
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नबन्ने निर्णय गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो कार्यगत स्वायत्तता सुनिश्चित गरेको छ ।
काठमाडौंमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई पार्टीको प्रत्यक्ष प्रभाव बाहिर राख्दै विद्यार्थीहरूको हितमा केन्द्रित स्वतन्त्र संस्था बनाउने प्रस्ताव पारित गरेको हो । यस निर्णयले नेविसंघलाई विद्यार्थी आन्दोलनमा सुधार र संस्थागत स्वायत्तताको बाटो खोलेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार बदलिंदो समय अनुसार विद्यार्थी आन्दोलनमा सुधार आवश्यक थियो । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली पूर्ण रूपमा स्वायत्त हुनेछ । पार्टीको भ्रातृसंस्था हुँदा विद्यार्थी संगठन र आन्दोलनमा प्रश्न उठ्न थालेकाले अब नेविसंघ विद्यार्थीहरूको विवेकअनुसार चल्ने स्वतन्त्र संस्था हुने बताइएको छ ।
सिनेट बैठकले नेविसंघको आगामी बैठक बैशाख २० र २१ गते आयोजना गर्ने निर्णय पनि गरेको छ ।
यो कदमले नेविसंघलाई राजनीतिक दलको प्रत्यक्ष प्रभावबाट अलग राख्दै विद्यार्थी हितमा केन्द्रित स्वतन्त्र संगठनको रूपमा अघि बढाउने संकेत दिएको छ ।
मकवानपुर । शुक्रबार अपराह्न परेको वर्षापछि आएको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका–८ मा पहिरो खस्दा साँझ करिब ५ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । पहिरोले सडक ढाकेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको छ भने अवरुद्ध सडक खुलाउने प्रयास तीव्र बनाइएको छ । स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गर्दै सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बताएका छन् ।
हाल उक्त सडकखण्डमा स्तरोन्नति अन्तर्गत चौडाइ विस्तार र कालोपत्रे गर्ने काम भइरहेको छ । पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्ने जनाइएको छ ।
काठमाडौं । चुनावी पराजयपछि राजीनामा दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा को राजीनामा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ ।
शुक्रबार (चैत ६) बसेको बैठकले थापाको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको सहमहामन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सात बुँदे प्रस्ताव प्रस्तुत गर्दै सभापतिको राजीनामा अस्वीकृत गर्न सुझाव दिएका थिए, जसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीसहित आफू पनि पराजित भएपछि थापाले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका थिए । तर, कार्यसमितिको निर्णयसँगै उनी पुनः सभापति पदमै कायम रहने भएका छन् ।
काठमाडौं । देशका विभिन्न भागमा आगामी शनिबार (चैत ७)सम्म मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ । मेघगर्जन, चट्याङ र असिनापानीसहित हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि शनिबारसम्म मधेस प्रदेशका साथै कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने देखिएको छ । यस अवधिमा मौसम अचानक बिग्रिन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।
हावाहुरीका कारण कमजोर रुख ढल्ने, घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । यसले हवाई तथा सडक यातायातमा पनि अवरोध ल्याउन सक्ने जनाइएको छ ।
महाशाखाले हाल सक्रिय मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै अवस्थाअनुसार थप सूचना अद्यावधिक गरिने जनाएको छ । नागरिकलाई आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरिएको छ ।
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।
निर्वाचनअघि सार्वजनिक गरिएको वाचा पत्रलाई कार्यान्वयन गर्ने उद्देश्यसहित रास्वपाले मन्त्रालयको संख्या घटाउने विषयमा गम्भीर छलफल थालेको हो । पार्टीभित्रै क–कसलाई मन्त्री बनाउने भन्नेबारे पनि आन्तरिक परामर्श तीव्र पारिएको छ ।
पार्टीका एक पदाधिकारीका अनुसार हाल मन्त्रालय संख्या १५ देखि १८ वटामा सीमित गर्ने प्रस्तावमा सहमति जुट्ने सम्भावना देखिएको छ । त्यस्तै, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेलाई मन्त्रिपरिषद्मा समावेश गर्ने गरी छलफल भइरहेको छ । प्रारम्भिक योजनाअनुसार अर्याललाई गृहमन्त्री र वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा विचार भइरहेको बताइएको छ ।
यसैबीच, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा तथा सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे र सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने विषयमा छलफल जारी रहेको जनाइएको छ । स्रोतका अनुसार शिशिर खनाललाई परराष्ट्र र सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत कुराकानी भइरहेको छ ।
सभामुख पद युवालाई दिने पार्टीको धारणा रहेको बताइएको छ, तर सो पदका लागि कसलाई चयन गर्ने भन्ने निर्णय भने अझै भएको छैन ।
