
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढिरहेका बेला अनुगमनका क्रममा ठूलो परिमाणमा भरिएका ग्यास सिलिन्डर भेटिएका छन् । नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा ६ हजार ६ सय ७७ वटा फुल ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेका हुन् ।
सूचनाको आधारमा गरिएको आकस्मिक अनुगमनमा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको भण्डारण स्थलमा उक्त परिमाणको ग्यास सिलिन्डर भेटिएको विभागले जनाएको छ । धादिङस्थित उद्योगबाट उत्पादन गरिएको ग्यास गोदाममा थुपारेर राखिएको पाइएको हो ।
बजारमा ग्यास अभाव भएपछि सरकारले हाल १४.२ केजीको सट्टा ७.१ केजीको आधा सिलिन्डर मात्र उत्पादन तथा बिक्री गर्न उद्योगहरूलाई निर्देशन दिएको छ । तर सोही अवधिमा ठूलो संख्यामा फुल सिलिन्डर गोदाममै राखिएको भेटिएपछि विभागले उद्योगलाई कारबाही गरेको हो ।
वाणिज्य विभागका आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका अधिकृत अमित कुमार झाले अनुगमनका क्रममा ६ हजारभन्दा बढी भरिएका सिलिन्डर फेला परेको बताए । उनका अनुसार बजारमा ग्यास अभावको गुनासो बढिरहेका बेला यति ठूलो परिमाणमा सिलिन्डर गोदाममै थन्क्याएर राख्नुले कृत्रिम अभाव सिर्जना गर्ने संकेत देखिएको छ ।
यसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लंघन ठहर गर्दै विभागले श्रीराम ग्यासलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । साथै गोदाममा रहेका सबै सिलिन्डर नेपाल आयल निगमसँग समन्वय गरेर तुरुन्तै बजारमा पठाउन निर्देशन पनि दिइएको विभागले जनाएको छ ।
विभागले आगामी दिनमा पनि यस्ता गतिविधि गर्ने उद्योग तथा फर्महरूमाथि कडा निगरानी राख्दै कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको छ ।
उद्योगको फरक दाबी
उता श्रीराम ग्यास उद्योगले भने फेला परेका सिलिन्डरबारे फरक दाबी गरेको छ । उद्योगका अनुसार नेपाल आयल निगमले आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गर्नु अघि नै ती ग्यास सिलिन्डरहरू रिफिल भइसकेका थिए ।
उद्योगका परामर्शदाता डिल्ली ढकालका अनुसार निगमले सूचना जारी गर्नु अघि नै सिलिन्डर भरिसकिएको हुँदा कानुनी जटिलताको डरले तत्काल बजारमा पठाउन नसकिएको हो । उद्योगले यसबारे निगमलाई जानकारी गराउँदै बिक्रीको अनुमति मागेर पत्राचारसमेत गरेको जनाएको छ ।
उद्योगका कन्सल्टेन्ट अमित ढकालले उपभोक्ताको माग र बजारको अभावलाई ध्यानमा राख्दै मौज्दातमा रहेका फुल सिलिन्डर बिक्री गर्न अनुमति मागिएको बताए ।
यद्यपि, वाणिज्य विभागका अनुसार उद्योगले मौज्दात रहेको ग्यासबारे विभागलाई कुनै पूर्व जानकारी दिएको थिएन । सरकारले आधा सिलिन्डरको निर्णय बिहीबार नै गरे पनि उद्योगले आइतबार मात्रै नेपाल आयल निगमलाई फुल सिलिन्डर मौज्दात रहेको जानकारी गराएको बताइएको छ ।
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र डिजिटल बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ ।
यसका लागि स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार अब स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरिएको बोर्डले जनाएको हो ।
सम्झौता–पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यो सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन गर्ने योजना रहेको छ । उनले बोर्डले आगामी चैत २५ गतेभित्रै नयाँ दर्ता अनलाइनबाट सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिए ।
देशभर संकलन गरिएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा विवरण प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता घट्ने र कार्डको दुरुपयोग नियन्त्रण हुने अपेक्षा बोर्डले गरेको छ ।
नयाँ व्यवस्थाले स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउने विश्वास गरिएको छ । राष्ट्रिय परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रबाट छिटो र सहज सेवा पाउनेछन् ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रको आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी उजुरी दिएपछि सोही आधारमा भट्टलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भट्टलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ । केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूबाट पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रह राखेर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।
सो अभिव्यक्ति सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको भनाइ निजामती कर्मचारीको आचरणअनुकूल नभएको उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।
मन्त्रालयले भट्टको अभिव्यक्तिलाई निराधार, कपोलकल्पित तथा चरित्रहत्या गर्ने उद्देश्यले दिएको दाबी गरेको थियो । यसअघि पनि भट्टले विभिन्न व्यक्तिहरूमाथि विवादास्पद आरोप लगाउँदै आएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
