काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि प्रधानमन्त्रीले उक्त निर्णय लिएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेले मन्त्री साहलाई पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । उक्त पत्रमा मन्त्री साहमाथि पदको दुरुपयोग गरेको आरोप उल्लेख गरिएको छ । विशेषगरी, आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा सदस्यका रूपमा नियुक्त गराउन भूमिका खेलेको निष्कर्ष पार्टीको केन्द्रीय अनुशासन आयोगले निकालेको जनाइएको छ ।
पत्रमा पार्टीको छवि, सिद्धान्त र मर्यादामा असर पर्ने देखिएकाले यस्तो कदम आवश्यक भएको उल्लेख गरिएको छ । साथै, पार्टी विधानअनुसार जिम्मेवारीबाट फिर्ता बोलाउने व्यवस्था प्रयोग गर्दै मन्त्रीलाई हटाउन सिफारिस गरिएको हो । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सुझाव दिइएको छ ।
मन्त्री साह पछिल्ला दिनमा विभिन्न विवादमा मुछिँदै आएका थिए । आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेका थिए । यसबारे रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।
महोत्तरी–२ बाट निर्वाचित सांसदसमेत रहेका साहलाई हटाइएपछि अब मन्त्रिपरिषद् पुनर्गठनबारे आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ । नयाँ मन्त्री नियुक्ति वा अन्य मन्त्रालयसँगै सपथ गराउने विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ ।
स्वास्थ्य बीमा बोर्डमा नियुक्ति विवादमा मन्त्री साहकी पत्नी, दिइन् स्पष्टीकरण











