा सार्वजनिक नभई तथा आवश्यक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा विद्यालयहरूले भर्ना सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।

अदालतले परीक्षा नतिजा, शैक्षिक सत्र र प्रमाणपत्र वितरणबीच समन्वय आवश्यक रहेको बताउँदै सम्बन्धित निकायलाई कानूनअनुसार कार्य गर्न निर्देशन दिएको छ । साथै, विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरिएको छ ।

शिक्षा मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत ५ गते जारी सूचनामार्फत वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन भएपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो।

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष राजीनामा पेश गरेका थिए, जसलाई स्वीकृतिसमेत भइसकेको बताइएको छ ।

चापागाईंलाई २०८१ चैत १९ गते मन्त्रिपरिषद्को निर्णयमार्फत नेप्सेको सीईओमा नियुक्त गरिएको थियो भने बस्याल २०८२ भदौ २० गते अध्यक्ष पदमा नियुक्त भएका थिए ।

यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि पदबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।