चित्तबुझ्दो स्पष्टीकरण नआए कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको थियो। उता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूविरुद्ध लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै भट्टमाथि कानुनी कारबाहीको माग गरेका थिए।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । यसदिन नेप्से २६ दशमलव ०७ अंकले घट्दै २ हजार ७९८ दशमलव ८३ बिन्दुमा पुगेको हो ।
सोमबार ३ करोड ०३ लाख ९० हजार २११ कित्ता शेयर किनबेच हुँदा करिब ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आजको कारोबारमा ३४५ कम्पनीका धितोपत्र किनबेच भएका छन् । तीमध्ये ४८ कम्पनीको शेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन समूह शन्य दशमलव २५ प्रतिशतले बढेको बाहेक अन्य सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह १ दशमलव ६१ प्रतिशतले घटेको छ ।
यस्तै लगानी १ दशमलव ५२, अन्य १ दशमलव ०९, जीवन बीमा शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ८४, माइक्रोफाइनान्स शून्य दशमलव ७५, फाइनान्स शून्य दशमलव ७१, हाइड्रोपावर शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ४३, होटेल तथा पर्यटन शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अपर हेवाखोला हाइड्रोपावर, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै होटल फरेन इनको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।
यसदिन सिदार्थ इक्वीटि फण्ड ४ दशमलव ३९, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव १८, ग्रीनलाइफ हाइड्रोपावर ३ दशमलव ९८ र माइखोला हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ।


काठमाडौं । इजरायल र इरानबीच जारी युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आधुनिक प्रविधिको प्रयोगले युद्ध सञ्चालनको शैली नै परिवर्तन गरिरहेको हो ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टको रिपोर्ट अनुसार युद्ध सुरु भएको पहिलो २४ घण्टाभित्रै अमेरिकी सेनाले करिब १ हजार सम्भावित लक्ष्यमा आक्रमण गर्न एआई प्रणालीको सहयोग लिएको उल्लेख गरिएको छ । यसले युद्धको रणनीति निर्माण र लक्ष्य पहिचानमा प्रविधिको भूमिका बढ्दो देखाएको छ ।
त्यस्तै एनबीसी न्युजले जनाएअनुसार अमेरिकी सेनाले प्यालान्टिर कम्पनीको एआई प्रविधि प्रयोग गरेर आक्रमणका लक्ष्य पहिचान गरिरहेको छ । उक्त प्रणाली आंशिक रूपमा एन्थ्रोपिक कम्पनीले विकास गरेको ‘क्लड’ मोडेलमा आधारित रहेको बताइएको छ । हालसम्म युद्धका क्रममा ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण भइसकेको जानकारी सार्वजनिक भएको छ ।
सैन्य अधिकारीहरूका अनुसार एआई प्रणालीले विशाल तथ्याङ्क विश्लेषण गरेर सम्भावित लक्ष्य पहिचान गर्न सहयोग गर्छ भने अन्तिम निर्णय भने मानव कमान्डरले नै गर्ने दाबी गरिएको छ । तर यो दाबीलाई लिएर विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका छन् ।
विशेषज्ञहरूले मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको मिसाइल आक्रमण, जसमा १ सय ६५ जनाको ज्यान गएको थियो, त्यसमा प्रयोग गरिएको एआई प्रणालीले पुरानो वा गलत डाटा प्रयोग गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसैबीच एन्थ्रोपिक कम्पनीले आफ्नो एआई मोडेल स्वायत्त हतियार प्रणालीमा प्रयोग नगर्ने नीति दोहोर्याएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले कम्पनीलाई कालोसूचीमा राखेको बताइएको छ । सो निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ ।
युद्धमा एआई प्रविधिको प्रयोग बढेसँगै सैन्य क्षेत्रमा यसको अपरिहार्यता र निर्दोष नागरिकमाथि पर्ने सम्भावित जोखिमबारे विश्वव्यापी बहस चर्किंदै गएको छ ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई लक्षित गर्दै प्रारम्भिक टोली घोषणा गरेका छन् ।
नेपालले हङकङविरुद्ध आगामी मार्च २६ मा काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । सो खेलको तयारीका लागि प्रशिक्षक एरेनाले ४९ खेलाडीलाई समेटेर प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् ।
प्रारम्भिक सूचीमा परेका खेलाडीहरूलाई प्रशिक्षणका लागि बन्द प्रशिक्षणमा बोलाइएको छ । उक्त प्रशिक्षणपछि अन्तिम टोली छनोट गरी सार्वजनिक गरिने एन्फाले जनाएको छ ।
एन्फाका अनुसार आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै टोलीको तयारी सुदृढ पार्न, नयाँ खेलाडीको क्षमता परीक्षण गर्न तथा रणनीतिक अभ्यास गर्न यो खेल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रशिक्षक एरेनाले अनुभवी खेलाडीसँगै नयाँ प्रतिभालाई पनि अवसर दिने उद्देश्यले प्रारम्भिक टोलीमा ठूलो संख्यामा खेलाडी समावेश गरेका हुन् ।




