
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न क्षेत्रमा मौसम प्रतिकूल रहने चेतावनी दिँदै सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको आगामी तीन दिनको पूर्वानुमानले विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा शुक्रबार दिउँसो केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना देखाएको हो ।
यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत दाङ, नेपालगन्ज लगायत तराई आसपासका जिल्लामा शुक्रबारदेखि नै तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ । साथै शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपास पनि झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको समय भएकाले यस्ता हावाहुरीले रुख ढल्ने, कमजोर घर तथा संरचनामा क्षति पुग्ने, छाना उड्ने र विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुने जोखिम उच्च रहेको बताइएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएको तथ्यले सतर्कता अझ आवश्यक देखाएको छ ।
प्राधिकरणले नागरिकलाई हावाहुरी चल्दा घरभित्रै सुरक्षित रहन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू नियन्त्रणमा राख्न र सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन सुझाव दिएको छ। भीडभाडमा परेमा आत्तिनु नपर्ने र शान्त रूपमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरिएको छ ।
यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको तार नछुन र यस्ता अवस्थामा विद्युतीय उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले सबैलाई सचेत गराएको छ ।
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २७५ सदस्यीय संसद्को नयाँ संरचना सार्वजनिक भएको छ । कुल निर्वाचितमध्ये १७९ जना पुरुष र ९६ जना महिला रहेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनपछि यो परिणाम औपचारिक रूपमा पुष्टि गरिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संसद्मा समावेशीतर्फ विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित भएको देखिन्छ । उनका अनुसार आदिवासी जनजाति समुदायबाट २१.०९ प्रतिशत सदस्य निर्वाचित भएका छन् भने खसआर्य समुदायको हिस्सा ४९.०९ प्रतिशत रहेको छ ।
त्यसैगरी थारु समुदायबाट ३.२७ प्रतिशत, दलित समुदायबाट ६.१८ प्रतिशत, मधेसी समुदायबाट १६.७३ प्रतिशत तथा मुस्लिम समुदायबाट ३.६४ प्रतिशत प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन परिणामले संसद्मा विविध समुदायको उपस्थिति झल्काएको आयोगले जनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले चैत २ गते विभिन्न तहका प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेका हुन् । प्रहरीका अनुसार उत्कृष्ट कार्यको कदर गर्दा अन्य कर्मचारीहरूमा समेत सकारात्मक प्रेरणा मिल्ने विश्वासका साथ यो निर्णय गरिएको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन प्रहरीको भूमिका उल्लेखनीय रहेको थियो ।
पुरस्कृत हुनेमा केन्द्रीय निर्वाचन सेलका प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की प्रमुख रहेका छन् ।
सूची:
| सि.नं. | दर्जा (पद) | नामथर | दरबन्दी/कार्यरत स्थान |
| १ | प्र.अ.म.नि. | उमा प्रसाद चतुर्बेदी | ने.प्र.प्र.का. कार्य विभाग |
| २ | प्र.अ.म.नि. | ईश्वर कार्की | का.उ.प्र.का. रानीपोखरी |
| ३ | प्र.ना.म.नि. | अरुण पौडेल | ने.प्र.प्र.का. कार्य विभाग |
| ४ | प्र.ना.म.नि. | गोबिन्द थपलिया | मधेश प्र.प्र.का. जनकपुर |
| ५ | प्र.ना.म.नि. | विनोद घिमिरे | कोशी प्र.प्र.का. विराटनगर |
| ६ | प्र.ना.म.नि. | दिपेन्द्र जि.सी. | गण्डकी प्र.प्र.का. पोखरा |
