
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । नेप्से सूचक ७१ दशमलव ०५ अंकले घट्दै २ हजार ८७९ दशमलव ११ विन्दुमा झरेको हो ।
यसदिन ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कारोबार रकम बढेको देखिन्छ, जहाँ १३ अर्ब १६ करोड २२ लाख रुपैयाँको कारोबार भएको थियो ।
बजारमा आज जम्मा ३३३ धितोपत्र कारोबारमा आएका थिए । तीमध्ये १० कम्पनीको शेयर मूल्य बढ्दा २५५ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रुपमा हेर्दा आइतबार सबै उपसूचकहरू ओरालो लागेका छन् । यसदिन फाइनान्स सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले घटेको छ ।
यस्तै लगानी २ दशमलव ९८, विकास बैंक २ दशमलव ८६, बैंकिङ २ दशमलव ७८, अन्य २ दशमलव ५२, व्यापार २ दशमलव ४८, होटेल तथा पर्यटन र निर्जीवन बीमा समान २ दशमलव २३, हाइड्रोपावर २ दशमलव २१, माइक्रोफाइनान्स २ दशमलव ११, जीवन बीमा २ दशमलव २, उत्पादन तथा प्रशोधन १ दशमलव ०७ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर रसूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् । यस्तै भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन यूनिक नेपाल लघुवित्त ६ दशमलव १७, हिमाल दोलखा हाइड्रोपावर ५ दशमलव ४५, अभियान लघुवित्त र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ५ दशमलव ३७ प्रतिशतले ह्रास आएको छ ।
काठमाडौं । अमेरिकाले हजारौँ सैनिकलाई पश्चिम एसिया क्षेत्रमा तैनाथ गरेको छ । शनिबार यी सैनिक क्षेत्रको तनाव उच्च भइरहेका समयमा पुगेका हुन्, जसले क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील बनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार यूएसएस ट्रिपोली युद्धपोत पश्चिम एसियामा आइपुगेको छ । यो जहाज करिब ३ हजार ५०० नाविक र मरीन सैनिकको एकाइको नेतृत्व गर्दैछ ।
सैनिक एकाइसँगै ढुवानी तथा आक्रमणमा प्रयोग हुने लडाकु विमानहरू पनि परिचालित छन्, जसले अमेरिकाको सम्भावित सैन्य कारबाहीको तयारी तीव्र भएको संकेत दिएको छ ।
यसअघि द वासिङ्टन पोष्टले रिपोर्ट अनुसार पेन्टागनले इरानमा हप्तौँसम्म चल्ने सैन्य अभियानको योजना तयार पारिरहेको छ । तर, यी योजनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिने कि नदिने भन्ने कुरा अझै स्पष्ट छैन ।
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । यो कदम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा उठाइएको हो ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस विषयमा अनुसन्धान अघि बढाएको छ । सोही क्रममा, पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ । अधिकारीले भने, ‘उहाँहरूको सम्पत्तिबारे अनुसन्धान गर्न आज बिहान खड्कालाई हिरासतमा लिइएको हो ।’
खड्कामाथि अनुसन्धान सुरु गर्न सम्पत्ति शुद्धीकरण विभागले सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्ने उद्देश्यले आइतबार अदालतबाट म्याद लिन लागेको छ ।
प्रहरीले पूर्वप्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोतबारे व्यापक रूपमा अनुसन्धान गर्ने तयारी गरेको छ ।
भदौ २४ मा भएको प्रदर्शन र आगजनी घटनामा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । सोही क्रममा पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम फेला परेको थियो ।
अनुसन्धानको क्रममा स्थानीय प्रशासनले शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर भत्काउन रोक लगाएको छ । त्यहाँ नयाँ संरचना निर्माण गर्न खोजिँदै थियो, तर जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएको छ । प्रहरीले त्यहाँ कार्यरत कामदारहरू हटाइसकेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भदौ २४ को घटनामा जलेको डलर र नेपाली रुपैयाँ सङ्कलन गरी सुरक्षित राखेको थियो । यसलाई अनुसन्धानको एक महत्वपूर्ण प्रमाणको रूपमा प्रयोग गरिने छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज मा राखिएका छन् । चिकित्सकका अनुसार उनको मुटुको चाल अनियमित भएको कारण तत्कालै अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, अदालतले ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । स्रोतका अनुसार, अदालत उपस्थित गराउन प्रयास भए पनि उनका चिकित्सकहरूले उपचार प्राथमिकतामा भएकाले अनुमति दिएका छैनन् ।
यस मुद्दामा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा प्रत्यक्ष उपस्थित गराइसकिएको छ ।
ओली र लेखक दुवैलाई ज्यानसम्बन्धी मुद्दामा आरोप लगाइएको छ । यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ ।
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि दर्ता गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनविरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतमा पेसीमा छ ।
अदालत स्रोतका अनुसार मुद्दा ‘हेर्दाहेर्दै’ लामो समय लम्बिँदै आएको छ । दुवै पक्षका बयान सकिसक्दा पनि मुद्दा अझै टुंगो लाग्न बाँकी छ । त्यसैले आज सर्वोच्च अदालतले कुनै न कुनै निर्णय सुनाउने सम्भावना रहेको बताइएको छ ।
यो मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा विचाराधीन छ ।
अभियोजन संशोधन प्रचलित कानून विपरीत भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेल लगायतले रिट दायर गरेका थिए ।
काठमाडौं । बजारमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको रकम तान्ने तयारी गरेको छ ।
केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको जनाएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुने बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणांकमा बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । यस प्रक्रियामा निर्धारण हुने ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तय गरिनेछ ।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज भुक्तानी वैशाख ६ गते गरिनेछ ।
यस बोलकबोल प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन् । साथै, बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज उल्लेखनीय रूपमा बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४७ सय २० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४६ सय ७० रुपैयाँ कायम रहेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप प्रक्रियाका लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।
प्रहरीले उनलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निजी निवासबाट नियन्त्रणमा लिएको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा गरिएको सिफारिसका आधारमा पक्राउ गरिएको जनाइएको छ।
पक्राउपछि लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो। सरकारी वकिल कार्यालयमा प्रारम्भिक बयान लिइएपछि उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी गरिएको छ।
उनीमाथि भदौ २३ गते भएको घटनासँग सम्बन्धित मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
यसैबीच, सोही दिन नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिने भएको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत सञ्चालन भइरहेको सातौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार उक्त सिफारिसअनुसार अधिवेशन आज मध्यरातबाट औपचारिक रूपमा समाप्त हुने छ।
काठमाडौं । नेपाल सरकारले प्राथमिक तहका विद्यार्थीहरूको मूल्याङ्कन प्रणालीमा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि सञ्चालन हुँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा खारेज गरिने भएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत यस्तो व्यवस्था अघि सारिएको हो।
सरकारको यो निर्णयपछि अब साना कक्षाका विद्यार्थीहरूले परम्परागत लिखित परीक्षाको दबाब झेल्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
सरकारका अनुसार बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तनाव, डर तथा दबाबलाई कम गर्दै उनीहरूको स्वाभाविक सिकाइ क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको हो।
कार्यसूचीको बुँदा नम्बर ८९ मा कक्षा ५ सम्म आन्तरिक परीक्षा हटाइने उल्लेख गर्दै त्यसको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर नपर्ने वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गरिने जनाइएको छ।





