२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एयर क्यानाडा एक्सप्रेसको एक यात्रुवाहक जहाज रनवेमा ठोक्किँदा उडानहरू प्रभावित भएका छन् । माउन्ट्रियलबाट आउँदै गरेको विमानले रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ ।

एएफपीका अनुसार घटनास्थलका केही दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर क्षतिग्रस्त देखिन्छ । उद्धार तथा आपत्कालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका छन् ।

संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ भने स्थानीय आपत्कालीन अधिकारीहरूले यात्रुहरूलाई रद्द वा ढिलाइ हुने सम्भावनाबारे सचेत गराएका छन् । घटनामा घाइतेको संख्या अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन । दुर्घटनाको अनुसन्धान जारी रहेको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अचारको माग बढ्दै जाँदा निर्यात पनि उच्च दरले विस्तार हुँदै गएको छ । अष्ट्रेलिया, अमेरिका र युरोपसम्म यसको पहुँच बढेको देखिन्छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ८ महिनामा ३ लाख ११ हजार ९६४ किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन १६ करोड ७ लाख मूल्य बराबरको हो ।

गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा साढे १ गुणा (१५० दशमलव २८ प्रतिशत)ले अचारको निर्यात बढेको छ । गत आवको फागुनसम्ममा १० करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार ६४५ केजी अचार बाहिरिएको थियो । यद्यपि मूल्य र परिमाण दुवैका आधारमा अचार निर्यात बढेको देखिन्छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान, इटली लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत फागुनसम्ममा सबैभन्दा धेरै अष्ट्रेलियामा ३ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै क्यान्डामा ३ करोड २६ लाख, इटलीमा २ करोड ६६ लाख, बेलायतमा २ करोड १० लाख र जापानमा १ करोड ७३ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।

कुन देशमा कति अचार बाहिरियो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

यसैगरी निष्काशित शेयरमध्ये ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म थपिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिन इच्छुकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

काठमाडौं। स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै शेयर बिक्री सुरु गरेको हो ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । यसमध्ये आधा अर्थात ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दाले ४ लाख ६८ हजार ७५० कित्ता पाउनेछन् । बाँकी ४ लाख ६८ हजार ७५० कित्ता शेयर सिरिजङ्गा गाउँपालिका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवरक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दाबीच बाँडफाँट गरिनेछ ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ ।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २३ गते बन्द हुनेछ भने माग अनुसार नबिकेमा बैशाख ८ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले थापाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारीस्वरूप पेश गरेको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ ।’

निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका थिए। तर, पार्टीको केन्द्रीय कार्यालय सानेपामा दुई दिनसम्म बसेको बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको चालिसेले बताए ।

यस निर्णयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका थिए । शनिबार नै बैठकले राजीनामा अस्वीकार गरेको भए पनि औपचारिक रुपमा निर्णय बाहिर आउन केही समय लागेको जनाइएको छ ।

काठमाडौं । इरानसँग अमेरिका र इजरायलबीचको सैन्य तनावको प्रभावले विश्वव्यापी रूपमा इन्धन र खाना पकाउने ग्याँसको अभाव सिर्जना गरेको छ । यसै क्रममा भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा एक महिला आफ्ना पाँच महिने शिशु लिएर बेपत्ता भएकी हुन् ।

बौधनी मजरे खटौली गाउँकी समुन देवी करिब दुई वर्षअघि विवाह गरेकी थिइन् । उनका श्रीमान् अनिलकुमारका अनुसार केही दिनअघि घरमा खाना पकाउने ग्यास सकिएको थियो । रातिको ड्युटी सकेर बिहान फर्किएका अनिलले भोकै बसेको देखेपछि पत्नीलाई सोध्दा उनले ग्यास नभएको कारण खाना नपाकेको बताए ।

अनिलले भने, ‘भोकै बस्नुभन्दा दाउरा बालेर भए पनि खाना पकाउन सकिन्थ्यो ।’ यस्तै तर्कपछि दम्पतीबीच विवाद बढ्यो र अनिल आफ्नो कोठामा गएर सुते ।

तर अपराह्न करिब ४ बजेतिर उठ्दा उनले आफ्नी पत्नी र बच्चालाई घरमा पाएनन् । छरछिमेकमा सोधखोज गर्दा पनि फेला नपरेकाले उनले प्रहरी कार्यालयमा निवेदन दिई खोजतलास सुरु गराएका छन् ।

प्रहरीका अनुसार अनिलको निवेदनको आधारमा आवश्यक अनुसन्धान र खोजी कार्य जारी छ ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनावचिन्ह ‘रुख’ लिएर मैदानमा उत्रिए पनि नेपाली कांग्रेसको वास्तविकता भने बिल्कुलै ‘एक’ छैन । पार्टी भित्रको ध्रुवीकरण यति गहिरो छ कि एउटा रुखले चारवटा डाँठ बोकेको जस्तो देखिन्छ । कांग्रेसका नेता कार्यकर्ताहरूले सहर्ष स्वीकार नगरे पनि यतिबेला पार्टी दुई भागमा विभाजित भइसकेको छ । र, पार्टी नेतृत्व भने झन् रोचक छः

शेरबहादुर देउवा – १४औँ महाधिवेशनबाट निर्वाचित सभापति
पूर्णबहादुर खड्का – उपसभापति, तर कहिलेकाहीँ ‘कार्यवाहक सभापति’ पनि
गगन थापा – विशेष महाधिवेशनबाट निर्वाचित सभापति
विश्वप्रकाश शर्मा – उपसभापति, तर कहिलेकाहीँ ‘सभापति’