| ७ | प्र.ना.म.नि. | दिपक रेग्मी | बागमती प्र.प्र.का. हेटौंडा |
| ८ | प्र.ना.म.नि. | ओम बहादुर राना | सुदूरपश्चिम प्र.प्र.का. धनगढी |
| ९ | प्र.ना.म.नि. | भुपेन्द्र खत्री | लुम्बिनी प्र.प्र.का. दाङ |
| १० | प्र.व.उ. | मुकुन्द मरासिनी | ने.प्र.प्र.का.अ.अ. विभाग |
| ११ | प्र.व.उ. | कृष्ण ब. पल्ली मगर | ने.प्र.प्र.का. प्रदेश समन्वय विभाग |
| १२ | प्र.व.उ. | जनार्दन जि.सी. | प्रदेश प्र.ता.के. पोखरा |
| १३ | प्र.व.उ. | सन्तोष कुमार भट्टराई | ने.प्र.वि.प्र. तथा ता.के. सामाखुशी |
| १४ | प्र.व.उ. | दयानिधि ज्ञवाली | ने.प्र.प्र.का. कार्य विभाग |
| १५ | प्र.व.उ. | भुवनेश्वर तिवारी | ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा |
| १६ | प्र.व.उ. | सुवास चन्द्र वोहरा/वौधरी | ने.प्र.प्र.का. कार्य विभाग |
| १७ | प्र.उ. | सिताराम रिजाल | जि.प्र.का. रौतहट |
| १८ | प्र.उ. | सुमन कु. तिमिल्सिना | कोशी प्र.प्र.का. विराटनगर |
| १९ | प्र.उ. | नरेश राज सुवेदी | का.उ.ट्रा.प्र.का. रामशाहपथ |
| २० | प्र.उ. | सुधिर राज शाही | जि.प्र.का. सुर्खेत |
| २१ | प्र.उ. | योगेन्द्र कुमार खडका | जि.प्र.का. सर्लाही |
| २२ | प्र.उ. | अनुपम श्रेष्ठ | जि.प्र.का. नवलपरासी पश्चिम |
| २३ | प्र.उ. | अंगुर जि.सी. | जि.प्र.का. बाँके |
| २४ | प्र.उ. | मनिष राज सापकोटा | ने.प्र.प्र.का.सू.प्र. निर्देशनालय |
| २५ | प्र.उ. | बसुन्धारा खड्का | जि.प्र.का. झापा |
| २६ | प्र.उ. | गोविन्द पुरी | जि.प्र.का. चितवन |
| २७ | प्र.उ. | बासुदेब पाठक | जि.प्र.का. सिरहा |
| २८ | प्र.उ. | यादव ढकाल | लुम्बिनी प्र.प्र.का. दाङ |
| २९ | प्र.उ. | दिपक श्रेष्ठ | जि.प्र.का. दाङ |
| ३० | प्र.उ. | युवराज खड्का | जि.प्र.का. नवलपरासी पूर्व |
| ३१ | प्र.उ. | सुदिप राज पाठक | जि.प्र.का. पर्सा |
| ३२ | प्र.उ. | दधिराम न्यौपाने | जि.प्र.का. स्याङ्जा |
| ३३ | प्र.उ. | पुष्प राज मल्ल | गौ.बु.अ.वि.सु.का. भैरहवा |
| ३४ | प्र.उ. | श्यामु अर्याल | ने.प्र.प्र.का. कार्य विभाग |
| ३५ | प्र.उ. | दिपक भारती | ने.प्र.प्र.का. कार्य विभाग |
| ३६ | प्र.ना.उ. | कौशल कु. बुढाथोकी | जि.प्र. परिसर काठमाण्डौ |
| ३७ | प्र.ना.उ. | द्वारीका प्रसाद घिमिरे | जि.प्र. परिसर ललितपुर |
| ३८ | प्र.ना.उ. | मनोज कुमार लामा | जि.प्र.का. दोलखा |
| ३९ | प्र.ना.उ. | सुबास हमाल | इ.प्र.का. इटहरी सुनसरी |
| ४० | प्र.ना.उ. | किशोर लम्साल | इ.प्र.का. दमक झापा |
| ४१ | प्र.ना.उ. | सन्तोष निरौला | ने.प्र.प्र.का. प्रशासन शाखा |
| ४२ | प्र.ना.उ. | नरहरी अधिकारी | जि.प्र.का. प्युठान |
| ४३ | प्र.ना.उ. | सरोज गिरी | ने.प्र.प्र.का.रा.सु. तथा ट्रा.व्य. महाशाखा |
| ४४ | प्र.ना.उ. | सुगन्ध श्रेष्ठ | कर्णाली प्र.प्र.का. सुर्खेत |
| ४५ | प्र.ना.उ. | बीरेन्द्र बीर विश्वकर्मा | जि.प्र.का. रोल्पा |
| ४६ | प्र.ना.उ. | रुक बहादुर खड्का | जि.प्र.का. डोल्पा |
| ४७ | प्र.ना.उ. | जगदीश सिंह डाँगा | सुदूरपश्चिम प्र.प्र.का. धनगढी |
| ४८ | प्र.ना.उ. | सुधिर राई | प्रहरी वृत्त बानेश्वर काठमाण्डौ |
| ४९ | प्र.ना.उ. | टेक बहादुर रावत | का.उ.प्र.का. रानीपोखरी |
| ५० | प्र.ना.उ. | प्रकाश जबेगु | जि.प्र. परिसर भक्तपुर |
| ५१ | प्र.ना.उ. | हिम बहादुर खत्री | जि.प्र.का. कालीकोट |
| ५२ | प्र.ना.उ. | दिवश बहादुर जि.सी. | जि.प्र.का. अर्घाखाँची |
| ५३ | प्र.नि. | अशोक मल्ल | ने.प्र.प्र.का. कार्य विभाग |
| ५४ | प्र.नि. | बिरेन्द्र सिंह थापा | जि.प्र.का. कञ्चनपुर |
| ५५ | प्र.नि. | लक्ष्मी राज जोशी | जि.प्र.का. बाजुरा |
