
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य यथावत् रहँदा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत २० गते सुनको मूल्यमा स्थिर छ । जिहोकै मूल्यमा आज पनि प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुन किनबेच भएको थियो ।
यसैबीच, चाँदीको मूल्य भने आज केही बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ८ सय २० रुपैयाँ पुगेको छ । हिजो चाँदी ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभामा व्यक्त गरेको धारणा पार्टीभित्र विवादको विषय बनेको छ । उनको अभिव्यक्तिलाई लिएर शीर्ष तहका नेताहरूले नै असहमति जनाएपछि एमालेभित्र राजनीतिक तरंग पैदा भएको हो ।
पार्टीका नेताहरूले थापाको भनाइ एमालेको स्थापित नीति, सिद्धान्त तथा ‘जनताको बहुदलीय जनवाद’को मर्मसँग मेल नखाने टिप्पणी गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा विपरीत रहेको उल्लेख गरे । उनले यस विषयमा केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने बताए ।
यस्तै, उपमहासचिव योगेश भट्टराईले पनि पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को व्याख्या गर्दै थापाको विचारप्रति असहमति जनाए । उनले एमाले प्रतिस्पर्धाबाट अघि बढ्ने, शान्तिपूर्ण र वैधानिक माध्यमबाट समाज रूपान्तरण गर्ने तथा जनमतको सम्मान गर्ने पार्टी भएको स्पष्ट पारे ।
भट्टराईका अनुसार जनमतको कदर गर्दै पराजयको समीक्षा गरी पुनः जनविश्वास जित्ने प्रक्रिया नै जबजको मूल मर्म हो । उनले राज्यका प्रमुख अंगहरू—सेना, प्रहरी, न्यायालय तथा कर्मचारीतन्त्रप्रति एमालेको सधैँ सम्मान रहने पनि बताए ।
यसअघि थापाले आफ्नो सम्बोधनमा विभिन्न संस्थाहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेका थिए ।
यसैबीच, विवादित अभिव्यक्तिपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरेको छ । उपाध्यक्ष गोकर्ण विष्टका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ । नेताहरूका अनुसार थापाको उक्त अभिव्यक्तिबारे यसअघि पार्टीभित्र औपचारिक छलफल भएको थिएन ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।
निगम सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेका कारण मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
नयाँ दर अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
निगमले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा आफूले ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरेको छ । निगमका अनुसार हाल पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ बराबरको घाटा भइरहेको छ ।
काठमाडौं । सन् २०२६ को मार्चमा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एशियाली सार्क क्षेत्रबाट ४२ हजार ६६८ पर्यटक आएका छन्, जसले कुल आगमनको करिब ३५.४ प्रतिशत प्रतिनिधित्व गर्छ । यसमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८, श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटक नेपाल आएका छन् ।
अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उच्च देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २०, थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि उल्लेखनीय आगमन भएको छ । यस क्षेत्रबाट कुल ३३ हजार ४३६ पर्यटक नेपाल प्रवेश गरेका थिए ।
तर युरोप र अमेरिका जस्ता विकसित मुलुकबाट आउने पर्यटकको संख्या घटेको छ । मार्च २०२६ मा युरोपबाट २० हजार ८ सय ७६ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशत कम हो । बेलायत, फ्रान्स र जर्मनीबाट पर्यटकको संख्या विशेष गरी घटेको छ । अमेरिकाबाट आउने पर्यटकको संख्या पनि समीक्षा अवधिमा उल्लेखनीय रूपमा घटेको देखिन्छ ।
पर्यटन बोर्डका अनुसार मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट आगमनमा असर गरेको छ । यद्यपि युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उनीहरुको उच्च खर्चले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन्छ ।
सन् २०२५ को मार्चमा नेपालमा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनु अघि सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएका थिए ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारद्वारा निजी सञ्चार माध्यममा गरिने सूचना प्रकाशन–प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
यस सम्बन्धमा मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री कार्यालय तथा देशभरका स्थानीय तहहरूलाई बुधबार पत्राचार गरेर निर्णयको जानकारी दिइएको छ ।
पत्रमा उल्लेख भएअनुसार मितव्ययिता सुनिश्चित गर्न, विज्ञापन तथा सूचना प्रकाशन÷प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवद्र्धन गर्न यो कदम चालिएको हो ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर आज चार हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यसअघि चाँदी चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा यस्तो परिवर्तन देखिएको हो।
काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई संसद भवन प्रवेश तथा बैठकमा सहभागी हुन कुनै प्रकारको अवरोध नरहेको स्पष्ट पारेको छ ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सरकारी वकिलको कार्यालयबाट हालसम्म कुनै औपचारिक पत्र प्राप्त नभएकाले लामिछानेमाथि संसदीय गतिविधिमा सहभागी हुन रोक लगाउने अवस्था नरहेको हो ।
रवि लामिछाने चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यद्यपि, उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
यसअघि पनि यस्तै प्रकृतिको मुद्दा दर्ता भएपछि तत्कालीन सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका थिए । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार कुनै व्यक्ति थुनामा रहेको अवस्थामा वा मुद्दा विचाराधीन रहँदासम्म स्वतः निलम्बन हुने व्यवस्था उल्लेख छ ।
लामिछानेविरुद्ध सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ३० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ, जसमा करिब २७ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणतर्फको माग रहेको छ ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले मुद्दा दर्ता भएको जानकारी संसद सचिवालयलाई पठाएको थियो ।
संसद सचिवालयका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त बैठकमा रवि लामिछानेले पनि सम्बोधन गर्ने सम्भावना रहेको बताइएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय छलफल आह्वान गरेका छन् । यसका लागि बिहीबार अर्थ मन्त्रालयमा विशेष बैठक आयोजना गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बिहान ११ बजे सुरु हुने उक्त बैठक करिब एक घण्टा चल्ने तय गरिएको छ ।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन् । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि बैठकमा उपस्थित रहनेछन् । राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको समेत सहभागिता रहने बताइएको छ ।
बैठकमा विशेषगरी राजश्व छली तथा चोरी पैठारी नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने छ । साथै अर्थमन्त्री वाग्लेले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।
काठमाडौं । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोसी र सुदूरपश्चिमसहित अधिकांश प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ ।
बिहीबार (चैत्र १९) दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । विशेषगरी कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान छ । यसैगरी पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका केही हिमाली क्षेत्रमा भने राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको नयाँ संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति व्यवस्थापन पूरा भइसकेको छ । राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ ।
संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । त्यसैगरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको उपस्थिति रहनेछ ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनेछन् ।
त्यसपछि प्रतिनिधिसभाले आफ्नो नियमावली तयार नगरेसम्मका लागि विद्यमान नियमावली २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ । साथै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्ने तयारी छ ।
अधिवेशनको प्रारम्भिक बैठकमा विभिन्न दलका सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ । यसैबीच, सभामुख चयनका लागि मिति तय गरिनेछ ।
बैठकको अन्त्यमा संविधानसभा तथा राष्ट्रियसभाका पूर्व सदस्यहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।