नेपाली कांग्रेसमा अहिले चार सभापति (दुई सभापति र दुई कार्यवाहक) छन् । उनीहरू प्रत्येकले आ–आफ्नै वैधानिकता दाबी गर्छ । यस्तो देख्दा लाग्छ, पार्टीको केन्द्रीय कार्यालय वास्तवमै एक ‘राजनीतिक जिम’ हो जहाँ सबैले आफ्नो वजन देखाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

विशेष महाधिवेशनको परिणामले पार्टीलाई आधिकारिक रूपमा विभाजित गरिसकेको छ । तर निर्वाचन नजिकै भएको र रुख चुनाव चिन्हको आशले दुवै पक्षले ‘मिलेर जाने’ ढोंग (नक्कली, बनावट) गर्न बाध्य भए । यो मिलन प्रयास यति हास्यास्पद छ कि पार्टीभित्रको आ–आफ्नो बैठक, आ–आफ्नो निर्णय र आ–आफ्नो टिकट वितरण– सबै न्यायिक समीक्षा अन्तर्गत छ ।

नेताहरू अदालतमा वैधानिकता निर्धारणको प्रतिक्षामा छन्, तर यसबीच चुनाव नतिजा निराशाजनक भएपछि दुई पार्टीका गतिविधिहरू स्वतन्त्र रूपमा जारी छन् । यहाँ ‘समानान्तर अभ्यास’ भन्नाले पार्टीमा चारवटा सभापति भएको देखिन्छ, जस्तो कि कांग्रेसले आफ्नो मात्र नभई देशको राजनीतिक समय पनि दुई भागमा बाँडेको हो ।

कतिपय नेता भन्छन्, ‘एकले अर्कालाई नस्वीकारेपछि कुरा मिल्ने छैन, अदालतले मात्र निर्णय दिन सक्छ ।’ अर्कोतर्फ, पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा अब बैठकहरू सुचारु हुने बताउँछन् ।

विशेष महाधिवेशनले ल्याएको नयाँ ‘नेतृत्व’ र पुरानो महाधिवेशनको वैधानिकता बीचको टकरावले कांग्रेसको विभाजनको हास्यास्पद चित्र प्रस्तुत गरेको छ । यस्तो स्थिति देख्दा लाग्छ– नेपाली कांग्रेस अब ‘राजनीतिक थिएटर’ हो जहाँ नेताहरू अदालत, महाधिवेशन, उपसभापति र ‘कार्यवाहक सभापति’ को नाटक गर्दै जनता र आफ्नै कार्यकर्ताको समय खर्च गर्दैछन् ।

अन्ततः, रुख चुनाव चिन्हले पार्टीलाई एकजुट बनाउन सक्दैन; चार सभापति र दुई पार्टीले यो कुरा प्रमाणित गरिसकेका छन् ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। यसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशक (संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी)सहित विभिन्न कर्मचारीहरू समावेश छन्।

विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’सँग सम्झौता गर्दा परामर्शदाता नियुक्तिका लागि छुट्याइएको २८ लाख अमेरिकी डलर (करबाहेक)को बजेटको दुरुपयोग भएको आयोगको आरोप छ। प्राधिकरणले बदनियतपूर्वक छुट्टै बजेट शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमोदन गरेको अनुसन्धानमा देखिएको छ।

साथै, परामर्शदाता ‘ईआरएमसी/ए–नट/स्लेट जेभी’सँग ४२ करोड ८९ लाख ३६ हजार ७०० रुपैयाँमा सम्झौता भए पनि हालसम्म ४० करोड ६८ लाख २६ हजार ५६८ रुपैयाँ भुक्तानी भइसकेको छ। ठेक्का सम्झौताको सर्त विपरीत, लागत अनुमान अस्वाभाविक रूपमा बढाउने, सीमित प्रतिस्पर्धा गराउने र परामर्शदातालाई लाभ पुर्‍याउने तरिकाले प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।

ठेकेदार कम्पनी चाइना सीएएमसीले परामर्शदाताका लागि छुट्याइएको २८ लाख डलरमध्ये मात्र १० हजार डलर प्रयोग गर्ने र बाँकी रकम अन्यत्र खर्च गर्ने गरी मूल्य तालिकामा जालसाजी गरेको पनि अनुसन्धानमा पुष्टि भएको छ। परिमार्जित तालिकामा कम वस्तुको मूल्य उच्च देखाउने र बढी वस्तुको मूल्य बढाउने गरी दोहोरो मापदण्ड अपनाएर प्राधिकरणलाई ठगी गरिएको पाइएको छ।

आयोगले प्रकरणमा संलग्न कर्मचारी, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिहरूलाई विपक्षी बनाउँदै सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको ठहर गरेको छ। अख्तियारले बिगो र जरिवानासहित कडा कारबाहीको माग गरेको छ।

1

dfaf_page-0007dfaf_page-0008dfaf_page-0009

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो ८ महिनामा करिब ३० अर्बको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत फागुनसम्ममा नेपालमा २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो । मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा पनि निरन्तर बढेको देखिन्छ ।

आवको ८ महिनामा सो रकम बराबरको १५ लाख २८ हजार ४९५ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ५ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।