| ५६ | प्र.नि. | दिनेश प्रसाद रिमाल | ने.प्र.प्र.का. क.प्र. शाखा |
| ५७ | प्र.व.ना.नि. | मदन सिंह धामी | ने.प्र.प्र.का. स्मारक गुठी |
| ५८ | प्र.व.ना.नि. | सृजना खड्का | ने.प्र.प्र.का. कार्य विभाग |
| ५९ | प्र.व.ना.नि. | सुवास खतिवडा | ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा |
| ६० | प्र.ना.नि. | राम बहादुर गुरुङ | ने.प्र.प्र.का. कर्मचारी प्रशासन शाखा |
| ६१ | प्र.ना.नि. | गणेश तामाङ थिङ | ने.प्र.प्र.का.अ.अ. विभाग |
| ६२ | प्र.व.ह. | भक्त बहादुर ऐरी | ने.प्र.प्र.का. कार्य विभाग |
| ६३ | प्र.ह. | रेशम कुमार पेमी | ने.प्र.प्र.का. सञ्चार निर्देशनालय |
| ६४ | प्र.ह. | चेतनाथ न्यौपाने | ने.प्र.प्र.का.के.प्र. परिचालन कक्ष |
| ६५ | प्र.ह. | तोली बहादुर थापा | प्रहरी वृत्त गौशाला काठमाण्डौ |
| ६६ | प्र.स.ह. | कृष्णहरि कार्की | ने.प्र.प्र.का. कार्य विभाग |
| ६७ | प्र.स.ह. | खिलराज मगर | ने.प्र.प्र.का.आ.प्र.सं. को सचिवालय |
| ६८ | प्र.ज. | सुजन कार्की | ने.प्र.प्र.का.अ.अ. विभाग |
| ६९ | प्र.ज. | गन्दिप बहादुर कार्की | ने.प्र.प्र.का. कार्य विभाग |
काठमाडौं । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको बहानामा बजेट हिनामिना गरिएको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाले ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि नियमविपरीत १५ लाख रुपैयाँको सम्झौता गरेको थियो । उक्त चलचित्र राजेश हमालको निर्देशनमा निर्माण गरिने भनिए पनि प्रक्रिया मिचेर करिब १२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ ।
यस प्रकरणमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज तथा नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि मुद्दामा समावेश गरिएको छ ।
अख्तियारले चारै जनासँग जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।
अभियोगपत्रमा कानुनले तोकेको २० प्रतिशतभन्दा बढी पेस्की दिन नपाइने व्यवस्था उल्लंघन गर्दै ५८ प्रतिशतसम्म पेस्की उपलब्ध गराइएको उल्लेख छ । साथै, घर भाडा तथा अन्य खर्चका नाममा नक्कली बिल पेश गरी रकम निकासा गरिएको आरोप पनि लगाइएको छ ।
यस्तै, हिउँदे अधिवेशनमार्फत कार्यक्रम संशोधन र रकमान्तर गरेर मिलेमतोमा रकम हिनामिना गरिएको अख्तियारको दाबी छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले उकालो लाग्दै २ हजार ८७७ दशमलव ०३ विन्दुमा पुगेर बन्द भएको हो ।
आजको बजारमा उत्साहजनक कारोबार भएको देखिएको छ । ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो ।
बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । कुल ३४२ धितोपत्र कारोबारमा सहभागी भएका थिए ।
समूहगत रूपमा हेर्दा सबै उपसूचकहरू हरियालीमा देखिएका छन् । यसदिन विकास बैंक सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले बढेको छ ।
आज बैंकिङ ३ दशमलव १६, जीवन बीमा २ दशमलव ७६, हाइड्रोपावर २ दशमलव २९, अन्य १ दशमलव ९७, फाइनान्स १ दशमलव ९४, उत्पादन तथा प्रशोधन १ दशमलव ८९, लगानी १ दशमलव ७७, होटेल तथा पर्यटन १ दशमलव ७५, माइक्रोफाइनान्स १ दशमलव २४, निर्जीवन बीमा १ दशमलव ८, व्यापार शून्य दशमलव १६ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, रिलाइन्स स्पीनिङ मिल्स, कर्पोरेट डेभलवमेन्ट बैंक र सोलु हाइड्रोपावर रहेका छन् । यस्तै होटल फरेष्ट इनको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।
