२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

काठमाडौं । आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । यस वर्षको परीक्षा थप व्यवस्थित, पारदर्शी र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ देशभर एकै समयमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निर्धारित सबै परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु भएको छ ।

यस वर्षको एसइईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन् । सहभागीमध्ये छात्राको सङ्ख्या बढी छ-२ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । विदेशस्थित जापानको एक केन्द्रबाट पनि २३ जनाले परीक्षा दिइरहेका छन् ।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन् । परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ ।

यसपटक उत्तरपुस्तिका परीक्षणलाई छिटो बनाउन विशेष व्यवस्था गरिएको छ । परीक्षा सकिएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परीक्षणपछि मार्कस्लिप तयार गरी सुरक्षित रूपमा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाअनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रमै बसेर गर्नुपर्नेछ । सिसिटिभी जडान भएका सुरक्षित कक्षमा मात्र परीक्षण गराइनेछ भने उत्तरपुस्तिका बाहिर लैजान नपाइने व्यवस्था गरिएको छ । साथै, तोकिएका परीक्षकबाहेक अन्य व्यक्तिले परीक्षण गर्न नपाउने, योग्यता नपुगेका शिक्षकलाई जिम्मेवारी नदिने र परीक्षणका क्रममा मोबाइललगायत उपकरण प्रयोग गर्न निषेध गरिएको छ ।

परीक्षणमा लापरबाही पाइएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कटौती गर्ने वा परीक्षक सूचीबाट हटाउनेसम्मका कारबाही गरिने उल्लेख गरिएको छ ।

यस वर्ष परीक्षा अनुगमनमा पनि परिवर्तन गरिएको छ । परीक्षा केन्द्रभित्र सामूहिक अनुगमनमा रोक लगाइएको छ । विद्यार्थीको लेखन कार्यमा बाधा पुगेको गुनासोपछि यस्तो निर्णय गरिएको हो । अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । निर्धारित तालिकाअनुसार आगामी चैत २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय गिरावट देखिएको छ । यस दिन नेप्से ७४ दशमलव ७३ अंकले घट्दै २ हजार ७७६ दशमलव ३६ बिन्दुमा सीमित भएको हो ।

यद्यपि बजार घटे पनि कारोबार रकममा भने बढेको छ । आज ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम बढेको हो, जहाँ ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ३४७ धितोपत्र कारोबारमा आउँदा १३ वटाको मूल्य बढेको छ भने २५५ वटाको घटेको छ ।

बजारका सबै उपसूचकहरू घटेका छन् । यसदिन अन्य समूह सर्वाधिक ५ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

आज विकास बैंक ३ दशमलव ३१, फाइनान्स ३ दशमलव ०३, हाइड्रोपावर २ दशमलव ८१, लगानी २ दशमलव ६७, बैंकिङ २ दशमलव ३१, निर्जीवन बीमा २ दशमलव २२, होटेल तथा पर्यटन २ दशमलव १२, जीवन बीमा २ दशमलव ०२, माइक्रोफाइनान्स १ दशमलव ९९, म्युचुअल फण्ड ९७ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन नेपाल रिइन्सुरेन्स ९ दशमलव ८४, सप्तकोशी डेभलपमेन्ट बैंक ७ दशमलव २८, नेशनल हाइड्रो पावर ७ दशमलव १७, शिव श्री हाइड्रोपावर ७ र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य ६ दशमलव ४१ प्रतिशतले ह्रास आएको छ ।

काठमाडौं । बैंकहरूमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको तरलता निक्षेप संकलनमार्फत खिच्ने निर्णय गरेको छ। यो निक्षेप संकलन ३९ दिनको अवधिका लागि बोलकबोल प्रक्रिया मार्फत हुनेछ।

राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल सञ्चालन हुने जानकारी दिएको छ। यसमा भाग लिन चाहने बैंक र वित्तीय संस्थाले १० करोड रुपैयाँभन्दा कम नभई र ५ करोड रुपैयाँभन्दा बढीमा भाग लगाएर कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

बोलकबोलमार्फत निक्षेप संकलनको ब्याजदर तय हुनेछ भने मूलधन र ब्याज भुक्तानी वैशाख २ गते हुनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्। बहुब्याजदरमा बोलकबोल गर्न पनि अनुमति दिइएको छ।

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि मल्ल स्वतः कामु प्रधानन्यायाधीश बनेकी हुन् । नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले उक्त जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

मल्ल २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । करिब एक दशकको कार्यकालमा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दाहरूमा महत्वपूर्ण नजिर स्थापित गरेकी छन् ।

यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य ठहरिएका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । उक्त सूचीमा सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।

संविधानअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भइसकेको र ६५ वर्ष ननाघेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य मानिन्छ । तर, प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषद पूर्णरूपमा सक्रिय हुन नसक्दा नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

संघीय संसदको आगामी अधिवेशनपछि मात्रै सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलका नेता चयन भई परिषदले पूर्णता पाउने अपेक्षा गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि मात्र नयाँ प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ, जसमा कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।

