
काठमाडौं । विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोलसहित ५८ राउन्ड गोली फेला पारेको छ ।
काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती क्षेत्रमा रहेको विष्णुमती खोला किनारमा सरसफाइका क्रममा उक्त हतियार फेला परेको हो । महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले आइतबार बिहान पेस्तोल र गोली भेट्टाएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
फेला परेको सामग्रीमा चार थान पेस्तोल, ५८ राउन्ड गोली तथा ७ थान म्यागजिन रहेका छन् । बरामद पेस्तोल टाइप–५४ रहेको प्रहरीको भनाइ छ ।
सूचनापछि प्रहरी वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेर हतियार तथा गोली संकलन गरेको थियो ।
प्रहरीका अनुसार बरामद पेस्तोल प्रहरीकै हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हतियार हुनसक्ने आशंका पनि गरिएको छ । यद्यपि, ती हतियार केही दिनअघि मात्र फालिएको हुन सक्ने संकेत देखिएको एसपी भट्टराईले बताएका छन् ।
उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा सुरक्षा अवस्था पुनः तनावपूर्ण बनेको छ। केही दिनअघि मात्र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले प्योङयाङले आणविक हतियार विकासमा उल्लेखनीय प्रगति गरिरहेको चेतावनी दिएको पृष्ठभूमिमा भएको यो परीक्षणलाई अन्तर्राष्ट्रिय रूपमा गम्भीर रूपमा लिइएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू सिन्पो क्षेत्रबाट प्रक्षेपण गरिएका थिए र करिब १४० किलोमिटर उडानपछि पूर्वी समुद्री क्षेत्रमा खसेका थिए। घटनापछि दक्षिण कोरियाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै पूर्ण सतर्कता अपनाएको छ र संयुक्त राज्य अमेरिका तथा जापानसँग सूचना आदान–प्रदानलाई तीव्र बनाएको जनाएको छ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्दै उत्तर कोरियाका निरन्तर क्षेप्यास्त्र गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अधिकारीहरूले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्। विशेषगरी, यो परीक्षण दक्षिण कोरियाली राष्ट्रपति विदेश भ्रमणमा निस्कनु केही घण्टाअघि भएको कारण समयलाई लिएर पनि विश्लेषण भइरहेको छ।
अमेरिका र जापानले पनि प्रक्षेपणको पुष्टि गरेका छन्। अमेरिकी इन्डो–प्यासिफिक कमान्डले क्षेत्रीय स्थिरता र सहयोगी देशहरूको सुरक्षाप्रति प्रतिबद्धता जनाएको छ भने जापानले यो कदमले अन्तर्राष्ट्रिय शान्ति र संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूको उल्लङ्घन गरेको भन्दै कडा विरोध जनाएको छ।
सिन्पो क्षेत्र उत्तर कोरियाको पूर्वी तटमा पर्ने महत्त्वपूर्ण सैन्य तथा औद्योगिक केन्द्र हो, जहाँ पनडुब्बी निर्माणका लागि प्रमुख शिपयार्ड रहेको बताइन्छ। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले प्रक्षेपण पनडुब्बीबाट भएको हो वा जमिनबाट भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएका छन्।
यदि पनडुब्बीबाट परीक्षण भएको पुष्टि भएमा यो चार वर्षपछि उत्तर कोरियाको पहिलो पनडुब्बी–आधारित ब्यालेस्टिक मिसाइल परीक्षण हुनेछ। यसलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ, किनकि पानीमुनिबाट गरिएको प्रक्षेपण पत्ता लगाउन कठिन हुने भएकाले सुरक्षा चुनौती बढ्छ।
उत्तर कोरियाले पछिल्ला महिनाहरूमा लगातार हतियार परीक्षणहरू गर्दै आएको छ। गत साता नेता किम जोङ उनले युद्धपोतबाट गरिएको क्षेप्यास्त्र परीक्षण निरीक्षण गरेका थिए भने त्यसअघि पनि विभिन्न नयाँ हतियार प्रणालीहरूको परीक्षण गरिएको दाबी गरिएको थियो।
सन् २०१९ मा अमेरिका–उत्तर कोरिया आणविक वार्ता विफल भएपछि प्योङयाङले आफ्नो सैन्य कार्यक्रम विस्तारलाई तीव्र बनाएको देखिन्छ। यद्यपि भविष्यमा वार्ता सम्भावनाबारे संकेतहरू देखिए पनि आणविक निःशस्त्रीकरणको सर्तलाई लिएर दुबै पक्षबीच मतभेद कायम छ।
विश्लेषकहरूका अनुसार पछिल्ला गतिविधिहरू उत्तर कोरियाले आगामी कूटनीतिक वार्तामा आफ्नो मोलतोल क्षमता बलियो बनाउन अपनाएको रणनीति पनि हुन सक्छ। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले उत्तर कोरियामा आणविक उत्पादन गतिविधि तीव्र रूपमा बढिरहेको जनाएको छ, जसले उसको आणविक क्षमता अझ विस्तार भइरहेको संकेत गर्छ।
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशत हिस्सा बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।
उक्त शेयरका लागि आवेदन दिने अवधि वैशाख २२ गतेसम्म तोकिएको छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बढाएर वैशाख ३० गतेसम्म पु¥याइने कम्पनीले जनाएको छ ।
न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ७ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
काठमाडौं । सरकारले आइतबार र सोमबार (वैशाख ६–७) देशभरिका बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान सुरु गरेको हो ।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि वितरण गरिँदैछ ।
अभियान सफल बनाउन स्थानीय तहले विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको ज्योति सुधार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन र बालबालिकाको समग्र वृद्धि विकासमा सहयोग पु¥याउँछ । जुकाको औषधिले पेटका किरा हटाउनुका साथै कुपोषण, रक्तअल्पता, पेट दुख्ने र झाडापखालाजस्ता समस्याबाट जोगाउन मद्दत गर्छ ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम २०५० सालमा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्तार गरिएको हो । त्यसैगरी, जुकाको औषधि वितरण कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा लागू हुँदै आएको छ । हरेक वर्ष कात्तिक र वैशाख महिनामा यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले उकालो लागेर ५ हजार २२५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश मुख्यमन्त्रीहरूसँग प्रदेश सरकार सञ्चालन र सुधारसम्बन्धी छलफल गर्दैछ ।
दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने उक्त बैठकमा सातै प्रदेशका कांग्रेस सभापतिहरू, प्रदेश संसदीय दलका नेताहरू र मुख्यमन्त्रीहरू सहभागी हुनेछन् ।
बैठकमा प्रदेश मन्त्रालयको संख्या घटाउने, प्रदेश सरकारलाई थप प्रभावकारी र चुस्त बनाउने तथा आगामी रणनीतिबारे गहन छलफल हुने बताइएको छ ।
कांग्रेसले हाल मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदको नेतृत्व गरिरहेको छ ।





