२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम दिउँसो ३ बजे उक्त संयुक्त बैठकलाई सम्बोधन गर्न लागिएको हो ।

सम्बोधन कार्यक्रमका लागि संसद्का दुवै सदनका सदस्यहरुलाई उपस्थित हुन आह्वान गरिएको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः उल्लेख्य वृद्धि गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ थपिएको छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । सोही कारण नेपालमा पनि मूल्य समायोजन गर्न बाध्य भएको निगमको भनाइ छ

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा कम नभएपछि मूल्य बढाउनु परेको निगमले स्पष्ट पारेको छ । निगमका अनुसार मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको आकस्मिक मूल्यवृद्धिका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन उपभोक्तालाई आग्रह गरेको छ ।

noc

noc 1

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि प्रधानमन्त्रीले उक्त निर्णय लिएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेले मन्त्री साहलाई पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । उक्त पत्रमा मन्त्री साहमाथि पदको दुरुपयोग गरेको आरोप उल्लेख गरिएको छ । विशेषगरी, आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा सदस्यका रूपमा नियुक्त गराउन भूमिका खेलेको निष्कर्ष पार्टीको केन्द्रीय अनुशासन आयोगले निकालेको जनाइएको छ ।

पत्रमा पार्टीको छवि, सिद्धान्त र मर्यादामा असर पर्ने देखिएकाले यस्तो कदम आवश्यक भएको उल्लेख गरिएको छ । साथै, पार्टी विधानअनुसार जिम्मेवारीबाट फिर्ता बोलाउने व्यवस्था प्रयोग गर्दै मन्त्रीलाई हटाउन सिफारिस गरिएको हो । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सुझाव दिइएको छ ।

मन्त्री साह पछिल्ला दिनमा विभिन्न विवादमा मुछिँदै आएका थिए । आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेका थिए । यसबारे रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।

महोत्तरी–२ बाट निर्वाचित सांसदसमेत रहेका साहलाई हटाइएपछि अब मन्त्रिपरिषद् पुनर्गठनबारे आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ । नयाँ मन्त्री नियुक्ति वा अन्य मन्त्रालयसँगै सपथ गराउने विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ ।

स्वास्थ्य बीमा बोर्डमा नियुक्ति विवादमा मन्त्री साहकी पत्नी, दिइन् स्पष्टीकरण

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा उकालो लागेको छ । आज नेप्से ४८ दशमलव ७१ अंकले बढेर २ हजार ८५१ दशमलव २४ बिन्दुमा पुगेको छ, जसले बजारमा लगानीकर्ताको उत्साह झल्काएको छ ।

आज २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो बुधबार ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको कारोबर भएको थियो ।

बजारमा सकारात्मक माहोल देखिँदा २५१ धितोपत्रको मूल्य बढेको छ भने १६ वटा घटेका छन् । एक धितोपत्रको मूल्य भने स्थिर रह्यो । आज कुल ३३८ कम्पनीका शेयर कारोबारमा सहभागी भएका थिए ।

सबै उपसमूहमा हरियाली देखिएको छ । यसदिन अन्य समूह सर्वाधिक ३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन २ दशमलव ५८, होटेल तथा पर्यटन २ दशमलव ३९, हाइड्रोपावर २ दशमलव ७, फाइनान्स १ दशमलव ४७, बैंकिङ १ दशमलव २४, माइक्रोफाइनान्स १ दशमलव २, लगानी र निर्जीवन बीमाको समान १, जीवन बीमा शून्य दशमलव ९९, विकास बैंक शून्य दशमलव ७८, व्यापार शून्य दशमलव ६२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, आत्मानिर्भर लघुवित्त, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।

यसदिन एनआईसी एशिया ब्यालेन्स फण्ड ६ दशमलव ७४, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन २ दशमलव ५५ र एनआईबीएल समृद्धि फण्ड (२)को शेयर मूल्य २ दशमलव २६ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । विश्व बैंकले नेपालका लागि आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा २.३ प्रतिशतसम्म सीमित हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो वर्षको ४.६ प्रतिशतको वृद्धिदरको तुलनामा घट्दो संकेत हो । रिपोर्टअनुसार, मध्यपूर्वमा जारी द्वन्द्व र गत भदौको आन्तरिक आन्दोलनका कारण अर्थतन्त्रमा दबाव बढेको छ ।

विश्व बैंकका अनुसार पुनर्निर्माण काम, जलविद्युत परियोजनाहरूको निरन्तर विस्तार र २०८४ सालमा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आगामी आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ४.४ प्रतिशतसम्म पुग्न सक्ने अपेक्षा छ ।

प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृङ्खलामा सम्भावित अवरोधका कारण सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने उल्लेख गरेको छ । मध्यपूर्वको द्वन्द्वले पर्यटक आगमन र विप्रेषणमा कमी ल्याएर समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउने जोखिम देखिएको छ ।

यद्यपि, फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको राजनीतिक स्थिरता, समष्टिगत आर्थिक व्यवस्थापन, पर्याप्त विदेशी विनिमय सञ्चिति र संरचनागत सुधारले निजी लगानी र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्न सक्ने विश्व बैंकको अनुमान छ ।

डेभिड सिस्लेन, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशकले भने, “नेपालको आर्थिक उत्थान निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धिमा निर्भर रहनेछ। त्यसका लागि व्यावसायिक वातावरण सुधार, आधारभूत पूर्वाधार विकास र प्राथमिक क्षेत्रहरूको समर्थन आवश्यक छ ।”

विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ दक्षिण एसियाली आर्थिक परिस्थितिको अर्धवार्षिक विश्लेषण हो । पछिल्लो अध्ययनले क्षेत्रीय औद्योगिक नीति र ऊर्जा बजारमा अवरोधका कारण सन् २०२६ मा दक्षिण एसियाको वृद्धिदर ६.३ प्रतिशतमा घट्ने प्रक्षेपण गरेको छ । तर, सन् २०२७ मा यो ६.९ प्रतिशतमा फर्किने अपेक्षा गरिएको छ ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बिहीबार (चैत २६) बिहान परिवारको जिम्मामा रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ भने लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट जिम्मा दिइएको हो ।

एसपी भट्टराईले भने, ‘आवश्यक अनुसन्धानको लागि उनीहरू आवश्यक परे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको हो ।’

ओली र लेखकलाई यही चैत १४ गते भक्तपुरस्थित उनीहरूको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

काठमाडौं । नपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ । आज सुनको भाउ तोलामा ४३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन भने सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १५० रुपैयाँले घट्दै चार हजार ८७५ रुपैयाँमा झरेको छ । हिजो भने चाँदी पाँच हजार २५ रुपैयाँमा किनबेच भएको थियो ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकहरूमा राखिएको छ वा छैन भन्ने विषयमा अनुसन्धानका लागि सहयोग गर्न स्विट्जरल्यान्डसँग आग्रह गरेका छन् ।

नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको हो । सो भेटलाई नेपालस्थित स्वीस दूतावासले पनि पुष्टि गरेको छ ।

दूतावासका अनुसार राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल–स्विट्जरल्यान्ड कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने विषय मुख्य रूपमा उठाइएको थियो ।

त्यसैगरी, विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा समेत दुवै पक्षबीच छलफल भएको दूतावासले जानकारी दिएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत खोजी प्रक्रिया अघि बढाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान गर्दै अदालतबाट पक्राउ पुर्जी लिएपछि यो प्रक्रिया सुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलसँग समन्वय गरी देउवा दम्पतीको खोजीका लागि आवश्यक पहल थालिएको विभागले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरू हाल हङकङमा रहेको जानकारी अध्यागमन विभागबाट प्राप्त भएको छ । आरजु राणा देउवा फागुन १० मा भारत गएकी थिइन् भने शेरबहादुर देउवा फागुन १३ मा सिंगापुर गएका थिए ।

इन्टरपोलले विभिन्न प्रकारका नोटिस—जस्तै रेड, ब्लू, डिफ्युजन लगायत—जारी गर्ने व्यवस्था छ । प्रारम्भिक चरणमा आरोपीको अवस्थिति पत्ता लगाउन ‘डिफ्युजन नोटिस’ जारी गरिन्छ, तर यसका आधारमा तत्काल पक्राउ हुँदैन । यदि आरोपीको ठेगाना पुष्टि भएमा भने ‘रेड नोटिस’ जारी गरी अन्तर्राष्ट्रिय स्तरमै पक्राउ प्रक्रिया अघि बढाइन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सबै प्रक्रिया कानुनी दायराभित्र रहेर अगाडि बढाइँदैछ र प्रहरीसँग समन्वय जारी छ ।

यदि देउवा दम्पती नेपाल फर्किएनन् भने पहिलो चरणमा उनीहरूको पासपोर्ट रोक्का गरिनेछ, जसले उनीहरूको विदेश यात्रा अवैध बनाउनेछ । त्यसपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिनेछ ।

डिफ्युजन नोटिसपछि इन्टरपोलका सदस्य राष्ट्रहरूले सम्बन्धित व्यक्तिको अवस्थिति पत्ता लगाउन सहयोग गर्ने वा आवश्यक जानकारी उपलब्ध गराउनेछन् । हाल इन्टरपोलमा १९६ सदस्य राष्ट्र छन्, र यस्ता प्रक्रियामा कूटनीतिक पहल पनि महत्वपूर्ण हुन्छ ।

यदि यसपछि पनि उनीहरू स्वदेश फर्किएनन् भने ‘रेड नोटिस’ जारी गरिनेछ, जुन सबैभन्दा कडा प्रकृतिको अन्तर्राष्ट्रिय नोटिस हो । रेड नोटिस जारी भएपछि सदस्य राष्ट्रका सुरक्षाकर्मीले सम्बन्धित व्यक्तिलाई पक्राउ गरी नेपाल पठाउन सक्ने व्यवस्था छ ।

काठमाडौं । साताको कारोबारको मध्यदिन बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४५ दशमलव १२ अंकले बढेर २ हजार ८०२ दशमलव ५२ बिन्दुमा पुगेको छ ।

आज १ करोड ८८ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा उच्च हो, जहाँ मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

कारोबारमा आएका ३४६ धितोपत्रमध्ये २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको देखिएको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

समूहगत रूपमा हेर्दा बुधबार सबै उपसूचक हरियालीमा देखिएका छन् । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।

यस्तै हाइड्रोपावर २ दशमलव ६१, होटेल तथा पर्यटन २ दशमलव ५६, विकास बैंक १ दशमलव ९८, फाइनान्स १ दशमलव ४५, लगानी १ दशमलव ३५, जीवन बीमा १ दशमलव ३१, माइक्रोफाइनान्स १ दशमलव २८, बैंकिङ १ दशमलव १५, निर्जीवन बीमा १ दशमलव ०१, म्युचुअल फण्ड शून्इ दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आज ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर सोलु हाइड्रोपावर, एग्रिटेक इन्डस्ट्रीज, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।

यसदिन स्वीट गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन ४ शदमलव ३५, माइ खोला हाइड्रोपावर ३ दशमलव २३ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य २ दशमलव २८ प्रतिशतले ह्रास आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।