सरकार गठनसँगै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी पनि भइरहेको छ । सो अवसरमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा विशिष्ट व्यक्तिहरूलाई निम्तो दिने विषयमा समेत छलफल भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
योजना अनुसार चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरिएको छ भने त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।
यसै सन्दर्भमा बिहीबार साँझ रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको थियो। स्रोत सेतोपाटी
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७८ सय रुपैयाँ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोला दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (चैत ६) बस्ने भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा सभापति गगन थापाले पेश गरेको राजीनामाबारे छलफल हुने बताइएको छ । साथै, हालै सम्पन्न निर्वाचनको परिणाम र त्यसको प्रारम्भिक समीक्षा पनि मुख्य एजेन्डाका रूपमा रहनेछ ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार बैठकमा निर्वाचनबारे प्रारम्भिक समीक्षा प्रस्तुत गरिनुका साथै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत पेश गरिने तयारी गरिएको छ ।
काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू सक्रिय रूपमा आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेबीच सरकार गठनका विषयमा प्रारम्भिक संवाद भएको हो ।
बालेन सचिवालयका अनुसार उक्त बैठकमा आगामी मन्त्रिपरिषद्को आकार, मन्त्रालयको बाँडफाँट तथा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिहरूको टुंगो लगाउने विषयमा छलफल केन्द्रित रहेको थियो । रास्वपा स्रोतले यी विषयमा सहमति जुटाउने प्रयास जारी रहेको जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइसकेको छ । राष्ट्रपति पौडेलले उक्त प्रतिवेदन अध्ययनपछि छिट्टै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लैले १८२ सिट जित्दै सशक्त उपस्थिति देखाएको छ, जसले सरकार गठनमा उसलाई निर्णायक शक्तिका रूपमा स्थापित गरेको छ ।
अभिमुखीकरणमा बालेन अनुपस्थित, कारणबारे विभिन्न अड्कलबाजी
रास्वपाले ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आयोजित दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति अपेक्षित थियो । सभापति लामिछाने स्वास्थ्य समस्याका बाबजुद समापन सत्रमा सहभागी भए पनि वरिष्ठ नेता बालेन्द्र शाह भने कार्यक्रममा पूर्ण रूपमा अनुपस्थित रहे ।
कार्यक्रममा सहभागी सांसदहरूका अनुसार शाहको उपस्थिति हुने अपेक्षा गरिएको थियो र उनका लागि छुट्टै स्थान तथा नामपट्टिका समेत तयार गरिएको थियो । तर, दुई दिनसम्म पनि उनी नआएपछि सांसदहरूबीच जिज्ञासा बढेको थियो ।
कार्यक्रम गरिएको होटेलका सञ्चालकसँग जोडिएको विवादित पृष्ठभूमि शाहको अनुपस्थितिको एक कारण हुन सक्ने बताइएको छ । उक्त विषयप्रति असन्तुष्टि जनाउँदै उनले कार्यक्रममा सहभागी नजनाएको स्रोतको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला घटनाक्रमले नयाँ राजनीतिक बहस सुरु गराएको छ । उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा महत्वपूर्ण एजेन्डा अघि सारिने संकेत दिएका हुन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्रमाथि छलफल तथा उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत हुने जानकारी दिए । उनका अनुसार नेतृत्वले लिएको नैतिक जिम्मेवारी सकारात्मक भए पनि अहिलेको मुख्य दायित्व भनेको उत्पन्न परिस्थिति सम्हाल्नु हो । उनले आगलागी नियन्त्रण गर्न खटिएको व्यक्तिलाई नै दोषारोपण गर्नु न्यायोचित नहुने तर्क गरेका छन् ।
यता, पार्टीका प्रवक्ता देवराज चालिसेले भने राजीनामा औपचारिक रूपमा दर्ता नभएको स्पष्ट पारेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र विधिवत् प्रक्रिया नपुगेको अवस्थामा यसबारे ठोस टिप्पणी गर्न नसकिने बताएका छन् । साथै, उनले आगामी बैठकमा यस विषयमा उपसभापतिबाट स्पष्टता आउने अपेक्षा व्यक्त गरे ।
सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएका थिए । यसै सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार अपराह्न १ बजे बस्ने तय भएको छ, जसले पार्टीभित्रको पछिल्लो संकटको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार शीर्ष नेता आज साँझ एक विशेष छलफलमा जुटेका छन्। उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी सार्वजनिक गरेका हुन्।
यद्यपि, छलफलको मुख्य एजेन्डा के हो भन्ने विषय खुलाइएको छैन। पछिल्लो राजनीतिक परिवेशका बीच भएको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उल्लेखनीय छ कि शाह यसअघि रास्वपाले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिएनन्, जसका कारण पनि यो भेटलाई चासोका साथ हेरिएको छ।




