२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफू कारागार प्रशासनले औपचारिक पत्र तयार पार्न नपाउँदै भीडद्वारा बाहिर निकालिएको बताएका छन्।

भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगसमक्ष दिएको बयानमा लामिछानेले उक्त कुरा उल्लेख गरेका हुन्। उनले आयोगलाई दिएको जानकारीअनुसार आफू अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन तयार नभएको पनि स्पष्ट पारेका छन्।

यद्यपि, कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। जनआस्थाको सौजन्यमा प्राप्त प्रतिवेदनका आधारमा लामिछानेको यस्तो बयान सार्वजनिक भएको हो।

यस्तो छ रवि लामिछानेको बयान :

मिति २०८२ भाद्र २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो । तर भदौ २४ गते करिब दिउँसो १२ः३० बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाई सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाई बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराए । मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेँ । तथापि, जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनेँ । प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो । त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ । कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे । पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जैल प्रशासन स्वयं जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो । वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइयो ।

भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र राष्ट्रिय स्वतन्त्र पार्टी” ले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौं, र यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ र तत्क्षण नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएँ । सोही साँझ मैले भिडियो सन्देशमार्फत पनि जनतालाई “म सुरक्षित छु र अदालतमा पुनः उपस्थित हुनेछु” भन्ने जानकारी दिए । मिति भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि म पुनः नख्खु कारागार फर्किएँ । यस घटनाक्रमबाट सिक्दै कारागार सुधारका लागि खुला कारागार नीति अवलम्बन गर्नुपर्ने, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानूनी परामर्श प्रणाली सुदृढ गर्नुपर्ने र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव म राख्दछु ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो निवासमा रकम भेटिएको भनिएको विषयलाई लिएर स्पष्टिकरण दिएका छन्। उनले उक्त रकमसम्बन्धी विवरण सामाजिक सञ्जालमा फैलिएको जस्तो वास्तविक नभई ‘एआई जेनेरेटेड’ हुन सक्ने दाबी गरेका हुन्।

कार्की आयोगसमक्ष दिएको बयानमा देउवाले प्रहरीद्वारा तयार गरिएको मुचुल्कामा आफ्नो घरमा केही रकम भेटिएको उल्लेख भए पनि त्यसलाई अतिरञ्जित गरिएको संकेत गरेका छन्। जनआस्थाबाट सौजन्य प्राप्त प्रतिवेदनमा उनले सो रकम ठूलो परिमाणको नभएको पनि प्रस्ट पारेका छन्।

देउवाका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणहरू वास्तविक घटनासँग मेल नखाने खालका छन् र ती कृत्रिम रूपमा सिर्जना गरिएका हुन सक्ने आशंका व्यक्त गरेका छन्। साथै, यस विषयमा आफूले कुनै पनि प्रहरी कार्यालयमा छुट्टै उजुरी नदिएको समेत उनले बताएका छन्।

काठमाडौं । बुधबार शेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ दशमलव ४५ अंकले घट्दै २ हजार ९३५ दशमलव ९४ बिन्दुमा झरेको हो ।

यसदिन ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम भने केही बढेको देखिन्छ । हिजो १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजारमा आज कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् । जसमध्ये ४५ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक बढेको छ ।

आज व्यापार ३ दशमलव ४५ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेको छ ।

यस्तै विकास बैंक २ दशमलव ३२, फाइनान्स २ दशमलव ०९, माइक्रोफाइनान्स १ दशमलव ६४, जीवन बीमा १ दशमलव ३९, निर्जीवन बीमा १ दशमलव १५, अन्य १ दशमलव ७, बैंकिङ १ दशमलव ४, लगानी शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव १६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन अभियान लघुवित्त ७ दशमलव ७४, साल्पा विकास बैंक ६ दशमलव ९९, कर्पोरेट डेभलपमेन्ट बैंक ६ शदमलव ७१, सिन्धु विकास बैंक ६ दशमलव ०९ र माहुली लघुवित्तको शेयर मूल्य ६ दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बुधबार (चैत ११) एक्कासि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको हो ।

यससँगै सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडामा सफल शल्यक्रिया गरिएको छ ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमनको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् ।

साम्बाका अनुसार खाडी क्षेत्रको प्रतिकूल परिस्थितिका कारण कतारस्थित अस्पेटार अस्पतालमा उपचार गर्न असहज भएपछि विशेषज्ञको सल्लाहमा न्युजिल्यान्डमै शल्यक्रिया गराइएको हो । अब उनी चिकित्सकको निगरानीमा पुनस्र्थापना प्रक्रिया अघि बढाउने र स्वास्थ्य अवस्था सुधार भएसँगै अस्पेटारमा निरन्तरता दिने उनले बताएकी छन् ।

उपचारको क्रममा सहयोग गर्ने वेलिङ्टन र अकल्यान्डमा बसोबास गर्ने नेपाली समुदाय, आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्स तथा व्यवस्थापन टिमप्रति उनले आभार व्यक्त गरेकी छन् ।

