२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई उक्त जिम्मेवारी दिन सहमति जनाएको हो ।

राष्ट्र बैंकमा हाल दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । यसअघि नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र अवकाश पाएपछि ती पद खाली भएका थिए । पण्डितले तीमध्ये एक पदमा कामभार सम्हाल्ने भएका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिस अनुसार मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रममा परिवर्तन गरेका छन् । यो निर्णय नेपालको संविधानको धारा ७६(९) को दायित्वअनुसार गरिएको हो ।

नयाँ मर्यादाक्रमअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं स्थानमा सरिएका छन् । दोस्रो स्थानमा रहेका डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन् । नयाँ सूचीमा तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

222

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताद्वारा श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा पुनः नियुक्त गरेपछि विवाद उत्पन्न भएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै जुनु श्रेष्ठले फेसबुक स्ट्याटसमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पत्र उनले प्राप्त नभएको बताएकी छन् ।

यसअधि पनि उनी बोर्डमा सदस्य रहँदा बैठकमा लगातार अनुपस्थित भएकी कारण स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा रहेका अवस्थामा उनी पुनः सदस्यतामा फर्किएपछि राष्ट्रिय सार्वजनिक वाणिज्य प्राधिकरण (रास्वपा) ले नियुक्ति प्रक्रियामा पारिवारिक प्रभाव र मेरिटको सवाल उठाएको थियो ।

जुनुको पछिल्लो नियुक्ति २०८० मंसिर १४ गते भएको थियो । उनले बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार उनलाई पुनः सदस्यका रूपमा नियुक्त गरिएको नभई बैठकमा निरन्तर उपस्थित रहन अनुमति दिइएको हो ।

काठमाडौं । सप्तरीमा घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर पक्राउ परेका छन् । कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

टोलीले दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइरहेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार गरिएको उक्त कारबाहीपछि घुस रकमसहित पक्राउ परेका दासमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी गृहमन्त्री सुधन गुरुङको सचिवालयले दिएको छ ।

उक्त बैठकमा समसामयिक विषयहरूमा छलफल गर्दै विभिन्न निर्णयहरू गरिने जनाइएको छ ।

काठमाडौं । सरकारले भारतसहित विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालैको बैठकबाट उक्त निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो ।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर तथा दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।

यी सबै राजदूतहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए । सरकारको पछिल्लो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत करिब १७ देशमा नेपाली कूटनीतिक नियोगहरू नेतृत्वविहीन भएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक लाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले हिजो उक्त आदेश दिएको हो । अदालतले पक्राउलाई गैरकानुनी नठहराए पनि अनुसन्धान थुनाबाहिरै राखेर गर्न सकिने ठहर गर्दै सरकारलाई सोहीअनुसार निर्देशन दिएको हो ।

आदेशमा दुवै नेता आफ्ना माता–पिताको निधनपछिको आशौच (जुठो) मा रहेको अवस्थालाई मानवीय आधारका रूपमा उल्लेख गरिएको छ । यस्तो संवेदनशील परिस्थितिमा हिरासतमा राखिरहनु उपयुक्त नहुने अदालतको निष्कर्ष छ ।

यसैबीच, ओलीको स्वास्थ्य अवस्थालाई पनि अदालतले महत्वपूर्ण आधार बनाएको छ । गम्भीर बिरामी भएपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन् । चिकित्सकको निगरानीमा रहेको अस्पतालको पत्रलाई अदालतले ध्यान दिएको छ ।

त्यस्तै, यही घटनामा पक्राउ परेका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई यसअघि नै हाजिर जमानीमा रिहा गरिएको सन्दर्भलाई पनि अदालतले जोड दिएको छ । समान प्रकृतिको मुद्दामा अन्यलाई छाडिएको अवस्थामा ओली र लेखकलाई मात्र थुनामा राख्नु न्यायसंगत नहुने आदेशमा उल्लेख छ ।

अदालतले अनुसन्धानका अधिकांश काम—विशेषगरी बयान लिने प्रक्रिया—सम्पन्न भइसकेको र प्रमाण नष्ट हुने जोखिम पनि नरहेको ठहर गरेको छ । त्यसैले उनीहरूलाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको निष्कर्ष निकालिएको हो ।

काठमाडौं जिल्ला अदालतले थपेको पाँच दिनको म्याद भोलि सकिँदैछ । सर्वोच्चको आदेशअनुसार म्याद समाप्त भएपछि वा त्यसभन्दा अगावै आवश्यक प्रक्रिया पूरा गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखेर दुवै जनालाई तुरुन्त हिरासतबाट मुक्त गर्नुपर्नेछ ।

भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा रहेका बेला लापरवाही गरेको आरोपमा, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

ओली र लेखक बिहीबार थुनामुक्त हुँदै (सर्वोच्चको आदेशसहित)

 

 

 

काठमाडौं । देशभर मौसम बदलीसँगै वर्षाको गतिविधि बढेको छ । हिजो साँझदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा पानी परेको छ भने आगामी दिनमा झन् सक्रिय वर्षा हुने संकेत देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहनेछ । भोलि अझ बढी पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराईका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ ।

यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ । बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि छिटफुट वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

भोलिको अवस्था अझ सक्रिय रहने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने अनुमान छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुने सम्भावना छ । साथै मधेश प्रदेश र कोशी तथा बागमतीका तराई क्षेत्रमा समेत मेघगर्जनसहित पानी पर्ने आँकलन गरिएको छ ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने भोलि भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेखनीय कटौती गर्ने निर्णय गरेको छ । इन्धन अभाव र बढ्दो आर्थिक दबाबलाई मध्यनजर गर्दै यो निर्णय लागू गरिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार उक्त प्रस्ताव स्वीकृत गरेका हुन् । मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि, आपूर्तिमा आएको कमी तथा चालु आर्थिक वर्षमा अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा सार्वजनिक खर्चमा मितव्ययिता आवश्यक देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था अनुसार मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ संशोधन गर्दै इन्धन सम्बन्धी प्रावधान परिमार्जन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले पाउँदै आएको १२५ लिटर इन्धन घटाएर ७० लिटरमा सीमित गरिएको छ । त्यस्तै, सहसचिव स्तरका कर्मचारीहरूको सुविधा १०० लिटरबाट घटाएर ५० लिटरमा झारिएको छ ।

मन्त्री तथा संवैधानिक पदाधिकारीहरूको इन्धन सुविधा भने यथावत रहने जनाइएको छ ।

केन्द्रीय स्तरका कार्यालयहरूमा सञ्चालन हुने ‘पुल सवारी साधन’का लागि उपलब्ध इन्धन पनि घटाइएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयहरूले अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल मात्र पाउनेछन्, जुन यसअघि क्रमशः ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल थियो । सोही दर थप कर्मचारी भएका कार्यालयहरूमा पनि लागू हुने व्यवस्था गरिएको छ ।

यसैगरी, दुई पाङ्ग्रे सवारी साधनका लागि मासिक १२ लिटर पेट्रोल उपलब्ध हुँदै आएकोमा अब ८ लिटर मात्र प्रदान गरिनेछ ।

सरकारले खर्च कटौतीमार्फत अर्थतन्त्रलाई दबाबबाट जोगाउने प्रयासस्वरूप यो निर्णय गरिएको जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।