यसैगरी नेपाल लाइफ समृद्धि लगानी योजना ५ दशमलव १२, माहुली लघुवित्तको शेयर मूल्य २ दशमलव ९७ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले समस्यामा परेका २० जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले समन्वय गरी सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने ठगी कार्य लगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएका थिए। केही व्यक्तिहरू भने बिना वैध भिसा त्यहाँ बसिरहेका अवस्थामा फेला परेका थिए।
कम्बोडिया सरकारको सहयोग र दूतावासको सक्रिय पहलमा उनीहरूको उद्धार सम्भव भएको हो। उद्धारपछि गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाको सहकार्यमा उनीहरूलाई काठमाडौं पठाइएको थियो। उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।
दूतावासले अझै पनि केही नेपालीहरू त्यस्तै अवस्थामा रहेको जानकारी आएको बताउँदै उनीहरूको उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको छ।
कठिन परिस्थितिमा रहेका नेपाली नागरिकलाई बैंककस्थित नेपाली दूतावास वा कम्बोडियास्थित NRNA प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
पछिल्लो तथ्यांकअनुसार कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको देखिन्छ। सन् २०२१ मा १०१ जना मात्र पुगेका नेपालीहरूको संख्या २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ पुगेको छ।
दूतावासले आकर्षक प्रलोभनमा नपर्न र विदेश जानुअघि नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा जान सर्वसाधारणलाई सचेत गराएको छ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ५४ सयले घटेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ । बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरानले ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएको छ। अमेरिका–इजरायल गठबन्धनले आफ्ना नेतामाथि भइरहेका आक्रमणको पृष्ठभूमिमा इरानले रणनीति परिवर्तन गर्दै अब उर्जा पूर्वाधारलाई निशाना बनाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अलजजिराका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा संरचनाहरूमा आक्रमण भएको पुष्टि भएको छ। यस घटनाले खाडी क्षेत्रको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।
आक्रमणपछि साउदी अरेबियाले कडा प्रतिक्रिया दिँदै इरानसँगको कूटनीतिक विश्वास गम्भीर रूपमा कमजोर भएको जनाएको छ। रियादले यस्तो गतिविधिले संवादको सम्भावना घटाउँदै प्रत्यक्ष टकरावको जोखिम बढाएको चेतावनी दिएको छ।
ऊर्जा पूर्वाधारमा लक्षित आक्रमणका कारण विश्व बजारमा तेल आपूर्तिमा अस्थिरता आउन सक्ने संकेत देखिएको छ। कतार र साउदी अरेबिया दुवै प्रमुख ऊर्जा आपूर्तिकर्ता भएकाले यसको असर अन्तर्राष्ट्रिय बजारमा पर्ने विश्लेषण गरिएको छ।
अमेरिकी सैन्य उपस्थितिलाई समर्थन गर्ने कतार, यूएई र साउदी अरेबियामाथि इरानले दबाब बढाउँदै आएको देखिन्छ। प्रारम्भमा अमेरिकी सैन्य अड्डा र हवाई संरचनामा केन्द्रित आक्रमण अहिले ऊर्जा क्षेत्रमा सरेको छ।
विशेषगरी कतारको प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफानमा भएको आक्रमणले उल्लेखनीय क्षति पुर्याएको बताइएको छ। अधिकारीहरूका अनुसार उक्त आक्रमणले उत्पादन र आपूर्ति प्रणालीमा प्रभाव पारेको छ। रास लाफान विश्वकै महत्वपूर्ण तरल प्राकृतिक ग्यास (LNG) केन्द्रमध्ये एक हो।
यसैबीच कतारले इरानप्रति कडा कूटनीतिक कदम चाल्दै त्यहाँस्थित इरानी दूतावासका केही सैन्य तथा सुरक्षा अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको छ, जसअनुसार उनीहरूले तत्काल देश छाड्नुपर्ने हुन्छ।
इरान आक्रामक रूपमा अघि बढेसँगै मध्यपूर्वमा द्वन्द्व थप फैलिने संकेत देखिएको छ भने आगामी घटनाक्रमले क्षेत्रीय तथा विश्व सुरक्षामा गम्भीर प्रभाव पार्ने सम्भावना रहेको छ।