सपना प्रधान मल्लको पृष्ठभूमि
सपना प्रधान मल्लले त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक, दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा उच्च अध्ययन गरेकी छन् ।

उनी विगतदेखि नै कानून, मानवअधिकार तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध रहँदै आएकी छन् । संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यका रूपमा काम गरेकी मल्ल २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य पनि थिइन् ।

२०४५ सालदेखि कानून व्यवसायमा सक्रिय उनी पछि नेपाल ल क्याम्पसमा अध्यापनमा पनि संलग्न रहिन् । २०६९ सालमा बरिष्ठ अधिवक्ताको उपाधि पाएकी मल्लले सर्वोच्च अदालतका विभिन्न समितिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् ।

यदि उनी प्रधानन्यायाधीश नियुक्त भएमा २०८५ साल कार्तिक ३० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछिन् ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा बढेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी ४ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने निर्णय गरेको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार यस्तो व्यवस्था गरिएको हो ।

शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि परीक्षा केन्द्रमै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका जाँच गरिने बोर्डले जनाएको छ । आवश्यक परेमा शिक्षक अभाव वा असुरक्षाको अवस्थामा परीक्षण केन्द्र सार्न सकिने व्यवस्था पनि गरिएको छ ।

यसअघि उत्तरपुस्तिका अन्य प्रदेशमा पठाएर गोप्य रूपमा परीक्षण गरिन्थ्यो भने यसपटक स्थानीय स्तरमै जाँच गरिनेछ ।

यसैबीच, एसईई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ। देशभर १,९६६ परीक्षा केन्द्र तोकिएका छन् । करिब ५ लाख १२ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले २०८३ साल वैशाख २ गतेदेखि आईपीओ खुला गर्ने जनाएको हो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई वितरण गरिसकेको छ । साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिएको छ ।

अब दोस्रो चरणमा बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । यसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुनेछ, जसको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ६ गतेसम्म तोकिएको छ ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेका बेला नेपाल आयल निगमले उपभोक्तालाई तत्काल राहत दिने उद्देश्यले पेट्रोल र डिजेलको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भारतीय आयल कर्पोरेसन ले पठाएको पछिल्लो दरअनुसार इन्धनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्वाभाविक रूपमा बढेपछि नेपालका लागि पठाइएको नयाँ दरमा ठूलो अन्तर परेको जनाइएको छ । नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म वृद्धि भएर आएको छ, जुन हालसम्मकै उच्च वृद्धिमध्ये एक मानिएको छ ।

विशेषगरी डिजेलमा देखिएको ९४ रुपैयाँको उछालले नेपाल आयल निगम माथि थप आर्थिक दबाब सिर्जना गरेको छ । यति ठूलो दरमा मूल्य बढेर आए पनि नेपाली बजारमा भने तत्कालका लागि पुरानै मूल्य कायम राखिएको छ ।

निगमले उपभोक्तालाई प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्यले मूल्य स्थिरीकरण कोष र सञ्चित नाफा प्रयोग गर्ने निर्णय गरेको जनाएको छ ।

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजात र बयान लिइसकेपछि उनलाई खोजेको बेला उपस्थित हुने सर्तमा छाडिएको हो। रिजाललाई उनका भतिजको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ।

उनी मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले रिजालविरुद्ध कारबाही सिफारिस गरेको थियो।

आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सुझाएको थियो। उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।

यसअघि मन्त्रिपरिषद्को बैठकले सुरक्षा निकाय बाहेक अन्य व्यक्तिमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।

घटनाक्रमकै बीच मंगलबार रिजाललाई पक्राउ गरिएको भए पनि केही समयपछि नै उनलाई जिम्मा जमानीमा छाडिएको हो। प्रहरीले मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित विषयमा थप बुझेर आगामी प्रक्रिया अघि बढाइने जनाएको छ।

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण प्रणालीमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अब श्रमिकहरूले स्वास्थ्य परीक्षणका लागि निजी क्षेत्रका सीमित संस्थामा मात्र निर्भर रहनुपर्ने अवस्था हट्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब वैदेशिक रोजगारीमा जाने व्यक्तिले सरकारी स्वामित्व वा नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । यसले सेवा पहुँचलाई थप सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

यसअघि भने केही निजी संस्थाहरूले मात्र यस्तो सेवा उपलब्ध गराउँदै आएका थिए, जसका कारण लामो समयदेखि ‘सिन्डिकेट’ कायम रहेको भन्दै आलोचना हुँदै आएको थियो । सरोकारवालाहरूले यस्तो व्यवस्थाको अन्त्य गर्न माग गर्दै आएका थिए ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली, २०६४ अनुसार विदेश जानुअघि श्रमिकले स्वीकृत स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान रहेको उल्लेख गरिएको छ ।

यस्तै, स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सूचीकरण प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।

660087636_2175958033202740_3695780706015527679_n-1774946066.jpg

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।