
काठमाडौं । सरकारको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरेको छ ।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, अवैध रूपमा सञ्चालन भइरहेका सट्टेबाजी एप र वेबसाइट पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । ‘पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैको छानबिन गरी कारबाही अघि बढाइएको छ,’ उनले भने ।
यो कदम मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकमा स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार गरिएको हो । उक्त बुँदामा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा रकम जफत, एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
साथै, विज्ञापन ऐन, २०६६ ले अनुमति नलिएका सट्टेबाजी वा जुवा प्रचार गर्ने विज्ञापन गर्न निषेध गरेको छ । नियम उल्लङ्घन गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।
सरकारले नागरिकहरूलाई सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न पुनः आग्रह गर्दै, शङ्कास्पद एप वा वेबसाइट भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन चेतावनी दिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार (चैत २२) बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्यालको निर्विरोध चुनाव घोषणा गरेका हुन्।
बैठक अघि, रास्वपाका सभापति रवि लामिछाने ले अर्याललाई सभामुख पदमा चयन गर्न प्रस्ताव गरेका थिए। यस प्रस्तावलाई स्वर्णिम वाग्ले र सोविता गौमतले समर्थन गरेका थिए।
निर्वाचन घोषणा पश्चात, अर्यालको शपथ ग्रहण आज दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिनेछ। शपथ ग्रहण पछि उनी कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदका लागि प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको हालै सम्पन्न बैठकमा लामिछानेले अर्याललाई सभामुख पदका उम्मेदवारको रूपमा प्रस्तुत गरे । यस क्रममा उनले आफ्नो उम्मेदवारलाई सर्वसम्मत रूपमा चयन गर्न अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानप्रति धन्यवादसमेत व्यक्त गरे ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत् कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (चैत २२) सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै निर्धारण गरिएको छ । यसअघि चैत २० मा पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ४ हजार ८३० रुपैयाँमै स्थिर रहेको छ । अघिल्लो कारोबार दिनमा समेत चाँदी यही मूल्यमा किनबेच भएको थियो ।
काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियागिरी तथा सार्वजनिक अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियान अन्तर्गत चार दिनमा २ सय २६ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार चैत १८ देखि २१ गतेसम्म देशका विभिन्न स्थानमा गरिएको खोजी तथा नियन्त्रण अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको हो ।
प्रहरी प्रधान कार्यालयका तथ्यांकअनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए । त्यसैगरी १९ गते कोशी प्रदेशबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका छन् ।
यस्तै चैत २० गते मधेस प्रदेशबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ जना पक्राउ परेका छन् भने २१ गते काठमाडौँ उपत्यकाबाट मात्र ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुण्डागर्दी, बिचौलियागिरी, सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू समावेश छन् । यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू पेस गरिनेछन् ।
बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव अघि सार्नेछन् ।
बैठकको सुरुवातमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयहरूमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन् ।
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने समयावधि बढाएको छ । अब इच्छुक आवेदकहरूले २०८३ साल बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले चैत ८ गतेदेखि आवेदन खुला गरेको थियो ।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । त्यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
यस आईपीओमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
दोस्रो चरणअन्तर्गत कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । कुल निष्काशनमध्ये ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गरिएको छ, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा चैत २५ गते तोकिएको छ भने पूर्ण माग नपरेमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
काठमाडौं । हास्य कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उनीमाथि बलात्कारको गम्भीर आरोप लागेको छ । अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार मात्र लम्सालविरुद्ध अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।
उक्त आरोपका आधारमा थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेटको तयारीस्वरूप गठन गरिएको उक्त समितिको संयोजकका रूपमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तर खत्रीलाई जिम्मेवारी दिइएको छो ।
समितिले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्ने, आयोजना तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारणमा सहजीकरण गर्ने तथा संसदमा प्रस्तुत गरिने विनियोजन विधेयकको तयारी गर्नेछ । साथै, सम्पूर्ण बजेट मस्यौदा तयार गरी पेश गर्ने दायित्व पनि यही समितिले वहन गर्नेछ ।
समितिमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न महाशाखाका प्रमुखहरू सदस्यका रूपमा सहभागी छन् । सदस्यहरूमा सहसचिवहरू सुमन दाहाल, धानिराम शर्मा, महेश भट्टाराई र शिवनन्द पोखरेल रहेका छन् ।
उता, राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरिसकेको छ, जसका आधारमा बजेट निर्माण प्रक्रिया अघि बढाइनेछ ।