यसअघि उनले गत फागुन १४ गते उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । घुँडाको एसीएलमा गरिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा समस्या देखिएकाले जटिल शल्यक्रिया आवश्यक परेको र यसको खर्च करिब ८० हजार अमेरिकी डलर (१ करोड १५ लाख रुपैयाँभन्दा बढी) लाग्ने अनुमान गरिएको थियो । विभिन्न संघसंस्था र शुभेच्छुकबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टाभित्रै धन्यवाद दिँदै सहयोग संकलन बन्द गरेकी थिइन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण हुने तय गरिएको हो । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी उमेरका आधारमा ज्येष्ठ सदस्यका रूपमा चयन भएका हुन् ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ १६५ जना र समानुपातिक प्रणालीतर्फ ११० जना गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन् । नेपाली काँग्रेसका नेता केसी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका हुन् ।

ज्येष्ठ सदस्यको हैसियतमा केसीले यही चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम पनि तय गरिएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी भदौ महिनामा आयोजना गर्ने तयारी गरेको छ ।

केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् । उनले प्रस्तावसँगै विस्तृत कार्यतालिका पनि प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि बैठकमा छलफल जारी रहेको र छलफलपछि अन्तिम निर्णय लिइने बताइएको छ ।

यसअघि विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब नियमित महाधिवेशन आयोजना गर्न लागेको हो ।

काठमाडौं । मंगलबार शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ दशमलव ८३ अंकले बढ्दै २ हजार ९६० दशमलव ४ बिन्दुमा पुगेको हो ।

आज ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम केही घटेको हो, सो दिन १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

कारोबार भएका ३४२ धितोपत्रमध्ये १३६ कम्पनीको शयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उपसूचकतर्फ अधिकांश समूह हरियो देखिएका छन् । व्यापार समूह ९ दशमलव १२ प्रतिशतले सबैभन्दा धेरै बढ्दा विकास बैंक विकास बैंक १ दशमलव ३८, हाइड्रोपावर १ दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, बैंकिङ शून्य दशमलव ६७, फाइनान्स शून्य दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव २५ र लगानी समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८, जीवन बीमा शून्य दशमलव ३७, होटेल तथा पर्यटन शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, सोलु हाइड्रोपावर र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै हिमालयन पावर पार्टनर ९ दशमलव ९८ र भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन फस्ट माइक्रो फाइनान्स लघुवित्त ६ दशमलव ५६, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ५ दशमलव ११, मेरो माइक्रोफाइनान्स ४ दशमलव ५३ र नारायणी डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य ३ दशमलव ८१ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । सरकारले गत भदौ २३–२४ मा भएको जेनजी युवाहरूको आन्दोलनको घटनाबारे बनाइएको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न तयारी गरेको छ । प्रतिवेदन लामो समय गोप्य राखिएको भन्दै सर्वत्र प्रश्न उठिरहेका बेला सरकार यसलाई सार्वजनिक गर्न लागेको हो ।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफलमा छन् । यही छलफलले प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने मिति तय गर्नेछ ।

सरकारका एक उच्च अधिकारीका अनुसार प्रतिवेदन ‘आज–भोलि’ सार्वजनिक हुनसक्ने सम्भावना छ । तर प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रतिवेदन सार्वजनिक हुनेबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

गत फागुन २४ गते गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले सो प्रतिवेदनले विगतका मल्लिक र रायमाझी आयोगको नियति दोहोर्याउने नहुने बताएका थिए ।

चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग भनेका थिए, “प्रतिवेदन भोलि आउँछ,” तर अहिलेसम्म सार्वजनिक भएको छैन ।

जेनजी आन्दोलनका अगुवा र जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न सरकारमा लगातार दबाब दिँदै आएका छन् । युवाहरूले दिनहुँ माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् । चैत ८ गते नेपाली कांग्रेस केन्द्रीय समितिले पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

अन्तरिम सरकारले चुनावको जिम्मेवारी पूरा गरेपछि नयाँ सरकार गठन अघि नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिवेदनमा के छ ?
कार्की आयोगले अनुसन्धानको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । उनीहरूमाथि १०–१० वर्षको कैद सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीका आईजी राजु अर्याललाई तीन वर्षको कैद सिफारिस गरिएको छ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र नेपाल प्रहरीका सिद्धिविक्रम शाहीमाथि पनि कारबाही सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही पदाधिकारीहरूलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

उच्च अधिकारीहरूका अनुसार आयोग गठन नै विवादास्पद रहँदा यसको सिफारिस पनि पूर्ण दोषमुक्त हुन सक्दैन । तर प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक कदम हुने विश्वास व्यक्त गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छुट्टै छानबिन समितिले पनि तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, प्रधानसेनापति अशोकराज सिग्देल लगायतका राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीलाई कारबाही सिफारिससहित प्रतिवेदन तयार पारेको छ । अनलाइनखबरबाट सम्पादित

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसइचोकमा ६० वर्षीया रेनु पटवाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक १५ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका किशोर मृतककै छिमेकी रहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि धारिलो हतियार (कैची) प्रहार गरी हत्या गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा किशोरले लागुऔषध किन्न पैसाको अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका क्रममा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटना लगत्तै फरार रहेका उनलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो ।

हाल जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।